
काठमाडौँ ।हुलाकी सडक योजना कार्यालय जनकपुरले निर्माण गर्नुपर्ने ६१ मोटरेबल पुलमध्ये १८ वटा पुलको ठेक्का मैँ व्यवस्थापन हुन नसक्दा धनुषा खण्डमा पुल निर्माण ढिलिएको छ। हाल २२ वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा छन् भने २१ वटा निर्माणको चरणमा छन्। पुल निर्माण सुस्त हुँदा स्थानीयले अपेक्षित सुविधा पाउन सकेका छैनन्।
सडक कालोपत्र अंतिम चरणमा पुगे पनि पुल निर्माणले गति नलिनु मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ। स्रोत अभाव र प्राविधिक समस्याले ठेक्का प्रक्रियामा ढिलाइ भएको बताइएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदीको निर्माणाधीन पुलमा तीन सिफ्टमा काम गरी छिटो सम्पन्न गर्न निर्देशन दिँदै १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल नसकिएकोमा असन्तुष्टि जनाएका छन्। उहाँले हुलाकी सडकअन्तर्गतका सबै निर्माण कार्य शीघ्र अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
हुलाकी सडक आयोजना जनकपुर खण्डको ४०३ किलोमिटरमध्ये ६१ किलोमिटर मात्रै कालोपत्र बाँकी रहेको छ। कुनै अवरोध नभएका खण्डमा चालु आवभित्र काम सक्ने लक्ष्य आयोजकले जनाएको छ।
नेपाल सरकारले बनाइरहेको २९९.८० किलोमिटर र भारतीय अनुदानमा १०३.८८ किलोमिटर सडकसमेत गरी ४०३.६८ किलोमिटर हुलाकी मार्गमध्ये हालसम्म ३४२.६८ किलोमिटर कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महतोले बताए।
धनुषा, महोत्तरी, सर्लाही र सिरहा–मधेसका विभिन्न खण्डमा कालोपत्र कार्य तीव्र गतिमा भए पनि कतिपय स्थानमा केही किलोमिटर अझै बाँकी छन्। योजनाका लागि चालु आवको असोज मसान्तसम्म ७ करोड ९ लाख रुपैयाँ खर्च भइसकेको छ भने यस वर्षका लागि कूल ५९ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
जग्गा खरिद तथा सडक विस्तारका क्रममा क्षतिपूर्ति वितरणका लागि छुट्याइएको ५ करोडमध्ये १ करोड ३ लाख ९० हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।




































