
जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले त्यसको प्रतिवाद गरेकी छन्। उनले सभामुखले पद रिक्त घोषणा गरेका ती पाँचै सांसदको कारबाही बदर भएको भन्दै छुट्टै सूचना जारी गरेकी हुन्।
सभामुख मण्डलले लगातार १० पटक सभा बैठकमा अनुपस्थित रहेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना बिहीबार सार्वजनिक गरेका थिए।
तर सोही दिन उपसभामुखले जारी गरेको सूचनामा कात्तिक २२ गतेको विश्वासको मत सम्बन्धी बैठकमा ती सबै सांसद उपस्थित रहेको हाजिरी र भिडियो रेकर्डबाट प्रमाणित भएको उल्लेख छ। उपसभामुखको सूचनामा “उक्त सांसदको पद रिक्त गर्ने सूचना बदर गरिएको” जनाइएको छ।
उपसभामुख राउतका अनुसार सभामुखको निर्णय प्रतिशोध र आवेगमा आधारित भएको आरोप समेत लगाइएको छ।



































