
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन आगामी माघमा हुने भएको छ । २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ५ मा निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा ९१० मा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ । तर निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्ने हुन्छ ।
दफा ५ को उपदफा (१क) मा पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनु भन्दा पैंतिस दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नु पर्नेछ ।’
संविधानको धारा ८६ मा राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिसम्बन्धी व्यवस्था छ ।
राष्ट्रिय सभा एक स्थायी सदन हो । राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । प्रत्येक दुईरदुई वर्षमा निर्वाचन भएर एक तिहाइ सदस्य नयाँ आउँछन् भने एक तिहाइ सदस्य कार्यकाल सकिएर बिदा हुन्छन् । यसरी राष्ट्रिय सभालाई स्थायी सदनको व्यवस्थित गरिएको छ ।
यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुन लागेका हुन् । जसमा एक जना मनोनीत रहेकाले बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।