जोडिनुहोस
  • होमपेज
  • मुगुमा बनेको सर्ट फिल्म ‘हेपिनेस’ कोलकाताको अन्तर्राष्ट्रिय महोत्सवको फाइनलमा

मुगुमा बनेको सर्ट फिल्म ‘हेपिनेस’ कोलकाताको अन्तर्राष्ट्रिय महोत्सवको फाइनलमा

मुगु — कर्णालीको मुगुमा निर्माण गरिएको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘हेपिनेस’ भारतको कोलकातामा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनलमा प्रवेश गरेको छ।

सन् २०२६ को ‘अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ (Amader International Short Film Festival) मा विश्वभरका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ फाइनल सूचीमा छनोट भएको हो।दिग्गज जुरीको छनोटमा ‘हेपिनेस’फिल्म फेस्टिभल जङ्क्शनले सार्वजनिक गरेको विवरणअनुसार, विश्वका सात देशका अनुभवी चलचित्रकर्मीहरूले ‘हेपिनेस’ फाइनलका लागि छनोट गरेको हो।

जुरी सदस्यहरूमा फ्रान्सका निर्देशक पाट्रिस गिलेन, बुर्किना फासोका लेखक तथा निर्देशक सान क्लेमेन्ट कौलीबाली, लेबनानकी निर्मात्री क्रिस्टिना इब्राहिम, मेक्सिकोका अभिनेता–निर्माता इभान क्यारुम, ब्राजिलका निर्देशक रुइटर कर्भेलो डुआर्ते, अल्जेरियाली समीक्षक हौरिया हम्मादौचे र मोरोक्कोका निर्माता मोहम्मद गुमाने रहेका छन्।

निर्देशक सैलेश हमालका अनुसार महोत्सवको अन्तिम नतिजा फेब्रुअरी १९ मा सार्वजनिक हुनेछ। निर्देशक हमालले भने, ‘‘कर्णालीको माटोको कथा विश्वस्तरीय जुरीको नजरमा पर्नु र फाइनलसम्म पुग्नु हाम्रा लागि ऐतिहासिक क्षण हो।’’

बाल मनोविज्ञानमा आधारित यो फिल्मले ‘खुसी भविष्यको ठूलो उपलब्धिमा मात्र होइन, आफ्नै सिर्जना र साना अनुभवहरूमा पनि भेटिन्छ’ भन्ने मार्मिक सन्देश दिएको छ। फिल्ममा बाल कलाकार अस्मिता हमालले मुख्य भूमिका निर्वाह गरेकी छन्। फिल्मको छायाङ्कन र रङ संयोजन उब्जन यूकेले गरेका हुन् भने सम्पादन सुमन कुमार शाहीले गरेका छन्। यस्तै, कलाकार छनोट (कास्टिङ) राजेन्द्र शाही र ध्वनि संयोजन (साउन्ड डिजाइन) डबल विश्वकर्माले गरेका छन्।

मुगुका युवा फिल्मकर्मीहरूद्वारा स्थापित ‘फ्लाइङ फेदर्स फिल्म्स’ को ब्यानरमा बनेको यो सर्ट फिल्मले यसअघि पनि अन्तर्राष्ट्रिय सफलता हात पारिसकेको छ। सन् २०२५ मा कोलकातामै सम्पन्न ‘सत्यजित–रित्विक–मृणाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा उत्कृष्ट कथा र उत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो।

यो संस्थाले कर्णालीको मौलिक संस्कृति, जीवनशैली र लुकेका कथाहरूलाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका