काठमाडौँ— राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।
काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो।