जोडिनुहोस

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको छ ।

अदालतले असान्जलाई अमेरिका सुपुर्दगीको विरुद्धमा पुनरावेदन गर्न अनुमति दिएको हो । असान्ज अस्ट्रेलियामा जन्मेका नागरिक हुन् जो सन् २०१९ देखि लन्डनको बेलमार्श उच्च सुरक्षा जेलमा थुनिएका छन् ।

असान्जलाई इक्वेडरको दूतावासमा हिरासतमा राखिएको थियो जहाँ उनले शरण मागेका थिए । रोयल कोर्ट अफ जस्टिसका दुई उच्च अदालतका न्यायाधीशहरूले असान्जलाई आफ्नो सुपुर्दगी आदेशलाई पुनरावेदन गर्न अनुमति दिए । अमेरिकाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्छ र त्यहाँ मृत्युदण्ड दिन सकिँदैन भन्ने असान्जको कानुनी टोलीको तर्कसँग अदालत सहमत भयो ।

असान्ज र उनकी श्रीमतीका समर्थकहरू उच्च अदालतमा भेला भए र असान्जले सधैँ गलत कामलाई अस्वीकार गरेको बताए । ५२ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिकी सरकारले सन् २०१० मा इराक र अफगानिस्तानको युद्धसँग सम्बन्धित गोप्य कागजातहरू चुहावट गरेकोमा उनको भूमिकाको अभियोग लगाएको छ ।

यदि दोषी प्रमाणित भएमा, उसले जीवनको जेल सजाय भोग्नुपर्ने छ । लन्डनको उच्च अदालतले मार्चमा सुनुवाइका क्रममा असान्जको तत्काल सुपुर्दगीलाई रोक लगाएको थियो । अदालतले अमेरिकालाई आफ्नो अधिकारको प्रत्याभूति पेश गर्न पनि भनेको थियो ।

दुई न्यायाधीशको प्यानलले आफ्नो निर्णयमा असान्जलाई तुरुन्तै सुपुर्दगी नगरिने बताएको छ र उनले अमेरिकी नागरिकको समान कानुनी अधिकार पाउने कुरामा अमेरिकालाई तीन साताको समय दिएको छ ।

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर रिटमा आज सुनुवाई हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासा पेसी तोकिएको छ । यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको असंवैधानिक भएको भन्दै यादव सर्वोच्च अदालत गएका हुन् । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।

अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीको माग गर्दै अदालत गएका हुन् । वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

काठमाडौं– इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारवाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन्। गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको बताए ।

इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई रफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।

बहुप्रकोपीय जोखिमबारे पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौं । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । विभिन्न प्राकृतिक प्रकोपका पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यका बहुप्रकोपिय पूर्वसूचनाा प्रणालीलाई एकीकृत गर्ने सरकारी रणनीति कार्यान्वयन गर्न लागत लाग्ने अनुमान गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनका लागि तयारी भइरहेको जनाउँदै यसका लागि रु ८१ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरेको छ । भविष्यमा आउने विपद्को पूर्वसूचना दिने र सम्भावित जोखिम न्यूनीकरणका लागि प्रतिकार्यात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने लक्ष्यले बहुप्रकोपीय पूर्वसूचना प्रणाली प्रवर्द्धन गर्ने तयरी भइरहेको प्राधिकरणले जनाएको छ ।

बाढीसम्बन्धी नेपालमा पूर्वसूचना प्रणालीको विकास भए पनि नेपालमा अन्य प्राकृतिक विपत्तिका पूर्वसूचना दिने प्रावधान छैन । पहिलो पटक बहुप्रकोपीय प्रणालीमा आधारित पूर्वसूचना प्रवाह गर्दै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सरकारले तयारी थालिरहेको छ । प्राधिकारण कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्जन्य विभिन्न घटनाबाट हुने धनजनको क्षति कम गर्ने लक्ष्यका साथ बहुप्रकोपीय पूर्वसूचना प्रणाली विकास गर्न आगामी सात वर्षका लागि अनुमानितलागत रु ८१ अर्ब लाग्ने जानकारी गराएका छन् ।

“नेपालमा बाढीसम्बन्धी पूर्वसूचना विकास भएपछि कयौंँ सर्वसाधरणको ज्यान जोगिएको, करौडौँ धनजनको क्षति हुनबाट रोकिएका थुप्रै उदाहरण छन्,” उनले भने, “तर पहिरो, चट्याङ, वन डढेलो, लु, शीतलहर, हिमपहिरो, हावाहुरी, असिनापानी, वायुप्रदूषण जस्ता प्राकृतिक विपत्तिको विषयमा पूर्वजानकारी पाउने गरी कुनै पनि पूर्वसूचना प्रणालीको विकास हुन सकिरहेको छैन । यी प्रकोपबाट पनि धनजनको क्षति बढिरहेकाले यस्ता बहुप्रकोपिय घटनाबाट हुनसक्ने सम्भावित क्षति कम गर्न पूर्वसूचना प्रणाली विकास गर्ने लक्ष्य लिएका हौँ ।”

सबै खालका प्रकोपबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्यका साथ बहुप्रकोपीय पूर्वसूचना प्रणाली विकासका लागि सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ छ । बहुप्रकोपीय सूचना प्रणालीबाट सङ्कलित सूचनालाई सर्वसाधरणले बुझ्ने गरी स्थानीय भाषामा उपलब्ध गराइने उनले जानकारी गराएका छन् ।

“हालसम्म हामीले सर्वसाधरणलाई मनसुनी जानकारी र बाढीसम्बन्धी पूर्वसूचना सबैभन्दा बढी मोबाइल एसएमएसको प्रयोगमार्फत सम्प्रेषण गर्दै आइरहेका छौँ । अव थप सूचना सम्प्रेषणलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्ने योजना बनाएका छौँ,” कार्यकारी प्रमुख पोखरेलले भने, “अव विभिन्न सामाजिक सञ्जाल, स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चार माध्यम, मोबाइल एसएमएसलगायत माध्यमबाट सहज भाषामा सूचना प्रवाह गर्ने छौँ, यसले गर्दा पूर्वसूचनाको प्रभावकारिता थप बढ्न सक्छ र बहुप्रकोपीय घटनाबाट हुनसक्ने क्षति न्यूनीकरण हुने छ ।”

उनले प्राकृतिक विपद्को हिसाबले जोखिमपूर्ण परिवारको अध्ययन गर्ने र जोखिमको आधारमा उनीहरुको नक्शाङ्कन गर्ने तयारी भएको जानकारी गराउनु भएको छ । “पहिरोका जोखिम भएको क्षेत्रमा कति परिवार बसोबास गरिरहनुभएको होला, कति परिवार बाढीको जोखिममा हुनुहुन्छ, होला । कतिपय घरपरिवार अन्य प्राकृतिक जोखिम मोलेरै त्यस्ता क्षेत्रमा बसिरहरनुभएको होला,” उनले भने, “यी र यस्ता बहुप्रकोपिय जोखिमपूर्ण परिवारको तथ्याङ्क निकाल्ने र त्यसको नक्शाङ्कन गरिने योजना छ ।”

यीलगायत अन्य योजनामा विपद्को अवलोकन, विपद्सम्बन्धी पूर्वसूचना वितरण, विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नेगरी आगामी योजना तय गरिने बताए । तर यी योजना कार्यान्वयनका लागि आगामी ७ वर्षलाई आवश्यकपर्ने ८१ अर्ब लागत जुटाउन भने चुनौती रहेको पनि पोखरेलको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले पनि बहुप्रकोपीय पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा जल तथा मौसमजन्य विपत्तिको प्रकाप न्यूनीकरण प्रभावकारी रुपमा अगाडि बढाउन सकिनेमा जोड दिएका छन् । “पूर्वसूचना प्रणालीका लागि १ अमेरिकि डलर खर्च गर्न सक्यौँ भने बाढीपहिरोबाट १० अमेरिकि डलर बचाउन सकिन्छ, तसर्थ पूर्वसूचना प्रणालीमा लगानी बढाउन जरुरी छ,” उनले भने, “अव हामीले पूर्वसूचनाबाट सर्वसाधरणलाई फाइदा पुग्ने गरी काम गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”

पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा अझै बढी विश्वासनीय पूर्वसूचना प्रवाह गर्न सकिने उनले बताए । विगतमा बाढीको पूर्वसूचना दिने गरिए पनि अन्य विपद्जन्य घटनाको पूर्वसूचना दिन नसकिएको भन्दै आगामी दिनमा त्यसको पनि तयारी भइरहेको उनको भनाइ छ । “विषेशगरी हामीले बाढीसम्बन्धी मात्रै पूर्वसूचना उपलब्ध गराउँदै आएका छौँ । तर अबदेखि पहिरो, हिमपहिरोको, लु, वन डडेलो, हावाहुरी, भारी बर्षा, चट्याङ, शीतलहर लगायतका १३ किसिमका विपद्को पूर्वानुमान गरी एसएमएसमार्फत सन्देश प्रवाहको तयारी गरिरहेका छौँ”, महानिर्देशक कर्मचार्यले भने ।

उनका अनुसार टेलिकम कम्पनी टेलिकम र एनसेलले विभागसँगको सहकार्यमा सन् २०१६ देखि बाढीको पूर्वसूचना प्रवाह गर्न निःशुल्क एसएमएस सेवा दिँदै आएको छ । यसअघि एनसेलसँग मात्रै यसप्रकारको सम्झौता भएकामा अब नेपाल टेलिकमसँग पनि सो सम्बन्धी सम्झौताको तयारी भइरहेको महानिर्देशक कर्माचार्यको भनाइ छ ।

“पूर्वसूचना प्रवाहकै कारण मनसुनजन्य विपद्बाट हजारौँ मानिसको ज्यान जोगिएको छ, आर्थिक क्षति पनि कम भएको छ,” उनले भने, “पूर्वसूचना अझ प्रणालीलाई भरपर्दो र विश्वासनीय बनाउँदै लैजाने छौँ ।”उहाँले मौसममा आधारित जोखिमबाट हुने धनजनको क्षति कम गराउन पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि तीन वटै तहका सरकार, विभिन्न सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्न आवश्यक बताए ।

उनका अनुसार हाल नेपामला बाढीसम्बन्धी पूर्वसूचनाका प्रणालीहरु १९ र एक सय ७० केन्द्र छन् । ‘रियल टाइम’ मौसममापन गर्ने केन्द्र भने दुई सय ९० रहेका रहेको उनको भनाइ छ । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पछिल्लो समय बाढीका पूर्वसूचना प्रणाली विकास भएपछि बाढीजन्य क्षति कम भइरहेको भन्दै अन्य विपद्को पनि पूर्वसूचना प्रणाली विकास गर्न सकेमा क्षति न्यूनीकरणमा सहयोग पुग्ने छ ।

“बाढीपहिरो र चट्याङ, वन डढेलो जस्ता विपद्का घटनाले सबैभन्दा बढी क्षति गराएको छ, यसकारण हावाहुरी चट्याङ र पहिरो मुख्य नेपालका जलजन्य र मौसमजन्य प्राकृतिक विपद्का घटना हुन्, यसले वर्सेनी धनजनको क्षति गराइरहेको छ,” उनले भने, “प्राकृतिक विपद्का घटनालाई रोक्न नसके पनि यी विपद्का घटनाबाट हुनसक्ने सम्भावित क्षति धेरै न्यूनीकरण गर्न सकिन्छ ।”

तर विपद्का घटना भइसकेपछि भन्दा विपद् अगाडिका पूर्वतयारीका गतिविधिलाई बढी प्रथामिकता दिन सकेमा धनजनको क्षति कम गर्न सक्ने जनाउँदै पूर्व तयारीका गतिविधिमा लगानी बढाउन आवश्यक रहको उनको सुझाव छ । “उदाहरणका लागि भूकम्प, आउनुभन्दा अघिको अवस्थामा हामी तयार नै नगर्ने तर भूकम्प गइसकेपछि मात्रै उद्धारका लागि लाग्ने गर्छौँ । बाढीपहिरो जानुभन्दा अघिको समयमा हामी नजाने, बाढीपहिरो गइसकेपछि हामी राहत लिएर जानुपर्छ भन्ने मान्यता राख्छौँ,” विपद् व्यवस्थापनविद् उप्रेतीले भने, “१० हजार पूर्वतयारीका कार्यक्रममा खर्च गर्न सके विपद्पछि गर्नुपर्ने करिब एक लाख लगानी बचाउन सकिन्छ भने किन नगर्ने ?”

विद्यमान विपद् ऐन, नियमवाली, विपद् व्यवस्थापन तथा न्यूनीकरण नीति, विपद् व्यवस्थापन न्यूनीकरणको संरचना रहेको जनाउँदै उनले प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा सुझाव दिएका छन् । विपद्का पूर्वसूचना प्रणालीको विकासमा ध्यान दिन सकेमा विपद्जन्य घटनाबाट प्रतिकार्यर्को क्षमता अभिवृद्धि हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले यस वर्ष पनि बाढी तथा पहिरो जस्ता मनसुनजन्य घटना बढ्नसक्ने अनुमान गरिएको छ । डा उप्रेतीले यो आगामी मनसुन अवधिमा पहिरोजस्ता मनसुनजन्य विपद् बढ्नसक्ने जनाउँदै पूर्वतयारी र प्रतिकार्यका लागि समयमा नै सचेत रहनुपर्ने जानकारी दिएका छन् ।

अधिकतम वर्षका साथै यस वर्ष तापक्रम पनि बढ्ने भएकाले मौसमी घटना धेरै हुनसक्ने जनाउँदै मौसमविद्हरुले सतर्क रहनुपर्नेमा जोड दिएका छन् । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, वागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

विभागका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ । कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको उत्तर–पूर्वी भूभागमा अधिकतम तापक्रम तथा सुदूरपश्चिम, गण्डकी र वागमती प्रदेशका थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

प्राधिकरणका अनुसार गतवर्षको मनसुन अवधिमा ६३ जनाको ज्यान गुमेको थियो भने पाँच हजार नौ सय ३७ घर परिवार प्रत्यक्ष प्रभावित भएका थिए । पहिरोका चार सय ५९, भारी वर्षाका एक सय ६८, बाढीका एक सय ४२ र चट्याङका एक सय २३ गरी जम्मा आठ सय ९२ घटना अभिलेख भएका थिए । यी घटनाबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र एक सय ६८ जना घाइते भएको तथ्याङ्क छ ।

कस्तो छ आजको मौसम अवस्था ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

करोडौँ लागतमा बनेका दुई बसपार्क प्रयोगविहीन

नवलपरासी। पश्चिम नवलपरासीमा करोडौँ लागतमा बनेका दुई बसपार्क निर्माण भएको वर्षौँ बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । तीन करोड ३५ लाखमा परासी र एक करोड १३ लाखमा महेशपुरमा निर्माण भएका बसपार्क प्रयोगविहीन भएका हुन् ।

रामग्राम नगरपालिका–४ स्थित केरवानी र पाल्हीनन्दन गाउँपालिका–१ स्थित रमपुरवामा करोडौँको लागतमा बनेका दुई बसपार्क निर्माण सम्पन्न भएको वर्षौँ हुँदा पनि स्थानीय सरकारले सञ्चालनमा ल्याउन उदासीनता देखाउँदा प्रयोगविहीन बनेका स्थानीयको भनाइ छ ।

