ढाका । बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो ।
दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
ढाका ट्रिब्यूनले फायर सर्भिसका अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनाको समयमा जहाजमा रहेका आठ जनालाई उद्धार गरिएको छ। तर, जहाजमा सवार धेरै यात्रु अझै बेपत्ता छन् ।
उद्धार गरिएका आठ जनामा चार पुरुष, तीन महिला र एक बालबालिका रहेका छन् । सर सलिमुल्लाह मेडिकल कलेज अस्पतालका निर्देशक ब्रिगेडियर जनरल रसिद अन नाबीले मृतकको शव सार्ने प्रक्रिया जारी रहेको बताए ।