जोडिनुहोस

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपरेको हो ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली (तनहुँ) । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका थिए ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्ने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै बिहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन रमाइलो गरी बित्नेछ। आफ्नो प्रयासको उचित मूल्याङ्कन हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। पारिवारिक मेलमिलापले सामाजिक सेवा गर्ने मौका मिल्नेछ।

वृषः खर्च बढ्ने दिन छ। सकेसम्म खर्च कटौती गर्नु राम्रो हुनेछ। लगानीका अवसर धेरै भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुने दिन छ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कटः आम्दानीका स्रोत धेरै भए पनि निर्णय क्षमतामा देखिएको कमजोरीले सोचेजस्तो फाइदा नहुनसक्छ। तपाईंलाई अगाडि बढाएर बाटोमा अलपत्र पार्ने साथी सक्रिय भएकाले संगत गर्दा विवेक पुर्याउनु राम्रो हुनेछ। आफन्तबाट धोका हुने जोखिम छ। ठुला उद्योग धन्दामा लगानी नगर्नु राम्रो हुनेछ।

सिंहः योजना गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुनेछ। परिवारको सुझाव लिएर सुरुवात गरेको कामले फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ।

कन्याः दिन रमाइलो छ। भौतिक सुख प्राप्त हुनेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथले व्यापार बढ्नेछ।

तुलाः आज अधुरा काम पूरा हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधारका संकेत देखिनेछन्। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

वृश्चिकः आफ्नो महत्त्व बुझ्न नसक्दा समस्या बढ्ने देखिन्छ। लगानीका क्षेत्रमा अगाडि बढ्नु भन्दा भएको सम्पत्ति जोगाउन सक्रिय हुनुपर्नेछ। साथीले नै आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

धनुः दैनिकी रमाइलो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

मकरः दैनिकी सहज हुनेछ। आफन्तको साथ पाइने योग छ। श्रम गरेको ठाउँबाट सन्तुष्टि मिल्नेछ। सामाजिक क्षेत्रमा विवाद हुने जोखिम रहेकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। शिक्षाको लगानीले उत्साह थप्नेछ।

कुम्भः चन्द्रमा भाग्यको स्थानमा पुगेकाले पूर्व योजना सफल हुनेछन्। चुनौती आए सामना गरेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। कुनै पनि योजना परिवारबाट नलुकाउनु राम्रो हुनेछ।

मीनः साढेसाती शनिको सुरुवात भएको छ। यसबाट जोगिन थोरै भए पनि दान गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध उत्साहपूर्ण बन्नेछ भने प्रेम सम्बन्ध सुमधुर हुनेछ।

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ।

बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए ।

उनीहरूले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रीकरण गरी उत्पादन आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गरे । उनीहरूले दीर्घकालीन रूपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातिको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिए ।

यसै गरी सवारी चालक अनुमति पत्र लिने प्रक्रिया सहज बनाउन, प्रविधिको प्रयोग गरी राजस्व सङ्कलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन पनि उनीहरूले आग्रह गरे ।यस्तै काठमाडौं उपत्यकाको फोहरलाई नुवाकोटको बन्चरे डाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उनीहरूले चिन्ता व्यक्त गरे ।

बैठकमा प्रदेश सभाका सदस्य डा दिनेशचन्द्र देवकोटा, लक्ष्मी घिमिरे, बसन्तमान मानन्धर, रामप्रसाद ढुङ्गाना, इन्द्र सापकोटा, राजु विष्ट, प्रभात तामाङ, इन्द्रप्रसाद गोतामे, मधुकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, डम्बर तामाङ, रमेशकुमार महत, देवेन्द्र श्रेष्ठ, रामकुमार पहाडी, हरिशप्रसाद सापकोटा, आशा लामा, भुवन केशरी श्रेष्ठ, सूर्यचन्द्र लामिछाने, इन्द्र चौलागाईँ, कन्चनबादे श्रेष्ठ, तीर्थ लामा, मायादेवी शर्मा, राजेन्द्र प्रजापति र सुष्मा भुजेल न्यौपानेलगायतले सुझाव प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर लमजुङमा एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चापाइले बताए।

