
भक्तपुर : मध्यपुर थिमी नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाउने संस्कृतिलाई निरन्तरता दिने भएका छन्।
भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो छेडेर महादीप बोकेर पशुपतिनाथसम्म पुगेर फर्किने परम्परा छ। यो वर्ष भाद्र शुक्ल पूर्णिमा भदौ २२ गते परेको छ।
केही वर्ष सञ्चालन हुँदै र रोकिँदै आएको जिब्रो छेड्ने जात्रा २०६३ सालदेखि रोकिएर ११ वर्षपछि २०७४ सालमा वीरेद्रभक्तकै अगुवाइमा शुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा जिब्रो छेडेका थिए।
यसबीचमा २०७५ सालमा बालकराम श्रेष्ठले जिब्रो छेडाएका थिए।यसअघि मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएको बताइन्छ।
जात्रामा रु पाँच लाख बढीको खर्च हुने र नगरपालिकाले सहयोग गरेकोभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्तिले खर्च गर्नुपर्ने जात्रा संरक्षण समिति संयोजक अर्जुन श्रेष्ठले बताए।
भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पुशपतिसम्म यात्रा गर्दै अन्तिममा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा छ।
जात्रा मनाएपछि नगर रोग, अनिकाल र प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ।





























