अमृतसर— पंजाबका मुख्यमन्त्री भगवन्त मानले शिक्षाको बृहत्तर विकासको लागि जी–२० सम्मेलन उत्कृष्ट मञ्च भएको बताएका छन् । उनले विशेष गरी राज्यको शिक्षा क्षेत्रलाई विकासको लागि यो सम्मेलन लाभदायिक भएको बताउका हुन् ।
पञ्जाबमा भएको जी–२० शिक्षा कार्यदलको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस शिखर सम्मेलनमा हुने छलफलले शिक्षाको स्तर उकास्ने मात्र नभई राज्यका युवालाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उनले विश्व अर्थतन्त्रसँग सम्बन्धित प्रमुख समस्यालाई सम्बोधन गर्न जी–२० को अथक प्रयासले समग्र मुलुक र विशेषगरी राज्यको आर्थिक वृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मानले शान्ति, समझदारी र अन्तर्राष्ट्रिय सहयोगको वातावरण प्रवर्द्धनका लागि जी— ले गरिरहेको ठोस प्रयासको पनि प्रशंसा गरे। उनले स्वास्थ्य र शिक्षा मानवीय र सामाजिक विकासको आधारशिला भएको बताउँदै यी दुई महत्वपूर्ण क्षेत्रलाई सुदृढ र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारले आगामी आर्थिक वर्षमा विद्यालय र उच्च शिक्षाका लागि १७ हजार ७२ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरेको मानले बताए । उनले आफ्नो सरकारले राज्य र अन्य देशका विद्यार्थीबीच ज्ञान आदानप्रदान सम्झौतालाई अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको बताए ।
मानले विद्यार्थीलाई विश्वको सामाजिक आर्थिक विकासको साझेदार बनाउनु अहिलेको आवश्यकता भएको बताए । मुख्यमन्त्रीले शिक्षा र श्रममा दुई सत्रहरू आयोजना गर्न अमृतसरलाई छनोट गरेकोमा केन्द्रलाई धन्यवाद पनि दिएका थिए।