रामग्राम नगरपालिकाले गत वर्ष नै निर्माण सम्पन्न गरेकामा हालसम्म बसपार्क सञ्चालन हुन सकेको छैन । समीर कन्ट्रक्सनले बसपार्क सम्पन्न गरी नगरपालिकाबाट अनुगमन गराइसकेको जनाएको छ । भवन तथा सहरी विकास कार्यालय चितवनले हस्तान्तरण नगरेकाले बसपार्क सञ्चालन गर्न नसकिएको नगरप्रमुख धनपत यादवले बताए ।

निर्माण कम्पनीले काम सम्पन्न गरे पनि हस्तान्तरण नगरेकाले समस्या भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिए । सम्बन्धित कार्यालयले काम सम्पन्न गरे पनि हस्तान्तरण समयमै नगर्नु र सम्बन्धित पालिकामा बनेका संरचना सञ्चालन नगर्दा करोडौँको लागतमा बनेका बसपार्क अलपत्र बनेका हुन् ।

बसपार्क प्रयोगमा ल्याउन नगरपालिकाले प्रयास गरिरहे पनि व्यवसायीले अपायक पर्ने ठाउँमा बनेकाले प्रयोगमा आउन नसकेको बताएका छन् । नगरपालिकाले बेलाबेला पत्राचार गरी बसपार्क सञ्चालनका लागि व्यवसायीलाई अनुरोध गर्दै आएको छ ।

पाल्हीनन्दन–१ को रमपुरवा चोकको उत्तरतर्फ रहेको डा पृथ्वीराज कँडेल बसपार्क बनेको लामो समय भइसक्दा पनि सञ्चालनमा आएको छैन । सहरी विकास मन्त्रालयबाट करिब एक करोड, पाल्हीनन्दन गाउँपालिकाको १० लाख र वडा नं १ को रु तीन लाख लागतमा निर्माण भएको उक्त बसपार्क हालसम्म सञ्चालन भएको छैन ।

स्थानीय सरकार तथा सरोकार भएका निकायले चासो नदिँदा राज्यको लगानी खेर गएको स्थानीयले बताएका छन् ।

बीपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक। मनसुन सुरु हुनै लाग्दासमेत बीपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत नहुँदा यात्रुले सूचना पाउन सकेका छैनन् ।

गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि मर्मत हुन नसकेको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार गत वर्ष सडक विभागसँग मर्मतका लागि बजेट प्रस्ताव गरे पनि प्राप्त हुन सकेन ।

सूचना प्रणाली ‘बोर्ड’मा सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ हुने गर्दथ्यो । सूचनाका आधारमा यात्रुलगायत सडक प्रयोगकर्ताले यात्रा गर्दथे ।

राजमार्गको धुलिखेल-सिन्धुली-बर्दिबास सडकखण्डमा तत्कालीन मौसमी अवस्थाबारे जानकारी दिन नौ वर्षअघि अरनिको राजमार्ग प्रारम्भ हुने जडीबुटीमा र काभ्रेपलाञ्चोकको धुलिखेललदेखि सिन्धुली-बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो ।

धुलिखेलमा रहेको सूचना बोर्डमा मौसमअनुसार सूचना दिने प्रणाली मर्मत गरी अद्यावधिक गर्न सकिएको छैन । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्ट टिमलाई अध्ययनको स्वीकृत दिएको थियो । जाइकाको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत हुन नसकेको हो ।

यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफल अब्जरभेसन सिस्टम’ले निरन्तर वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्ता केन्द्र काठमाडौँ थापाथलीस्थित उप-आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा रहने व्यवस्था गरिएको थियो ।

उक्त प्रणालीअन्तर्गत ‘डाटा सेन्टर’मा निरन्तर आउने प्रकोपका विवरणहरू ‘जिपिआरएस् मोडेम’मार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ ‘अपडेट’ हुन्छ । यी विवरणहरू ‘एलइडी डिस्प्ले’युक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो ।

चौबीसै घण्टा विवरण ‘अपडेट’मा ‘लोडसेडिङ’ले समस्या हुनसक्ने भएकाले सबै केन्द्रमा सौर्यशक्ति (सोलार) समेत जडान गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट बर्दिबाससम्म एक सय ६० किलोमिटर सडक विसं २०५४ सालदेखि विस्तार गरिएको थियो ।

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति सुन्न पाइने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। गुम्न लागेको धन फिर्ता हुनेछ। बौद्धिक क्षेत्रमा विवाद हुने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

वृषः दैनिकी सहज छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। शिक्षा, स्वास्थ्य भन्दा वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा ठगबाट सचेत बन्नुपर्नेछ।

मिथुनः नयाँ योजना बनाउने समय छ। परिवारको साथ प्राप्त हुनेछ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

कर्कटः दिन संघर्षमय छ। आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यले धोखा दिने जोखिम रहेको छ।

सिंहः यात्रा रमाइलो हुनेछ। कामको मूल्यांकन हुने दिन छ। खानपानको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवसाय गर्नु हुन्छ भने सफलता मिल्नेछ।

कन्याः राम्रो आम्दानी हुने दिन छ। श्रम गरेको ठाउँबाट तपाईंको राम्रो मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारबाट नाफा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम देखिन्छ।

तुलाः तपाईंको सीपको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर छ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ। जिम्मेवार पदमा रहेकाले धेरैले निगरानी गरिरहेको कुरा काम गर्दा ख्याल गर्नुपर्ने हुन्छ।

वृश्चिकः समय चुनौतीपूर्ण देखिन्छ। कार्यसम्पादनमा अरुको साथ नहुने जोखिम देखिन्छ। काम गर्नु अगाडि कसैको पनि सल्लाह नलिनु राम्रो हुन्छ। एक्लो लगानी गर्नु भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ।

धनुः नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः अन्त्य साढेसाती दशा चलिरहेको छ। समाजसेवा गर्नु राम्रो हुन्छ। यसले समाजमा तपाईंको सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः शनिदेवको छाया योग चल्दै छ। जन्म कुण्डलीमा शनिदेव सकारात्मक भए राम्रोराम्रो काम बन्नेछ। जन्म कुण्डलीमा शनिदेव नकारात्मक भए झुटा आरोप लाग्ने जोखिम हुन्छ।

मीनः राम्रा मानिससँगको भेटले मनमा उत्साह बढ्नेछ। आज कमाउने भन्दा जोगाउने दिन छ। इष्टमित्र र नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। परिवारभित्र शंका र उपशंका बढ्ने देखिन्छ।

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय

एजेन्सी- भारतको राजस्थान राज्यस्थित भिलवाडा जिल्लाको कोटडीमा एकजना नाबालिगमाथि भएको सामूहिक बलात्कार प्रकरणका दुईजनालाई फासीको सजाय भएको छ ।

नाबालिगलाई सामूहिक बलात्कारपछि जिँदै इँटाभट्टामा हालेर जलाएको प्रकरणमा संलग्न ९ जनामध्ये २ जनालाई अदालतले सोमबार फासीको सजाय सुनाएको हो । भीलवाडाो पोक्सो अदालत-२ ले दोषीलाई फासीको सजाय सुनाएहो ।

२ अगस्ट २०२३ को यस घटनापछी पुलिसले अनुसन्धान अघि बढाएर ९ जनालाई गिरफ्तार गरेको थियो । अदालतले यही शनिबार सात अभियुक्तलाई रिहा गर्दै कालु र कान्हालाई दोषी ठहर गरेको हो ।

सफाइ दिइएका सात अभियुक्तमध्ये दोषी कालु र कान्हाकी पत्नी, आमा र बहिनी छन् । दुवै दोषीलाई फासीको सजाय सुनाइएपछि मृतक नाबालिगकी आमाले अदालतबाहिर सञ्चारमाध्यमलाई भनिन्, ‘अब हामीलाई न्याय मिलेको छ ।’

