जोडिनुहोस

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै, बाँकेको खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष एक करोड ८७ लाख १३ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ ।

उनले भने ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ’ । भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो ।

भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ करोड ७८ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका सामग्री निर्यात भएको छ ।

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी जुलुस निकालेको छ ।

नेविसंघले आइतबार दिउँसो माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघले खास गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं – ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या सडक पेटीमा बस्ने समूहबाट भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार काठमाडौंको मनमैजुस्थित एक निर्माणाधीन घरमा हत्या गरिएका घिमिरे प्रकरणबारे पत्रकार सम्मेलन गर्दै ७ जनालाई सार्वजनिक गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका-१ घर भएका ३२ वर्षीय घिमिरेको शव शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

टोखा नगरपालिका-१० गोंगबु गणेशथानमा बस्दै आएका घिमिरे शुक्रबार ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा ड्युटी सकेपछि घर फर्किँदै थिए । त्यसक्रममा उनी तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा पसेर खाजा खाएका थिए । प्रहरीको अनुसन्धानका क्रममा उक्त होटलमा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए । त्यही क्रममा घिमरेले अञ्जलीलाई आँखा झिम्क्याएको घटना नै हत्यासम्मको रुप लिएको खुलेको हो ।

खाजा खाने क्रममा होटलमा भेटिएका सचिन परियार र ट्राफिक जवान घिमिरे पुराना परिचितसमेत थिए । घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको कुरालाई लिएर विवाद बढ्दै गएपछि घटना हत्यासम्म पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विवाद भए पनि सचिनले अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्‍याइदिन आग्रह गरेका थिए । त्यसपछि उनीहरू तीनैजना एकै मोटरसाइकलमा उक्त निर्माणाधीन घर भएको क्षेत्रमा पुगेका थिए ।

होटलमा भएको विवादको बदलास्वरुप सचिनले त्यहाँ रहेका अन्यको सहयोगमा ट्राफिक प्रहरी घिमिरेमाथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार उनलाई त्यहाँ रहेका अन्यलेसमेत घिमिरेले भिरेको बेल्ट अरु घरेलु हतियारले हानेर उनको ज्यान लिएको खुलेको छ ।

एसएसपी रजौरेले यो घटनामा भक्तपुरको चाँगुनारायण नगरपालिका-१ घर भइ बालाजु जरंखु, मनमैजुको सडकपेटी र बन्दै गरेका घरमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजुका सडकपेटी र निर्माणाधीन घरमामा १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजय चौतारी घर भई हाल बालाजु,जरंखु, मनमैजुका सडकपेटी रनिर्माणाधीन घरहरूमा २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्कीलाई पक्राउ गरेको छ ।

त्यसैगरी यो घटनामा संलग्न भएको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजय चौतारी घर भई बालाजु,जरंखु, मनमैजुका सडकपेटी र बन्दै गरेका घरहरूमा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय दोर्जे अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरे सार्वजनिक गरेको छ ।

यो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एकजना १३ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ । घिमिरेको हत्या प्रकरणमा अझै अनुसन्धान जारी रहेको एसएसपी रजौरले बताए । घिमिरेको हत्या हुनुमा लुटपाट पनि कारण हुन सक्ने आधारमा अनुसन्धान भइरहेको उनले बताए ।

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ ।

कुकुरले टोकेर हुने रेबीजको जोखिमका साथै कुकुरको बढ्दो सङ्ख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो । उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार शुक्रबारदेखि सुरु भएको बन्ध्याकरण शिविरबाट हालसम्म ९७ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । ‘सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबीज न्यूनीकरणका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भनिन् । नेपालगञ्जमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन् ।

पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताए । रेबीजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताए । नेपालगञ्जमा हुने विद्युत् अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उनको भनाइ छ ।

‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । बन्ध्याकरण कार्यक्रमका लागि रु छ लाख बढी खर्च हुने बताइएको छ ।

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको सफल सल्यक्रिया गर्ने ४ जना ह्याण्ड सर्जनहरुलाई सम्मान गरेको छ ।

ब्रेकेल प्लेक्सेस इञ्जुरी अर्थात १ सय वटा सफल सल्यक्रिया गरेको भन्दै एक कार्यक्रमका बिच डा. किरण किशोर नकर्मी, डा.लोकराज चौरसिया, पुष्कर पुडासैनी र प्रवेश सिंह भण्डारीलाई सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दैनेपालकै पहिलो ह्यण्ड सर्जन डा.किरण किशोर नकर्मीले हातको समस्यामा जटिल मानिने ब्रेकेल प्लेक्सेस इञ्जुरीको उपचारका लागि विगतमा भारत लगायत अन्य देशहरुमा जानुपर्ने वाध्यता रहेकामो अहिले नेपालमै राम्रो उपचार भइरहेको बताए ।

