
काठमाडौं । वैदिक सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् ।
धार्मिक अभियानकर्मी स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबा (कालीबाबा)ले असार ३ गतेको निर्णयअनुसार डा थापालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्वानन्द सोनोवालको उपस्थितिमा अध्यक्ष नियुक्त हुनुभएका डा थापाले कार्यभार ग्रहण गरेका छन् । उनले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास एवं समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पार े ।
उनले भने “कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो । यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसारमा अघि बढाइने छ ।”
धार्मिक पर्यटनमा भारतले सहयोग गर्ने
पशुपतिनाथ मन्दिर परिसरस्थित हंसमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान् पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि आएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्ने प्रष्ट पारे । उनले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिए । धार्मिक अभियन्ता कालीबाबाको निमन्त्रणामा काठमाडौँ आउनुभएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पूजाआराधना गरेका थिए ।
मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो । यसअघि, डा थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो । मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी भएका थिए ।
धार्मिक अभियानकर्मी कालीबाबाले भने , “नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र जनकल्याण होस् भन्ने हाम्रो पवित्र कामना हो । नेपाल र भारतका शीर्ष राजनीतिक नेतृत्वबीचको सम्बन्ध अझै प्रगाढ हुँदा दुवै देशलाई लाभ हुन्छ ।”





































