जोडिनुहोस

गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ: सत्तापक्ष

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटेको छ ।

सत्ता पक्ष र प्रतिपक्षबीच यही सहमतका आधारमा समग्र सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन लागिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसद्‌मा गृहमन्त्री लामिछानेबारेको छानबिन समिति गठन हुने पक्का भएको छ ।

गृहमन्त्री लामिछानेले बिहीबारको संसद् बैठकमा बोलेपछि छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि तयार भएको एमाले नेताहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका संसदहरूले छानबिन समिति बनाएपछि कांग्रेसले पनि गृहमन्त्रीको राजीनामा नमाग्ने मोटामोटी सहमति भएको बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि छानबिन समिति बनेपछि गृहमन्त्री लामिछानेको राजीनामा नमाग्ने बताउँछन् । उनले भने, ‘हामीले राजीनामा मागेकै छैन । संसदीय छानबिन समिति बनाऊँ मात्रै भनेका हौँ ।’

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो ।

बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम ९३० बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ ।

उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ ।

सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ ।

सत्तारुढ दल समाजवादीको केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो। बिहीबार केन्द्रीय कमिटीका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सहकारी अपचलनमा गृहमन्त्री समेत संलग्न भएको विषय दुःखद भएको बताएको छ ।

सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ । यसमा गृहमन्त्री जोडिनु दुखद विषय हो ।’

राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुगेका छन् । मस्को र बेइजिङबीचको सम्बन्ध प्रगाढ बनाउन उनी बिहीबार बिहान आइपुगेका हुन् ।

राष्ट्रपतिको रूपमा नयाँ कार्यकाल प्रारम्भ गरेपछि पुटिनको यो पहिलो प्रतीकात्मक विदेश भ्रमण हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको उत्तर–पूर्वी खर्सिभ क्षेत्रमा रुसको आक्रमणका विरुद्ध आफ्नो सेनाले प्रतिरक्षा गरिरहेको बेला आगामी सबै अन्तर्राष्ट्रिय भ्रमणहरू रोक्ने घोषणाको केही घण्टापछि रुसी राष्ट्रपति पुटिन चीनको राजधानी बेइजिङ आइपुगेका हुन् ।

चीनियाँ राष्ट्रपति सी जीङपिङ र रुसी राष्ट्रपति पुटिनको बैठकमा रुस–युक्रेन द्वन्द्व, गाजा युद्धको छलफलसँगै दुई देशबीचको व्यापार, सुरक्षा र ऊर्जा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका छन् ।

सहकारी ठगी प्रकरणको आरोप सामना गरिरहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिन कांग्रेस लचिलए भएको अवस्थामा श्रममन्त्रीसमेत रहेका अर्यालले यस्तो बताएका हुन् । अर्यालले भने  अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने माग गरे ।

‘आरोप लागिसकेपछि पहिला हाम्रो एक पटक कुरा सुनियोस् । त्यसपछि समिति बनाउनुपरे बनाउँला । त्यसपछि हामी नै समितिको माग गर्न सक्छौँ कि !’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई गृहमन्त्रीलाई एक पटक संसद्‍मा बोल्न दिएर समिति बनाउने प्रस्ताव गरेका छन् ।

बिहीबार पनि उनले दोहोर्‍याएको यो प्रस्तावमा कांग्रेस लचिलो देखिएको छ । यसबारे कांग्रेसले संसदीय दलमा अनौपचारिक छलफल गरिरहेको सचेतक सुशीला थिङले बताएकी छन् ।

सभापति देउवा पनि प्रधानमन्त्रीको प्रस्तावमा लचिलो देखिएकाले बिहीबार अपरान्हदेखि संसद्‍ खुल्ने सम्भावना देखिएको छ ।

बैठक अवरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् ।

आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए । आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।

एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

काठमाडौं– इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना बनाएका छन् ।

युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म पाउन नसकेको ग्यालेन्ट बताउँछन् ।गालान्टले नेतान्याहुलाई इजरायलले गाजामा सैन्य शासन लगाउने कुनै मनसाय नभएको सार्वजनिक रूपमा घोषणा गर्न अपील गरेका छन्।

ग्यालेन्टले भने, ‘मैले अक्टोबरदेखि मन्त्रिपरिषद् बैठकमा यो प्रश्न उठाइरहेको छु, तर कुनै जवाफ पाएको छैन ।’ अर्को युद्ध क्याबिनेट मन्त्री, बेनी गान्ट्जले पनि गैलेन्टसँग सहमत भएका छन् । ‘गैलेन्टले सत्य भनेको छ’ ग्यान्ट्सले भने । कुनै पनि हालतमा देशको लागि जे सही छ त्यो गर्ने जिम्मेवारी नेतृत्वको हो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली कारबाहीका कारण गाजामा ३५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसद् खुलाउने कुरामा लचिलो भएको छ ।

सहकारी ठगी प्रकरणको आरोप लागिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिएर संसदीय समिति बनाउने कुरामा कांग्रेस लचिलो भएको हो । यससँगै संसद्मा जारी लगातारको अवरोध पनि खुल्ने सम्भावना बढेको छ ।

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएर समिति बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा लचिलो भएको कांग्रेसले आन्तरिक छलफल थालेको छ । यता बिहीबार बिहान ११ बजेका लागि डाकिएको संसद् बैठक पनि अपरान्ह ४ बजेसम्मलाई सारिएको छ ।

प्रधानमन्त्रीले लामिछानेलाई बोल्न दिएर समिति बनाउने प्रस्ताव राखेपछि कांग्रेस लचिलो भएको हो । यसबारेमा आवश्यक निर्णय र रणनीति तय गर्न अहिले कांग्रेस संसदीय दलमा अनौपचारिक छलफल भइरहेको प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई बताए ।

‘म पनि बैठकमा जाँदै छु । प्रधानमन्त्रीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाऊँ भन्नुभएको छ । सभापति शेरबहादुर देउवा पनि यसमा लचिलो भएकाले अरू साथीहरूको राय लिन बैठक बस्दैछौँ’, लेखकले भने ।

सरकारको नीति तथा कार्यक्रम पनि टेबल हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले लामिछानेलाई बोल्न दिएर संसदीय समिति गठनको मध्यमार्गी विकल्प कांग्रेससँग राखेका हुन् ।

लेखकले अगाडि भने, ‘एक पटक गृहमन्त्रीलाई बोल्न दिऊँ, अनि समितितिर जाउँला भनेर सभामुख र प्रधानमन्त्रीले सभापतिलाई भन्नु भएको छ ।’

मन्त्री भण्डारीले गरे बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन् ।

उनले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गरे। मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवर्द्धन गरी आयआर्जन तथा गरिबी न्यूनिकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताएका छन् ।

मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको बताए।

उनले भने, ‘यसै सन्दर्भमा, बैतडीमा प्रशस्त सम्भावना बोकेका वस्तुको विकास, प्रविधि हस्तान्तरण, मूल्य शृङ्खला विकासमा काम गर्न मन्त्रालयले कार्य प्रारम्भ गरेको छ ।’

नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपुर्ति घरेलु उत्पादनबाट हुन नसकेको बताए। अन्तर्राष्ट्रिय बजारको मागअनुसार कफी निर्यात गर्न नसकिएको उनको भनाइ छ ।

युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफीखेती शुभारम्भ गर्ने कार्यक्रमअन्तर्गत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ । बैतडीबाट यस कार्यक्रमको सुरुआत गरिएको र देशका अन्य जिल्लामा पनि यो कार्यक्रमको थालनी गरिने जनाइएको छ ।

म्याग्दीको दरबाङ सडक कालोपत्र

गलेश्वर– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको उपल्लो बजारमा ढल निकासको पक्की नालीसहित सडक कालोपत्र गरिएको छ ।

विसं २०६३ मा ट्रयाक खुलेको र बेनी–दरबाङ सडकसँग जोडिएको यो सडकले दिच्याम र उपल्लो दुखुलाई जोड्छ । मालिका गाउँपालिका–६ दरबाङको आवासीय क्षेत्रसमेत रहेको उपल्लो बजारको बाटो कालोपत्र भएपछि गाउँको सौन्दर्य बढेको छ ।

पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी-दरवाङ सडकमा जोडिने उपल्लो दरबाङ बजारको सडक कालोपत्र गरेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-०८१ मा रु ६५ लाख बजेट विनियोजन गरेपछि सडक कालोपत्र गरिएको हो । दुई सय ५० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय ५० मिटरमा पक्की नाला निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सव इन्जिनियर रवीन चोखालले बताए।

यसअघि मालिका गाउँपालिकाले यस सडकका यसअघि नै करिब चार सय मिटर पक्की नाली निर्माण गरेर ढल व्यवस्थापन गरिसकेको छ । यसैगरी म्याग्दीमा चालु आवमा १६ किलोमिटर सडक कालोपत्र गर्ने को लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव २ किलोमिटर सडक कालोपत्र र आरसिसी र पिसिसी ढलान गर्न लागेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार, चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए।

उहाँका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० वटा योजना रहेकोमा ११ वटा आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकोमा चार वटा ठेक्काको मूल्यांकन चरणमा छन् । सालबसाली २३ वटा योजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सात वटा सालबसाली योजना सम्पन्न भइसकेका छन्भने चार वटा आयोजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ वटा आयोजना चालु रहेका छन् ।

चालु आवमा कूल रु ७१ करोड ३७ लाख बजेट विनियोजन भएको कार्यालयले फागुन मसान्तसम्म रु आठ करोड ९३ लाख ४३ हजार बजेट खर्च गरेको छ । गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ दशमलव दुई किलोमिटर कच्ची सडक निर्माण भएको थियो ।

देउवाको तर्क- ओलीले गिरीबन्धु टि-स्टेटको जग्गाबारे आफूले निर्णय गरेर कांग्रेसमाथि आरोप लगाए

काठमाडौंं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-स्टेटको जग्गाबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले निर्णय गरेर कांग्रेसमाथि आरोप लगाएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस तथा २६ औँ केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै बिहीबार उनले गिरीबन्धु टि-स्टेटको जग्गाबारे आफूले निर्णय गरेर अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको बताएका हुन् ।

‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरीबन्धु टि स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर,’ सभापति देउवाले भने, ‘आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली जस्तो नेताले यस्ता अभिव्यक्ति दिन नसुहाउने देउवाले बताए । ‘त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन,’ सभापति देउवाले भने, ‘आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ।’