प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेको थियो । लमजुङ अस्पताल बेँसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकिको प्रहरीले जनाएको छ ।

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । आज परिसूचक ४५ दशमलव ६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयर ७४ हजार नौ सय ९१ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २५ करोड १० लाख २५ हजार बराबरको कारोबार भएको छ ।

सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह चार दशमलव ३८ र निर्जीवन बीमा समूह तीन दशमलव ८१ प्रतिशतले बढेको छ । चार वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु १४ करोड ८० लाख ८३ हजार दुई सय ५७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फण्ड–२ को चार लाख २१ हजार दुई सय सात कित्ता शेयर किनबेच भएको छ ।

चट्याङमा परेर एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ ।

हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन् । विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका(९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए । खम्बा भाँचिदा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान विद्युत् प्राधिकरणको छ । विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु भन्दा केही बेर अगाडि देखि यो समाचार तयार पर्दा सम्ममा नेप्सेको सर्भर डाउन भएका कारण नेप्सेको कुनै पनि डाटा देखिएको छैन ।

नेप्सेका अनुसार नेप्सेको डाटा दिने सिस्टम र कारोबार गर्ने सिस्टम फरक फरक छ । डाटा दिने सिस्टममा पावर सप्लाई नभएकाले अहिले नेप्सेमा समस्या आएको नेप्सेका सुचना अधिकारी मुहारी पराजुलीले जानकारी दिए ।

‘डाटा दिने सर्भरमा समस्या आएको हो’, पराजुलीले भने, ‘अब केही बेरमा समस्या समाधान हुन्छ, अनि नेप्सेको डाटा देखाउँछ ।’

पराजुलीका अनुसार डाटा दिने सर्भरमा पावर कनेक्सन काटिएकाले समस्या आएको हो । अहिले नेप्सेले त्यो समस्या समाधान गर्ने लागिरहेको पराजुलीले बताएका छन् ।

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो । सोही आदेशमा टेकेर अध्यक्ष यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख २३ गते यादव नेतृत्वको जसपा विभाजन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सोमबारका दिन प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् सचिवालयलाई पत्राचार गरेका थिए ।जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको जसपाले जनाएको छ ।

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो । यसअघि आइतबार दिउँसो सवा १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक जेठ ७ गते सोमबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा आइपर्ने कार्य जटिलता हटाउन ऐन संशोधन गर्नुपर्ने बताएकी छन् ।

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्कालाई दोस्रो पटक अध्यक्ष पदमा नियुक्त गरेको हो । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षअघि अध्यक्ष हुँदादेखि नै नेपाली पत्रकारितालाई अगाडि बढाउन थुप्रै जटिलता रहेको बताउँदै आएको अध्यक्ष खड्काको भनाइ छ ।

ती जटिलता हटाउन सबैभन्दा पहिला १७ वर्ष पुरानो समितिको ऐनलाई संशोधन गर्नुपर्नेमा उनले जोड दिइन् । त्यस्तै, समितिले मिडिया अनुगमन गर्न पाउने तर, सुनुवाइ गर्न नपाउने ऐनगत व्यवस्थाले गर्दा प्रभावकारी काम हुन नसकेको अध्यक्ष खड्काले बताइन् ।

उनका अनुसार सीमित स्रोत र साधनमा समिति सञ्चालन गर्नुपर्दा थुप्रै कठिनाइ आएका छन् । ‘कानूनी जटिलता र सीमित स्रोतसाधनको समस्या हटाएर समिति अगाडि बढाउने योजनामा छु’, उनले भनिन्, ‘अनुगमन र सुनुवाइ दुवै अधिकार समितिमै हुनुपर्छ ।’