जोडिनुहोस
  • होमपेज
  • पानीपुरी र चटपटे बेच्नेको अनुगमन गर्दै महानगर

स्वास्थ्य/जीवनशैली

पानीपुरी र चटपटे बेच्नेको अनुगमन गर्दै महानगर

पानीपुरी र चटपटे बेच्नेको अनुगमन गर्दै महानगर

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गरने भएको छ।

बर्खाको समयमा सहजरूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो।

त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ।

कामपाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषिप्रसाद भुसालले खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी दिए। वर्षायामभरि पानीपुरी तथा चटपटे बिक्री वितरणको नियमनका साथै पिउने पानीको गुणस्तर परीक्षणलाई तीव्रता दिने उनले बताए ।

हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न ‘प्लास्टिक र्‍याप स्टिकर’ र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीमा कामपा रहेको भुसालले जनाए।

उनका अनुसार खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिने छ । त्यस्तै खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्यलाई निरुत्साहित गर्ने तयारी पनि कामपाले गरिरहेको उनले बताए । विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम, ३२ वटै वडामा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेका कामपाको स्वास्थ्य विभागले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका