जोडिनुहोस

इरानी राष्ट्रपति र विदेशमन्त्रीको निधनमा नेपालले भन्यो : अत्यन्त दुःखी छौँ

काठमाडौं– नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ- ‘हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा। हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।’ परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ ।

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्‍वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।

पक्राउमध्ये धनेश्‍वरले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रुपैयाँ, सिकेन्दरले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ र भविन्द्रनाथले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धनेश्‍वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् ।

सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिमा केन्द्रित भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका हुन् ।

उनले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-

राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्‌मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारवाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।

गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्‍मा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारवाही होस् । राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ ।

शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार

काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा गरेसँगै शेयर बजारमा उछाल आएको छ । सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ ।

आज नेप्से १.३३ प्रतिशतले बढेर २०९२ विन्दु कायम भएको छ । आज नेप्सेले २१०० विन्दु पनि पार गरेको छ । तर नेप्से बन्द हुँदा भने नेप्से करिब २१०० विन्दु मात्र कायम भएको छ । आज साढे ५ अर्ब भन्दा बढीको कारोबार भएको छ । सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक किनबेच भएको छ ।

आज ३१५ कम्पनीको शेयर कारोबार हुँदा १३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स ७.१३ अंकले, फ्लोट इन्डेक्स २.११ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८० अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी वाणिज्य बैंकमा लगानीकर्ता बढी खरिद गरेका छन् भने निजीवन बीमाका लगानीकर्ताले बढी बेचेका छन् । आज वाणिज्य बैंक समूह ४५.२० अंकले बढेको छ भने निर्जीवन बीमा ५६.०९ अंकले घटेको छ । सोमबार सामुदायिक लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर र नेरुडे मिरमिरे लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

एनआईसी एशिया बैंकको शेयर मूल्य पनि ९.०६ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी उपकार लघुवित्तको शेयर घटेको छ । उपकारको शेयर ७.४० प्रतिशतले घटेको छ ।

दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, २ जनाको मृत्यु

सुर्खेत- दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ।

सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा पनि २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् एसपी रुपेश खड्काले दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

उनकाअनुसार अहिले प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको छ। दुर्घटनामा घाइतेहरुको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णालीय कियरमा भर्ना गरिएको छ ।

गृहमन्त्रीले भने : कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरणमा छानबिन हुन्छ

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदिएको बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिनिधि सभामा बोल्ने क्रममा आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण दिए । समाचारमा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरुमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ ।

लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए । उनले सहकारी प्रकरणमा समिति बनाउन कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिने टिप्पणी गरेका छन् ।

आफ्नो तेस्रो कार्यकालको १६ महिनाभित्र सोमबार चौथो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकाहरूले सोधेका थिए, ‘कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो ?’

त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो कुराको नतिजा आगामी चुनावमा देखिने बताएका छन् । पटक पटक विश्वासको मत लिने अवस्थाबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि यस्तो घटनाक्रम रहेको बताए ।

उनले विश्वका कयौँ देशमा पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका छन् । उनले १५७ मतसहित आफू नेतृत्वको सरकारको सुरक्षा गर्न सफल भएका छन् ।

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रूपन्देही रोहिणी गाउँपालिका-४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिबचोकबाट पक्राउ गरेको हो । पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रुपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पठाइदिने भनी काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

इरानी राष्ट्रपति रायसीको मृत्युप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली– युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलंका, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र संगठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको बताएका छन् ।

राष्ट्रपति सी चिनफिङले भने, ‘इरानी राष्ट्रपति रायसीको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको छ र चिनियाँ जनताले एक असल मित्र गुमाएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले एक जना ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताए ।

पुटिनले भने, ‘रायसी एक उत्कृष्ट राजनीतिज्ञ थिए। उनको सम्पूर्ण जीवन आफ्नो मातृभूमिको सेवामा समर्पित थियो ।’

पुटिनद्वारा जारी शोक वक्त्रव्यमा भनिएको छ, ‘रूसको एक सच्चा मित्रको रूपमा उनले हाम्रो देशसँग एक असल छिमेकीको सम्बन्धको विकासमा व्यक्तिगतरूपमा उहाँले अमूल्य योगदान गरेका थिए ।”’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

‘उनको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना छ,’मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । ‘दुःखको यस घडीमा भारत इरानको साथमा रहनेछ ।”

भारत र इरानबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । अमेरिकी प्रतिबन्धका बावजुद पनि विश्वको प्रमुख अर्थव्यवस्था भारतले इरानबाट धेरै वर्षदेखि ठूलो मात्रामा तेल आयात गर्दै आएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचारले आफू स्तम्भ भएको बताए ।

“राष्ट्रपति रायसी र उनका साथीहरूको मृत्युप्रति शोक व्यक्त गर्न र इरानको राष्ट्रिय शोकको यस घडीमा ऐक्यबद्धता जनाउन पाकिस्तानले सोमबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

‘उक्त दिन पाकिस्तानले आफ्नो राष्ट्रिय झन्डालाई आधा झुकाउनेछ’ शहबाजले ट्वीटरमा लेखेका छन्

चट्याङ लागेर ७२ भेडा मरे

किमाथांका– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाँईले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिए। रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाँईले बताए ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

आठ वर्षमा पनि बनेन बागलुङ र पर्वत जोड्ने पुल

ढोरपाटन– बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । विसं २०७३ असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो ।

कालीगण्डकी नदीमाथि बन्न थालेको एक सय मिटर लामो मोटर गुड्ने पुल रसुवारश्री गीतारफेवा जेभीले पटकपटक म्याद थप गरे पनि हालसम्म काम पूरा गर्न सकेको छैन । पुल निर्माणका लागि रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ को लागतमा सम्झौता भएको थियो ।

आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो । अझै पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुनै बाँकी रहेको जिल्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार हालसम्म पुलको भौतिक ८२ र वित्तीय ८६ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म सक्ने उनको भनाइ छ ।

इञ्जिनियर अधिकारीले भने, ‘यो पुल पहिले नै सकिनुपर्ने हो, निर्माण कम्पनीले विभिन्न समस्या देखाएर अहिलेसम्म काम सकेको छैन, अहिले काम गरिरहेको छ, आगामी असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको छ, धेरैपटक म्याद थप गरेको हुँदा यसपटक सक्छ भन्ने अपेक्षा छ ।’

पुलले कालीगण्डकी करिडोरसँग पर्वतको फलेबासलाई जोड्छ । समयमै पुल निर्माण भएमा बागलुङको दक्षिण जैमिनी र बरेङ क्षेत्रका नागरिकलाई गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने मोटरबाटोको दूरी छोटो हुने स्थानीय महेन्द्र खत्रीले बताए । काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनुपर्ने उनको भनाइ छ ।

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले पुल निर्माणमा लामो समयदेखि ढिलाइ भएको भन्दै निर्माण कम्पनीलाई तीव्रगतिमा काम गर्न आग्रह गरेको बताए। पुलको कामलाई सहज बनाउनका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उनको भनाइ छ । यो पुल बने दक्षिण बागलुङ क्षेत्रको मुहार फेरिने उपप्रमुख शर्माले बताए।

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौं- जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्‌मा सभामुखको भूमिका सन्तोषजनक
नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै केसीले संसद्‌मा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् । प्रतिपक्षीले विरोध गरिरहेको बेला संसद् सञ्चालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन् ।