
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्ने हेंवा खोलामा ७० मिटर लामो मोडुलर बेलिब्रिज जडान गरिएको छ । यो नेपालमै जडान भएको सबैभन्दा लामो बेलिब्रिज हो ।
सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहयोगमा पुल जडान गरेको हो । बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेको र आगामी हप्तादेखि यातायात सञ्चालन हुने कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिए ।
गत चैतदेखि सुरु गरिएको काम जेठ ३१ गते अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिँदा तीन जना कामदारको ज्यान गएको थियो । त्यसपछि भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गतेदेखि जडान सुरु गरी साउन २८ गते सम्पन्न गरेका हुन् ।
यसका लागि आवश्यक सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो । जडानका लागि भारतीय इन्जिनियर र प्राविधिकसहित १८ जनाको टोली खटिएको थियो ।
हेंवा खोलामा रहेको पुरानो सडक पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि असोज १२ गते अर्को बेलिब्रिज पनि बगाएपछि डाइभर्सनमार्फत आवतजावत हुँदै आएको थियो । वर्षायाममा पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने समस्या रहँदै आएको थियो ।
नयाँ बेलिब्रिज जडानपछि उत्तर क्षेत्रका स्थानीयवासीले तीन वर्षदेखि झेल्दै आएको सास्ती हट्ने आशा व्यक्त गरेका छन् । यससँगै सडक विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने प्रयोगात्मक तालिम सञ्चालन गरेको छ, जसमा ३२ जना प्राविधिकले सहभागिता जनाएका छन् ।





































