
काठमाडौँ। नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ।
‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको सिफारिसमा एनपीआईले दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान र इन्टरनेटमा आधारित आइ–भोटिङ गरी मिश्रित मतदान मोडेल अपनाउने प्रस्ताव गरेको छ।
एनपीआई अध्यक्ष डा खगेन्द्रराज ढकालले विदेशमा काम, अध्ययन वा अन्य प्रयोजनमा रहेका लाखौँ नेपालीलाई राष्ट्रिय निर्वाचनमा मतदानको अवसर दिन आवश्यक रहेको बताएका छन्। उनले आइ–भोटिङ प्रविधि बढी समावेशी र सुरक्षित हुने बताए।
सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाइएको छ। डा ढकालका अनुसार यसबाट विदेशस्थित मात्र नभई आन्तरिक रूपमा सरेका जनसङ्ख्यालाई पनि निर्वाचन प्रक्रियामा समावेश गर्न सकिनेछ।
नेपालको संविधान र सर्वोच्च अदालतले प्रत्येक नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरेको भए पनि विदेशस्थित नेपालीका लागि अहिलेसम्म पूर्ण व्यवस्था लागू भएको छैन। एनपीआईले कानुनी प्रावधान तयार गरी डिजिटल मतदाता दर्ता र आइ–भोटिङलाई वैध मान्यता दिन सुझाव दिएको छ।




































