
भारत सरकारको आर्थिक सहयोगमा ओखलढुङ्गा जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।
सिद्धिचरण नगरपालिका–५ स्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने नयाँ विद्यालय भवनको शिलान्यास काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा गरेका हुन् ।

भारत सरकारको चार करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवन तीन र आधा तल्लाको हुनेछ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ भने यसको कार्यान्वयन सिद्धिचरण नगरपालिकामार्फत गरिनेछ ।
शिलान्यास समारोहका क्रममा सिद्धिचरण नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले नयाँ विद्यालय भवन निर्माणका लागि भारत सरकारले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले यस परियोजनाले स्थानीय शैक्षिक पूर्वाधार सुदृढ गर्दै गुणस्तरीय शिक्षामा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

भारत–नेपाल साझेदारी विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा व्यापक तथा बहु–क्षेत्रीय सहकार्यद्वारा चिनिएको छ । यो परियोजना दुवै देशबीच विकास र समृद्धिको साझा लक्ष्यमा आधारित गहिरो र ऐतिहासिक सम्बन्धको प्रतिबिम्ब भएको भारतीय राजदूतावासले जनाएको छ ।





































