
काठमाडौं । विश्वशान्ति र मानवकल्याणको कामना गर्दै राजधानीको डोल्पो समाज गुम्बामा भव्य शान्ति पूजाको आयोजना गरिएको छ ।
मंगलबारदेखि सुरु भएको सो शान्ति पूजामा माथिल्लो डोल्पाका ६७ जना रिम्पोछे गुरु, सयभन्दा बढी लामा गुरुहरू तथा विदेशी बौद्ध धर्मगुरु र अनुयायीहरूको सामूहिक सहभागिता रहेको छ ।

चार दिनसम्म चल्ने यो शान्ति पूजाको अवसरमा डोल्पा मार्गोम गुम्बाका प्रमुख रिम्पोछे स्वर्गीय क्याव्जे मार्गोम रिम्पोछेको सम्झनामा निर्मित स्तुपामा बौद्ध परम्पराअनुसार प्राण प्रतिष्ठा पनि गरिएको थियो ।
डोल्पो समाजका अध्यक्ष निमा रिम्पोछेले समग्र विश्वशान्ति, मानवकल्याण र देशमा स्थायी शान्तिका लागि पूजाको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार एकै ठाउँमा ६७ जना रिम्पोछे गुरु र सयभन्दा बढी लामा गुरुहरूको सहभागितामा शान्ति पूजा आयोजना गरिएको यो पहिलो अवसर हो ।






































