
म्याग्दी। मुस्ताङको कोरला नाकाबाट नेपाल–चीन व्यापार सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायिक अवसर बढेको व्यापारीहरूले बताएका छन्।
तातोपानी र रसुवा नाका बन्द भएपछि व्यापारीहरूले कोरला नाकाबाट सामग्री आयात–निर्यात गर्न थालेका हुन्। विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङबासीका लागि मात्र खुला भएको नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालनमा आएको हो।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कालीगण्डकी कोरिडोरमार्फत भारत, चीन र स्थानीय सामानको व्यापार बढ्दै गएको छ। हाल करिब ३०० कन्टेनर कोराला पुगेका र थप १,५०० कन्टेनर दसैँका सामान लिन नाकातर्फ जाँदै छन्।
भन्सार कार्यालयका अधिकृत रमेश खड्काले रसुवा र तातोपानी नाका बन्द भएपछि कन्टेनरहरू डाइभर्ट भएर कोरालामा आएको जानकारी दिनुभयो। भन्सार भवनमा पूर्वाधार, इन्टरनेट र विद्युत् जडान गरेर सेवा सुरु गरिएको छ। हालसम्म चीनबाट १५१ वटा विद्युतीय गाडी आयात भएका छन् भने नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा निकासी भएका छन्।
दसैँका लागि कपडाजन्य सामग्री बोकेका ५५ चिनियाँ कन्टेनर कोरालामा आइसकेका छन्। थप कन्टेनर आउने क्रम जारी छ। नाका सञ्चालनले उद्योगी–व्यवसायीलाई राहत पुगेको छ।





































