
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरण गर्ने तयारीको विरोध गरेका छन्। समाजवादी र माओवादीबीच पछिल्लो समय एकताको गृहकार्य भइरहेका बेला खनालले अहिलेको परिस्थितिमा कुनै पनि दलसँग एकीकरण गर्नु उचित नहुने बताएका हुन्।
पत्नीको उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका खनालले पार्टी सचिवालय बैठकमा पठाएको लिखित धारणा मार्फत भनेका छन्, “कमरेडहरू, अहिले हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने वा अरूलाई पार्ने दिशामा नलागौँ।”
खनालले सर्वप्रथम नेकपा (एमाले) बाट अलग भएर समाजवादी पार्टी गठन गर्नुको कारणबारे इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भनेका छन्, “सबैभन्दा पहिले हाम्रो चार वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौँ। ठिक–बेठिक के गर्यौँ, दूध र पानी छुटाऔँ। हामीले नवौँ राष्ट्रिय महाधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई स्मरण गरौँ।”
उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरू दक्षिणपन्थी सोच र शक्तिको पछाडि लागेको आरोपसमेत लगाएका छन्। खनालका अनुसार अहिलेका वामपन्थी दलहरूमा पुनर्गठन र रूपान्तरण अपरिहार्य भएको छ।





































