
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानका निर्देशक सिद्धान्तअनुसार भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीविहीन सेवा प्रवाह सुनिश्चित गर्न राज्यका सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिए।
उनका अनुसार स्वच्छता, पारदर्शिता र सहज सेवा प्राप्ति नागरिकको मौलिक हक हो, र पदमा रहे पनि भ्रष्ट आचरण गर्ने व्यक्तिले समाजमा सम्मान पाउन सक्दैनन्।
संयुक्त राष्ट्रसंघको ‘कोही पनि पछि नपरून्’ भन्ने अवधारणा उद्धृत गर्दै प्रधानमन्त्री ओलीले प्रत्येक नागरिकको जैविक आवश्यकता पूरा गर्दै सुरक्षित र सम्मानजनक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
“नेपाललाई विकसित मुलुकमा रुपान्तरण गर्न दृढ सङ्कल्पसहित सुशासनमा दौडनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “असन्तुष्टि भड्काएर अराजकता मच्चाउने प्रयास भइरहेको छ, त्यसबाट बच्न नागरिकलाई ज्ञान र राम्रो कामप्रति सचेत गराउनुपर्छ।”
उनले प्राकृतिक रूपमा उर्वर भूमि र ज्ञानको उद्गमस्थल भएको नेपाल विकासमा पछि पर्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन सतर्कता केन्द्रले अग्रसर भूमिका खेल्ने विश्वास व्यक्त गरे।




































