
काठमाडौँ । प्रथम शहिद लखन थापा मगरको स्मृतिमा खुल्ला दौड प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । नेपाली कल्चर मिडिया प्रालिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता अगामी फागुन २ गते हुने भएको हो ।
प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ सहभागिता रहने आयोजकले जनाएको छ ।

१० किलोमिटर दूरीमा हुने दौड शहिद गेटबाट सुरु भई जमल, लैनचौर, चक्रपथ, गोल्फुटार, बुढानीलकण्ठ चपलीभट्टी हुँदै देउ मोडबाट तल्लो पासिकोटस्थित नेपाली कल्चर मिडिया हाउससम्म पुगेर समापन हुनेछ ।
प्रतियोगितामा महिला तर्फ प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ । त्यस्तै, पुरुष तर्फ पनि प्रथमलाई ३५ हजार, दोस्रो लाई २५ हजार, तेस्रो लाई १५ हजार र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ तोकिएको छ । सबै विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी फारम भर्ने अन्तिम मिति माघ २९ गते तोकिएको छ । कार्यक्रमको संरक्षकमा नेपाल मगर संघ केन्द्रीय समिति रहेको छ भने समन्वय प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले गर्नेछ । प्रतियोगिताले राष्ट्रिय एकता र शारीरिक तन्दुरुस्ती प्रवद्र्धनमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।





































