जोडिनुहोस

कांग्रेससँग जुटेन सहमति, संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफल भएसँगै बैठकको समय धकेलिएको हो । यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।सभामुखको सचिवालयका अनुसार सहमति जुट्ने सम्भावना नदेखिएपछि बैठक अपरान्हसम्मलाई सारिएको हो ।

यसअघि सभामुख घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तबाट नडराउने बताएका छन् ।

प्रजातानित्रक विचार समाजको स्थापना दिवस तथा २६औँ केन्द्रीय साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले ओलीको अभिव्यक्तिबाट कांग्रेस नडराउने बताए । ‘नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्कीबाट नेपाली कांग्रेस डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ उनले भने ।

अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न चेतावनी दिएका थिए । नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नभनेको जिकिर गर्दै संसद अवरुद्ध पार्नुको कारणसमेत बताए । ‘हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरोध गरेको छ ।

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा नाराबाजी गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ४० हजार रुपैयाँ र १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।, साथै चाँदीमा पनि प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम भएको छ ।

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ‘ह्वीप’

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएका हुन् ।

मंगलबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफल अघि बढ्न नदिने कांग्रेसको अडान छ ।

मंगलबार नै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नहुँदासम्म सरकारका कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको थियो ।

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई

काठमाडौं– सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक बस्न ढिलाइ भएको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो ।

सभामुखको सचिवालयका अनुसार सभामुखले केही बेर अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी समेत गरेका थिए । अहिले पनि संसद् खुलाउन प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही बेर बैठक ढिलो भएको सभामुख घिमिरेको भनाइ छ ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए । सभामुखले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा कांग्रेस मुछिएको भन्दै प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको छ ।

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा जडान गरिएका छन् ।

त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।

गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । करिब ९० करोड कूल लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताए ।

यहाँ ५५ घरपरिवारसँगै समुदाय र विद्यालयमा पनि एक÷एक वटा धारा जडान गरिएको छ । सात किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पु¥याइएको छ । यहाँ रहेका २३ घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ ।

गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको चरणमा रहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिइन् । वडा नम्वर १ को चौकीडाँडा र वडा नम्बर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानीको योजना कार्यान्वयनमा रहेको उनको भनाइ छ ।

वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएकामा प्रशन्नता प्रकट गर्दै आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर उठाउन आफ्नो संस्था क्रियाशील रहेको बताइन् ।

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।

युक्रेनको सेना जीवन बचाउन र क्षतिबाट पूर्वी क्षेत्र बच्न लुक्यान्सी र भोभचान्स्कबाट फिर्ता भएका छन् । रूसी सीमाबाट मात्र ५ किलोमिटर र खार्किव शहरबाट ५० किलोमिटर टाढा रहेको शहरमा रुसले आक्रमण बढाएको छ ।

युक्रेनी–रूसी सेनाले भोभचान्स्कको सडकमा लडाइँ गरेका थिए । शहरको गस्ती प्रहरी प्रमुख ओलेक्सी खार्किभ्स्कीले रुसी सेनाले सहरमा अवरोध गरिरहेको बताएइएको छ ।

रुसले शुक्रबार युक्रेनको उत्तरी सीमामा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि जवाफी आक्रमणको कुरा गरेका छन् । युक्रेनको उत्तरी सिमानामा रुसले आक्रमण गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन तर रुसले युक्रेनको रुसमाथिको आक्रमणलाई नियन्त्रण गर्नका लागि बफर जोन बनाउन चाहेको अनुमान गरिएको छ ।

युक्रेनी गाउँहरू कब्जामा लिएर रुसका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले नौवटा गाउँ मुक्त गरेको बताए। युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीले उत्तरी सीमामा रहेको खार्किभको अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएका छन् ।

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदरावादमा हुने खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ । जारी आईपीएलमा सनराइजर्स १२ खेलबाट १४ अंकसहित चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुनेछ ।

यस्तै, गुजरात भने प्लेअफको दौडबाट बाहिरि सकेको छ । पछिल्लो पटक कोलकोताविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अंकका साथ आठौँ स्थानमा छ ।

गुजरात शुभमन गिल र सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेलिरहेका छन् ।

पार्टी विभाजनको भण्डाफोर गर्न जसपा नेपालको देशभर परिपत्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा तल्ला तहसम्म भण्डाफोर गर्न परिपत्र गरेको छ।

केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै जसपा नेपालले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकस्मात् सत्ता र शक्तिका लागि गरिएको विभाजन धोकापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न भनेको हो।

पार्टीले विभाजन गर्नेहरूको भण्डाफोर गर्न परिपत्र गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनले भने, ‘यो विभाजनले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी जस्ता मुद्दालाई कमजोर बनाउने काम भएको छ। मधेसी, आदिवासी जनजाति, दलित, थारू, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत केन्द्रीय समिति बैठकको निष्कर्ष छ ।’

बस्नेतले कहिल्यै पनि सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरूमा समेत मतभेद नरहेको अवस्थामा अकस्मात् पार्टी विभाजन गर्ने काम धोकापूर्ण रहेकाले यसको भर्त्सना गरौँ भनेर परिपत्र गरिएको बताए ।

बैठकले पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न समेत आह्वान गरेको उनको भनाइ छ ।

मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवस मनाउँदैछ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

एमालेले आज बिहान ७ः४५ बजे मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ ।

जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहनुभएको थियो । पछि २०६० सालमा लामाको हत्या भएको थियो । लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् ।

पाल्पामा जिप दुर्घटनाः बालकसहित दुई जनाको मृत्यु, १३ जना घाइते

पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं।४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं।४ का ६ वर्षीय राजिव सुनारी र वडा नम्बर ४ का २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो । उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।