जोडिनुहोस
  • होमपेज
  • सुनसरीमा तस्करी नियन्त्रणको क्रममा गोली काण्ड, चालकको ज्यान गएपछि राजमार्ग ठप्प

सुनसरीमा तस्करी नियन्त्रणको क्रममा गोली काण्ड, चालकको ज्यान गएपछि राजमार्ग ठप्प

काठमाडौँ । सुनसरीमा सशस्त्र प्रहरी बलको गोली लागेर एक स्थानीय चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन् ।

घटना बिहीबार राति करिब १ बजे सुनसरीको कोशी गाउँपालिका–१ मा भएको हो । तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साह भारतीय सीमावर्ती क्षेत्रबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्री लिएर नेपालतर्फ आउँदै थिए । घर नजिकै पुगेको अवस्थामा उनीमाथि गोली प्रहार गरिएको थियो । साहको शरीरमा दुई राउण्ड गोली लागेको बताइएको छ ।

घटनापछि आक्रोशित स्थानीयले शव सडकमा राखेर पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन थालेका छन् । प्रदर्शनका कारण ठूला सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन् । “स्थानीयको विरोधका कारण राजमार्ग अवरुद्ध छ, अवस्था अझै सामान्य भइसकेको छैन,” उनले बताए ।

घटनापछि बिहीबार बिहान प्रहरी र स्थानीयबीच वार्ता भएको भए पनि सहमति जुट्न सकेन । दोषीमाथि तत्काल कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयले आन्दोलन जारी राखेका छन् ।

धेरै टिप्पणी गरिएका