
जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले आजै राजीनामा बुझाएर बाहिरिन लागेका हुन् ।
एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।
मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आजै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।
एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ । पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।