‘उनले भने अहिले यसको उपचार सिमित ठाउँमा मात्रै भइरहेको छ बिस्तारै सेवा बिस्तार गर्ने क्रममा छौं ‘। त्यस्तै डा.लोकराज चौरसियाले हातमा कुनै चोटपटक लाग्दा घाँटीको पछाडीको भागको नसा च्यापिएपछि र कहिलेकाहीँ सुत्केरी हुँदा बच्चालाई हातले तान्नुपर्ने अवस्था आयो भने तान्ने बेलामा ब्रेकेल प्लेक्सेसमा भएका नसाहरु ड्यामेज भएर हात नचल्ने समस्या हुन्छ । त्यस्तो अवस्थामा यो उपचार अहिले प्रभावकारी भइरहेको बताए ।

कार्यक्रममा उपस्थित फेक्ट नेपाल किर्तीपुरका डाइरेक्टर गौरी प्रधानले डा.भरत यादवले यस अस्पतालले लामो समयदेखी स्वास्थ्य सेवामा सुधार संगै नयाँ नयाँ सेवाहरु दिँदै आएको र आगामी दिनमा पनि नयाँ नयाँ सेवाहरु थप्ने योजनामा रहेको बताईन् ।

त्यस्तै अस्पतालका सर्भिस डाईरेक्टर प्रोफेसर डा. भरत कुमार यादवले नेपालमै ब्रेकेल प्लेक्सेर इञ्जुरीको सय वटा सफल सर्जरी गर्नु ठुलो उपलब्धी भएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले उपचारका लागि चाहिने उपकरणहरु खरीदमा सक्दो सहयोग गर्ने बताए । सम्मान कार्यक्रममा अन्य डाक्टरहरु युमा प्रधान, निजिता ताम्राकार रिंकु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा बोलाएको छ ।

बैठकमा पार्टीले उठाउँदै आएको हिन्द राष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जन वर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद समाधानको विषयमा छलफल हुने बताइएको छ ।बैठकमा समसामयिक परिस्थितिबारे छलफल गरिनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजनाबारे छलफल गरिनेछ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जबराले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने छ ।

काठमाडौं महानगरले शुरू गर्यो लोकसेवा तयारी कक्षा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।

गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो ।

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि हुनुहुन्छ । यस्तै १०५ जना शाखा अधिकृत पदका लागि रहेका छन् । आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए ।

नेपाल सरकारका पूर्व सचिव एवं कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, बौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे । तालिम संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ । तालिम संयोजक कर्णकाअनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ । तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० बर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ ।

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको हो । सत्ता साझेदार दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । कांग्रेसले समय मागेका कारण बैठक केही समयका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

‘विषगत रुपमा, बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस) ले केही समय मागेको छ । मेरो विचारमा एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ,’ बर्तौलाले भने ।

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् ।

जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका छन् । रुसी सेनाले युक्रेनको मोर्चालाई कमजोर बनाउने प्रयास गरिरहेको छ । जेलेन्स्कीले युक्रेनी सेनाको मनोबल कमजोर भएको र केही इकाइहरू पूर्ण रूपमा खाली भएको स्वीकार गरेका छन् ।

जेलेन्स्कीले युक्रेनसँग हाल सुरक्षाको लागि हुनु पर्ने हतियारको २५ प्रतिशत मात्र रहेको बताएका छन् । अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ र सैन्य सहायता पनि समावेश छ । पछिल्ला केही दिनमा रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जा गरेको दाबी गरेको छ । खार्किभका गभर्नरले पछिल्लो एक सातामा करिब १० हजार मानिस खार्किभ छाड्नुपरेको बताएका छन् ।

यद्यपी गभर्नरले युक्रेनी सेनाले स्थिति नियन्त्रणमा राखेको दाबी पनि गरेका छन् । जबकी जेलेन्स्कीले युक्रेनलाई मोर्चामा थप सैनिकहरू चाहिने बताएका छन् ।

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

राष्ट्रिय सभाको बैठक यसअघि दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको थियो । अब सो बैठक ३ बजेर १५ मिनेटमा बस्नेछ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसद्को बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि मिसिएका छन् ।

अहिले कार्यदलमा छानबिनको दायरा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिँदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुन नसक्ने बताउँदै आएको छ ।

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं– काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ ।

महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो । मापदण्ड विपरित बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने महानगरले जनाएको छ । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ ।

यस्तै शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।