
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि नेपाली सेना परिचालन हुने भएको छ । सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
निर्वाचन आउन एक महिना मात्र बाँकी रहेको अवस्थामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरिने भएको हो । साथै निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइने बताइएको छ ।
नेपाली सेनाका अनुसार आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन हुनेछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको थियो । निर्वाचन सुरक्षालाई केन्द्रमा राख्दै आवश्यकताअनुसार सेनाको आधार खडा गर्ने र संयुक्त गस्ती सञ्चालन गर्ने तयारी गरिएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनको एक महिना अघिबाट सेनाले फिल्डमा जिम्मेवारी सम्हाल्न थालेको हो । सेनाले मतपत्र छपाइ, ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाबाट ८० हजार, नेपाल प्रहरीबाट ७७ हजार र एक लाख ३३ हजार निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति खटाइने छ ।
निर्वाचनका लागि २ हजार ८४५ मतदानस्थललाई सामान्य, ४ हजार ४४२ लाई संवेदनशील र ३ हजार ६८० मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।




































