जोडिनुहोस
  • होमपेज
  • भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

रुपन्देही । रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार (सिद्धार्थनगर नगरपालिका), जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।

यही माघ १९ र २० गते नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व), नवलपुरको कावासोती नगरपालिका–१५ स्थित बाघखोरमा भएको सञ्जालको समीक्षा तथा योजना बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीले विगतमा पनि रात्रिकालीन बजार सञ्चालनका लागि समिति बने पनि आवश्यक काम अघि बढ्न भने बाँकी रहेको बताए ।

उनले बजार सञ्चालनका लागि विशेष गरी प्रहरी–प्रशासन र स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए । सञ्जालले विगतमा पनि पहल गरेको र पुनः पहल थाल्ने उनले जानकारी दिए । यसमा सिद्धार्थनगर नगरपालिकाले विशेष चासो राख्नुपर्ने उनको भनाइ छ ।

“नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाका हुँदै भित्रिने गरेका छन्, तर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भैरहवामा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिएको छैन, बेलहिया हुँदै अन्यत्र जाने पर्यटकलाई कम्तीमा एकदिन भए पनि भैरहवामा बसाउन रात्रीकालीन बजार सञ्चालनको अत्यन्तै आवश्यकता छ”, अध्यक्ष ज्ञवालीले भने ।

हप्तामा कम्तीमा दुई दिन रात्रिकालीन बजार सञ्चालन गरी स्थानीय खानाका परिकारको स्टल राख्ने, विभिन्न जातजाति तथा समुदायबाट सांस्कृतिक प्रस्तुति, गौतमबुद्धको जीवनीमा आधारित वृत्तचित्र देखाउनुका साथै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने उनको भनाइ छ ।

रात्रिकालीन बजार सञ्चालन भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष ज्ञवालीले बताए । समीक्षा तथा योजना बैठकले १८ बुँदे वार्षिक कार्ययोजना तय गरेको सिद्धार्थ सञ्जालका महासचिव मधुप्रसाद पन्थीले बताए ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि दबाबमूलक कार्यक्रम र सम्बन्धित ठाउँमा छलफल, पर्यटन प्रवद्र्धनसम्बन्धी योजना ल्याएर पर्यटकका समस्या समाधानका लागि पहल तथा पर्यटकीय र धार्मिकस्थलको पहिचान गरी प्रचार प्रसारको योजना ल्याउने निर्णय भएको महासचिव पन्थीले जानकारी दिए ।

त्यस्तै विभिन्न सङ्घ–संस्थासँग छलफल तथा अन्तर्क्रिया गरी समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल, उद्योगी–व्यवसायी र वस्तुगत सङ्घ–संस्थाको गुनासो सुनी सम्बन्धित ठाउँमा पेस, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी छलफल तथा अन्तर्क्रिया, स्थानीय विकास र भौतिक निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल, समग्र भैरहवाको विकासका अवसर तथा चुनौती विषयक छलफल कार्यक्रम एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि सम्बन्धित निकायसँग छलफल गर्ने योजना रहेको उनले बताए ।

त्यसैगरी सीमा क्षेत्र व्यवस्थित गर्न आवश्यक पहल, सरकारी कार्यालयहरुसँग समन्वय गरी आवश्यक सल्लाह–सुझाव दिने तथा यहाँका समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र यस क्षेत्रमा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप नभएकाले भैरहवा मण्डपका लागि जग्गाकोे व्यवस्थापनका निम्ति सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष डा शान्तकुमार शर्माले बताए ।

करिब अढाइ वर्षअघि भैरहवा क्षेत्रका सङ्घ–संस्थाको भेला गरी शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि आवाज बुलन्द गर्ने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन भएको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका