जोडिनुहोस
  • होमपेज
  • बुटवलका सुदीप न्यौपानेको शव घर ल्याइयो, त्रिवेणी घाटमा अन्त्येष्टि गरिने

बुटवलका सुदीप न्यौपानेको शव घर ल्याइयो, त्रिवेणी घाटमा अन्त्येष्टि गरिने

बुटवल। भारतको जम्मू–कश्मीरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवल–११, कालिकानगरका सुदीप न्यौपानेको शव बुधबार राति बुटवल ल्याइएको छ।

आमा, बहिनी र ज्वाईंसहित कश्मीर घुम्न गएका सुदीपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो। घटनापछि उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउ ल्याइएको थियो। त्यहाँबाट नेपाल भारतको सीमा सुनौली हुँदै बुटवलसम्म शव ल्याइएको हो।

शव ल्याउन लखनउदेखि सुनौलीसम्म भारतको उत्तरप्रदेशका एक जिल्ला अधिकारी (डीएम) ले सुरक्षासहित साथ दिएका थिए। शव लिन सुदीपका काका तथा बुटवल–१४ का वडाध्यक्ष दधिराम न्यौपानेसहित परिवारका सदस्यहरू सुनौली पुगेका थिए।

शव ल्याउने क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख रन्जितसिंह राठौरसहित सुरक्षा टोली खटिएको थियो। प्रहरी प्रमुख राठौरका अनुसार शव सुनौलीदेखि बुटवलसम्म सुरक्षा व्यवस्थासहित ल्याइएको हो।

हाल सुदीपको घर बुटवल कालिकानगरस्थित मनकामनापथ शोकमा डुबेको छ, जहाँ स्थानीयबासी र आफन्तहरूको बाक्लो उपस्थिति छ।

वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार सुदीपको अन्त्येष्टि आजै त्रिवेणी घाटमा गरिनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका