
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति १२ दिनमै भंग भएको छ । पद बाँडफाँट, पार्टीको नाम परिवर्तन, टिकट वितरणलगायत विषयमा सहमति नजुटेपछि दुई पार्टीबीचको एकता टुटेको हो ।
एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई पार्टी अध्यक्ष नियुक्त गरेको छ । शनिबार बसेको रास्वपाको सचिवालय बैठकले एकता अनुमोदन नगर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनपछि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित गरिएको एकता छोटो समयमै टुटेपछि यसलाई वैकल्पिक राजनीतिको असफल प्रयासका रूपमा विश्लेषण गरिएको छ । पुस १४ गते काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उपस्थितिमा गरिएको सहमति १२ दिनमै अन्त्य भएको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले रास्वपाले एकतर्फी रूपमा एकता भंग गरेको आरोप लगाए । उनले १२ दिनको अवधि आफ्नो पार्टीका लागि पीडादायी बनेको दाबी गरे । घिसिङले आफूहरूले पदको माग नगरेको बताए पनि रास्वपाले भने घिसिङ पक्षबाट राखिएका नयाँ माग पूरा गर्न नसक्दा एकता कार्यान्वयन हुन नसकेको जनाएको छ ।
रास्वपाका अनुसार घिसिङले पार्टीको सिद्धान्त परिवर्तन, वरिष्ठ उपसभापति र महामन्त्री पद आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन, ३० केन्द्रीय सदस्य मागलगायत प्रस्ताव राखेका थिए । साथै प्रत्यक्षतर्फ उम्मेदवार संख्या र छनोटको अधिकार, तथा चुनावपछिको सरकारमा निश्चित पद अहिले नै टुंग्याउनुपर्ने मागसमेत राखिएको रास्वपाको दाबी छ ।
एकता भंगपछि घिसिङले उज्यालो नेपाल पार्टी एक्लै निर्वाचनमा जाने र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले समानुपातिकतर्फ पनि समस्या समाधान गर्ने दाबी गरेका छन् । देशभर अभियान सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
बालेन्द्र शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउँमा आएपछि वैकल्पिक राजनीति बलियो बन्दै गएको विश्लेषण भइरहेका बेला घिसिङको बहिर्गमनले वैकल्पिक शक्ति निर्माणको प्रयासलाई धक्का पुगेको टिप्पणी गरिएको छ ।


































