
नुवाकोट। स्थानीय तहका कार्यालयहरूमा सर्भर नचल्दा सेवा प्रवाहमा समस्या देखिएको छ। सर्भर अवरुद्ध हुँदा सेवाग्राहीहरू घण्टौँ लाइन बस्न बाध्य भएका छन्।
हाल वडा कार्यालयहरूमा सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलनलगायतका कार्यहरू भइ रहेका छन्। तर सर्भर अवरुद्ध हुँदा सेवा लिने नागरिक र सेवा दिने कर्मचारी दुवै हैरान छन्।
बेलकोटगढी नगरपालिका–१३ का वडाध्यक्ष नमराज पाण्डेका अनुसार सर्भरले नियमित काम गर्न नसक्दा सेवामा ठूलो असर परेको छ। “केही दिनअघि सर्भर राम्रैसँग चलिरहेको थियो, तर अहिले फेरि समस्या सुरु भएको छ,” उहाँले भन्नुभयो, “दुई–चार मिनेटमा सकिने कामका लागि सेवाग्राहीलाई घण्टौँ कुर्नुपरेको अवस्था छ।”
वडास्तरमा सर्भरमार्फत हुने कामको चाप बढिरहेको अवस्थामा प्राविधिक अवरोध समाधान नगरे स्थानीय सेवा प्रणालीमा थप असुविधा बढ्न सक्ने देखिन्छ।




































