जोडिनुहोस
  • होमपेज
  • उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नभएका संस्था खारेज, समायोजन वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकले यसअघि बनेका विभिन्न आयोग र कार्यदलका प्रतिवेदनका आधारमा खारेज, गाभ्ने वा हस्तान्तरण गर्न सिफारिस भएका निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उद्देश्यअनुकूलको ठोस परिणाम ल्याउने विकल्पसहित १५ दिनभित्र प्रतिवेदनसहितको प्रस्ताव पेश गर्न कार्यान्वयन समितिलाई निर्देशन दिएका छन् । आयोगको कार्यान्वयन समितिको संयोजकत्व मुख्यसचिव एकनारायण अर्यालले गरेका छन् ।

सार्वजनिक सेवा सरल, पहुँचयोग्य, मितव्ययी र झन्झटरहित बनाउन गत वैशाख ८ गते मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगको पहिलो बैठक गत असार ४ गते बसेको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलगायत पदेन सदस्य छन् । यस्तै, राजनीतिक दलबाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा र विज्ञ सदस्य तीन जना थप भएपछिको यो पहिलो बैठक हो ।

बैठकमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिको सुझावअनुसार सङ्घ, प्रदेश र स्थानीय तहको कार्यविस्तृतीकरण परिमार्जनको प्रस्ताव राष्ट्रिय समन्वय परिषद्बाट स्वीकृत गरी मन्त्रिपरिषद्मा पेश गर्ने तयारीबारे पनि जानकारी गराइएको थियो ।

आयोगलाई सेवा प्रदायक निकायको भौतिक तथा मानवीय संरचना सुधार, प्रविधि सेवामैत्री बनाउन, निर्णय प्रक्रिया छरितो र नतिजामुखी बनाउन, ढिलासुस्ती तथा दोहोरोपन हटाउन, तहगत–निकायगत समन्वय सुनिश्चित गर्न लगायतका कार्यादेश दिइएको छ । यस्तै, तीनै तहका सरकारबीच सहकार्य र समन्वय सुदृढ गर्ने, संघीयता अनुकूल हुनेगरी प्रशासनिक संरचना तथा कानुनमा सुधार गर्ने, सुशासनसम्बन्धी ऐन संशोधन गर्ने र निजामती सेवा सक्षम तथा उत्तरदायी बनाउने जिम्मेवारीसमेत आयोगलाई दिइएको छ ।

धेरै टिप्पणी गरिएका