जोडिनुहोस
  • होमपेज
  • भारत–नेपाल पर्यटन सहकार्य सुदृढ गर्न पोखरामा टुरिजम मिट

भारत–नेपाल पर्यटन सहकार्य सुदृढ गर्न पोखरामा टुरिजम मिट

काठमाडौं । भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न गरेको छ ।

बिहीबार सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै विशेष रूपमा भारतको उत्तर प्रदेश राज्य र नेपालबीचको पर्यटन प्रवर्द्धनमा केन्द्रित रह्यो । सो अवसरमा अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत मनाइएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले आफ्नो सम्बोधनमा पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दै गएको पर्यटन सहकार्यप्रति स्वागत व्यक्त गरे ।

india embassay (2)

भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले नेपाल–भारतबीचको पर्यटन आदानप्रदानलाई थप गति दिएको बताए । उनले धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट)हरूको संयुक्त प्रवर्द्धनमार्फत दुवै देशबीचको पर्यटन सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिपथहरूबारे प्रस्तुति दिँदै आगामी माघ मेलालाई विशेष रूपमा उल्लेख गरे । साथै, उनले पर्यटन नीति कार्यान्वयनमा उत्तर प्रदेशमा अपनाइएका उत्कृष्ट अभ्यासहरू पनि साझा गरेका छन् ।

india embassay (3)

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रबारे विस्तृत जानकारी प्रस्तुत गरे । उनले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक रहेको उल्लेख गर्दै भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका विभिन्न पहलहरूको चर्चा गरे ।

कार्यक्रमअन्तर्गत आयोजित बी टू बी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिहरू सहभागी थिए । सत्रमा विशेष गरी स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु तथा साहसिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल गरिएको थियो ।

यसै कार्यक्रमको भागका रूपमा पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डले उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि मंसिर २९ देखि पुस २ गतेसम्म परिचयात्मक भ्रमणको आयोजना गरेका थिए । भ्रमणमार्फत गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरू अवलोकन गराइएको थियो ।

india embassay (4)

धेरै टिप्पणी गरिएका