जोडिनुहोस
  • होमपेज
  • सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डका लागि मनोनयन सार्वजनिक

सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डका लागि मनोनयन सार्वजनिक

पर्वत : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ।

बुधवार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलन आयोजना गरी मञ्चले चार विधामा मनोनयनमा पर्न सफल तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। वर्ष २०७९ मा उनीहरूले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले बताए।

सार्वजनिक मनोनयनअनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गङ्गाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का रहेका छन्। केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन्। वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर, फुटबलकी सावित्री भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन्। रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्री लमजुङ जिल्लाकी हुन्।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन्। उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन्। केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लनटेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन्। किशोर स्याङजाका हुन् भने नीरज र सुरज कास्कीका हुन्।

मञ्चले प्रदान गर्ने कुल सात विधामध्ये बाँकी विधा लाइफ टाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल सङ्घ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव पौडेलले जानकारी दिए। वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन्। ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ। उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चले जनाएको छ।

अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र उक्त खर्च व्यवस्थापनका लागि ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष दीननाथ बरालले बताए। बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकासका तालिममा खर्च गरिनेछ।

अवार्ड कार्यक्रम यही वैशाख २३ गते शनिवार दिउँसो दुई बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने छ। अवार्ड कार्यक्रमको थप आकर्षणका रूपमा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम समेत रहनेछन्। मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्च अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति गठन गरेको छ।

मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो। यो संस्था २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रूपमा स्थापना भएको थियो। देश सङ्घीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तरोन्नति गर्दै स्वायत्त संस्थाको रूपमा विकास गरिएको छ। हाल ७४ जना पत्रकार मञ्चमा आबद्ध छन्। खेलाडीलाई ऊर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम आयोजना हुँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV