काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष किसानहरूलाई सरकारले समयमै मल र बिउ उपलब्ध गराउने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसद अनितादेवीले किसानहरूले बर्सेनि मल र बीउ अभाव झेल्नुपरेको भन्दै यसबारे सरकारले के सोचिरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
‘मल र बीउ अभाव हुन नदिन मैले कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छु र प्रक्रिया पनि अघि बढिसकेको छ’, प्रधानमन्त्रीको जवाफ छ ।
त्यस्तै प्रधानमन्त्रीले रासायनिक मल अभाव हुन नदिन मल कारखाना खोल्न अध्ययन भइरहेको भन्दै मल खरिद सम्झौता भइसकेको जानकारी दिए । उनले बजेटमा कृषि र उत्पादनमा उच्च प्राथमिकता दिने समेत जानकारी दिए ।