दोषीलाई सजाय मिलेपछि पूर्व मुख्यमन्त्री अशोक गहलोतले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अगस्ट २०२३ मा भिलवाडाको कोटडीमा बालिकामाथि बलात्कार र हत्याको मामिलामा अदालतबाट दोषीलाई मृत्युदण्डको सजाय सुनाइनु स्वागतयोग्य छ ।’

करिब एक महिनामै यस केसको मुद्दाको फाइल तयार गरिएको थियो । अब करिब १० महिनापछि यस प्रकरणका दुईजना दोषीलाई फासीको सजाय सुनाइएको हो ।

इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू

काठमाडौं– इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’ विषयअन्तर्गत १०औँ विश्व पानी सम्मेलन औपचारिकरूपमा सुरू भएको छ ।

सम्मेलनमा विश्वका धेरै देशका नेता तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको छ । दशौँ विश्व पानी सम्मेलनले जल संरक्षण, स्वच्छ पानी र सरसफाई, खाद्य र ऊर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहने बताइएको छ । सम्मेलनका अवसरमा बोल्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०५० सम्ममा विश्वको खाद्यान्नमा ८० प्रतिशत योगदान गरेपनि ५० करोड साना किसानहरू खडेरीको चपेटामा पर्ने अनुमान गरेका छन् ।

विश्व जल परिषद्का अध्यक्ष लोइक फाउचोनले पनि पानीले मानिसहरूलाई एकजुट गर्ने तर पृथ्वीलाई मानिसहरूले क्षति पुर्‍याएका कारण धेरै स्थानमा पानीको अभाव बढ्दै गएको बताए।

मानव बेचबिखनको अभियोगमा एक जना पक्राउ

काठमाडौं- काठमाडौं, वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिबचोकबाट पक्राउ गरेको हो ।

पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रुपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाइदिने भनी काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ब्युरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

भारतमा लोक सभा चुनाव : पाँचौ चरणमा ३६.७३ प्रतिशत मतदान

नयाँदिल्ली– भारतमा लोक सभाका लागि सोमबार गरिएको पाँचौ चरणको मतदानमा औसत ३६.७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार लद्दाखमा सबैभन्दा बढी ५२.०२ प्रतिशत, पश्चिम बंगालमा ४८.४१ प्रतिशत, झारखण्डमा ४१.८९ प्रतिशत, उत्तर प्रदेशमा ३९.५५ प्रतिशत, उडिसामा ३५.३१ प्रतिशत, जम्मु काश्मिरमा ३४.७९ प्रतिशत, बिहारमा ३४.६२ प्रतिशत र महाराष्ट्रमा २७.७८ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार पाँचौं चरणको मतदानमा चार करोड ६९ लाख पुरुष, चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिङ्गीसहित आठ करोड ९५ लाखभन्दा बढी मतदाताले ६९५ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

पाँचौं चरणमा विभिन्न निर्वाचन क्षेत्रमा राहुल गान्धी, भाजपा नेता राजनाथ सिंह, स्मृति इरानी, राजीव प्रताप रुडी, पीयूष गोयल, उज्ज्वल निकम, करण भूषण सिंह, एलजेपी (रामविलास) प्रमुख चिराग पासवान, जेकेएनसी प्रमुख उमर अब्दुल्ला र राजद नेता रोहिणी आचार्य चुनावी सफलताको खोजीमा छन् । यो चरणमा बिहार, जम्मू–कश्मीर, लद्दाख, झारखण्ड, महाराष्ट्र, उडिसा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुँदैछ ।

मुम्बई, ठाणे र लखनउजस्ता शहरहरूमा विगतमा मतदानमा शहरी उदासीनताको सामना गर्नुपरेको थियो ।

कुल ४९ लोकसभा सदस्यका लागि निर्धारित सीटमध्ये उत्तर प्रदेशका १४, महाराष्ट्रका १३, पश्चिम बंगालका सात, बिहारका पाँच, झारखण्डका तीन, उडिसाका पाँच, जम्मू–कश्मीर र लद्दाखका एक–एक सिट छन् ।