
काठमाडौं । भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आइतबार त्यहाँको संसद्मा पेस गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटमा नेपालका निम्ति ८०० करोड भारू (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) विनियोजन गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा १०० करोड भारूले बढी हो ।
यस्तै, भारतबाट सबैभन्दा बढी अनुदान प्राप्त गर्ने मुलुकमा भुटान यथावत् छ । भुटानलाई अनुदान ६ प्रतिशतले बढाएर २,२८९ करोड भारु पुर्याइएको छ ।
श्रीलंकालाई पनि ४०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ, जुन अघिल्लो वर्षभन्दा १०० करोड रुपैयाँ बढी हो ।
यता, अफगानिस्तानका लागि भारतले ५० करोड रुपैयाँ थप गर्दै कुल १५० करोड रुपैयाँ विनियोजन गरेको छ । बंगलादेशका लागि अनुदान आधाले घटाएर ६० करोडमा सीमित गरिएको छ । अघिल्लो वर्ष बंगलादेशलाई १२० करोड विनियोजन गरिएको थियो ।
माल्दिभ्सका लागि अनुदान ५० करोडबाट घटाएर ५५० करोड भारतीय रुपैयाँ र म्यानमारका लागि ५० करोडबाट घटाएर ३०० करोड भारतीय रुपैयाँमा झरेको छ ।
यस्तै, मौरिससलाई दिइने सहयोग ५० करोड रुपैयाँ बढेर ५५० करोड रुपैयाँ पुगेको छ भने मंगोलियाका लागि अनुदान ५ करोडबाट बढेर २५ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक पुनरुत्थानको चरणमा रहेका मुलुकलाई सहयोग पुर्याउने उद्देश्यले भारतले नेपाललगायतका देशलाई सहायता प्रदान गर्दै आएको छ ।




































