जोडिनुहोस

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः खर्च बढ्नेछ। बोलीको प्रभावले अवसर सिर्जना हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः गुरुको सहयोगले सफलता मिल्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ।

कर्कटः आम्दानीको स्रोत बढ्नेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। लगानी गर्न आँट गरेमा सफलता प्राप्त होला। परिवारको सहयोग भए व्यापारमा फाइदा हुन्छ। शिक्षामा सफलता मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। विदेश यात्रा सफल बन्नेछ। राजनीतिमा खटपटी हुनसक्छ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। परिवारभित्र मेलमिलाप हुनेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्ने देखिन्छ।

कन्याः श्रम गर्दै हुनुहुन्छ भने मेहनत आवश्यक देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। आम्दानी बढ्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने वैदेशिक क्षेत्रमा झुक्याउने मान्छे धेरै भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

तुलाः दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिकः गुरुको साथ र सहयोग प्राप्त हुनेछ। साथी सकारात्मक भएकाले दिन रमाइलो हुनेछ। लगानी भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

धनुः जीवन सहज बन्नेछ। आम्दानीका क्षेत्र धेरै देखिन्छन्। शेयर कारोबारमा फाइदा हु्ने योग छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः काम गर्ने ठाउँमा विवाद हुनसक्छ। आफन्तबाट काममा अवरोध हुने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्ने देखिन्छ।

कुम्भः मन भारी हुनेछ। आफूले गरेका राम्रा कामको जस अरुले लिनेछन्। तपाईंले मेहनत गरे पनि फाइदा अरुले लिने देखिन्छ। उद्योग धन्दामा ठुलो लगानी नगर्नु राम्रो हुनेछ।

मीनः संघर्षपूर्ण समय छ। जति काममा व्यस्त भए पनि आम्दानी घट्ने समय छ। कुरा काट्ने सक्रिय छन्। लगानीका क्षेत्र सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

गृहमन्त्री समक्ष इप्पानको माग; ऊर्जा सुरक्षा नीति बनाऔँ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधवार गृह मन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन् । कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरु प्रतक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।

भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताए ।मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ति र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधैँ सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे । गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्की सहित उपाध्यक्ष राम प्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए ।

ओली-प्रचण्ड भेटेपछि रविले भने ; कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले लगाएको सहकारी ठगी आरोपबारे संसद्‍मा बोल्न पाउनुपर्ने अडान दोहोर्‍याएका छन् । बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि लामिछानले संसद्‍मा बोल्न पाउनुपर्नेबारमै छलफल भएको बताए । लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैलाई हुने बताउँदै लामिछानेले आफूमाथिको आरोपको जवाफ सदनबाटै प्रष्ट पार्न पाउनुपर्ने कुरा दोहोर्‍याए ।

यदि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने रास्वपा सभापति लामिछानेले बताए। सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज आइसकेको अवस्थामा बोल्न पाउनुपर्नेबाहेक अरु कुनै माग नरहेको पनि बताए । कांग्रेसले बर्षे अधिवेशनमा पनि सदन अवरुद्ध गरिरहेको छ । प्रधानमन्त्रीले बुधबार पनि ओली र लामिछानेलाई सिंहदरबारमा डाकेका थिए । एमालेले बुधबार बसेको संसदीय दलको बैठकबाट कांग्रेसले एकतर्फी कुरा राखिरहे नस्वीकार्ने, प्रतिरोध थाल्ने जनाइसकेको छ ।

गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले

गत प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा गरेर चर्चामा आएका डा.निकोलस भुसालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग माफी मागेका छन् । बुधवार गृह मन्त्रालय पुगेर उनले अघिल्लो दिन आफू पक्राउ परेपछि मन्त्री लामिछानेलाई गाली गलौच गरेकोमा आत्मग्लानि महसुस गरेर माफी माग्न आएको बताए ।

गृह मन्त्रालयको ढोकामा उनले माफी मागे पनि गृहमन्त्री लामिछानेले लोकतन्त्रमा बोल्न पाइने भन्दै माफी माग्न आवश्यक नभएको बताए । भुसालले लामिछानेलाई भने– ‘मैले हिजो तपाईँको बारेमा धेरै नचाहिँदो बोलेँ, त्यसका लागि सरी भन्न आएको । अलि दुःख लाग्यो ।’ जवाफमा लामिछानेले भने– ‘केही छैन, लोकतन्त्रमा बोल्न पाइहालिन्छ नि । प्रहरीले आफ्नो काम गर्छ, देशै भरको प्रहरीलाई यसलाई समात, उसलाई नसमात भन्न मिल्दैन, उसको सिस्टमले समाउने हो । मैले नचाहिँदो काम नगर्नुस् भन्ने मात्र हो । केही छैन, तपाईंले सरी भन्नुपर्दैन, तपाईंको हौसला बुलन्द राख्नुस्, राम्रो काम गर्नुस्, अन्यायको विरुद्ध बोल्नुस्, न्यायको पक्षमा बोल्नुस्, राम्रो मान्छेलाई साथ दिनुस्, आवेग र उत्तेजना भन्दा पनि राम्रो कुरालाई छुट्टाउने प्रयास गर्नुस् । केही छैन तपाईंलाई सधै शुभकामना छ ।’

सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्दै सर्वोच्च अदालतमा धर्ना बस्न थालेपछि सोमबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले रवि लामिछानेलाई गालीगलौज गर्दै राजीनामा मागेका थिए ।

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार

भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात जनालाई निम का थाना जिल्लामा उद्धार गरिएको एक अधिकारीले बताएका छन् । अधिकारीका अनुसार बुधबार बिहान तीन जनालाई उद्धार गरिएको थियो भने हालसम्म उद्धार गरिएमा व्यक्तिको सङ्ख्या १० पुगेको छ । यसैगरी खानीमा फसेका बाँकीलाई निकाल्ने प्रयास भइरहेको छ ।

“घटनास्थलबाट १० जनाको उद्धार गरिएको छ, पहिलो स्लटमा तीन जनालाई खानीबाट बाहिर निकालिएको छ, पाँच जनाको उद्धार गरिएको छ, दोस्रो र तेस्रो स्लटमा थप दुई जनालाई बाहिर निकालिएको छ”, निम का थानाका प्रहरी उपरीक्षक प्रवीण नायकले भने।

झुनझुनु सरकारी अस्पतालका डा प्रवीण शर्माले सबै मानिस सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई जयपुर पठाइएको छ । केही घाइतेको हात र केहीको खुट्टा भाँच्चिएको छ ।

कोलिहान खानीमा लिफ्ट खसेपछि कम्तीमा १४ जना खानीभित्र फसेका छन् । घटना मंगलबार राति निम का थाना जिल्लामा हिन्दुस्तान कपर लिमिटेडको तामाखानीमा भएको हो । लिफ्टमा कोलकाताको सतर्कता टोली र खानीका अधिकारीहरू पनि थिए । लिफ्ट खानीभित्र एक हजार आठ सय फिटभन्दा तल खसेको अनुमान गरिएको छ । लिफ्टलाई समर्थन गर्ने डोरी चुँडिएका कारण यो घटना भएको हो ।

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपलाई राहत दिने गरी फैसला सुनाएका हुन् । फैसालअघि अन्तिम निर्णयका लागि न्यायाधीशहरूले इजलासमै सीसीटीभी फुटेज हेरेका थिए । इजलासमा फुटेज बजाउन समस्या भएपछि उच्च अदालत प्रशासनले बाहिरबाट प्राविधिकसमेत झिकाइएको थियो । यसअघि २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीशले पनि सन्दीपलाई बलात्कार प्रकरणमा दोषी ठहर गर्नुअघि उक्त सीसीटीभी फुटेज इजलासमै हेरेका थिए।

न्यायाधीशद्वयले आजै फैसला दिने गरी दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका थिए । यसअघि यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरेका थिए ।

उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाएका थिए । पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूले जिल्लाको सजाय अझै कम भएको जिकिर गरेका थिए ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।

यो मुद्दामा गौशाला २६ ले पनि पुनरावेदन गरेकी थिइन् । यस्तोमा दुवैले आफ्नो पक्षबाट कुरा राखेका थिए । यो मुद्दामा उच्चले सफाइ दिएपछि सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ । यदि उच्चले पनि जिल्लाकै फैसला सदर गरिदिएको सन्दीपका लागि अन्तिम अदालतको निर्णय कुर्ने विकल्प मात्रै हुने थियो । यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई एकजना युवतीलाई गौशालाको होटलमा बलात्कार गरेको भन्दै दोषी ठहर गरेको थियो ।

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुई पक्राउ

भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ। राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो। कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरुको गुनासो छ। मंगलबार दिल्लीस्थित नेपाली दुतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो। उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्नभन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए। उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए। नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको उनको भनाइ छ। त्यस्तै धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसा सबै खोसेर राखेको बताए। काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनको भनाइ छ। झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दुतावास, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरुलाई उद्धार गरी दिल्ली लगिएको छ। घटनामा संलग्न दुई जना अभियुक्तलाई पक्राउ गरिएको छ। नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो। सामाजिक अभियन्ता सरोज रायले उनीहरूलाई उद्धारको पहल गरेका थिए। सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए। उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ। घटनामा संलग्न मुख्तकिम आलम र मो। साजादलाई पक्राउ गरिएको छ। जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन्। उनीहरुबिरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

६९० किलोग्राम गाँजासहित चार जना पक्राउ

सुनसरी– सुनसरीको देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रुपैयाँ र ५२ हजार नेपाली रुपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बू र सुनसरी देवानगंज गाउँपालिका-४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् ।इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१७ आइसीपी रोडबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित धनकुटा सहिदभुमी गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रदेश १-०२-०२ च.६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा अनलोड गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पिकअपका चालक ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डढेलोका कारण पश्चिमी क्यानाडामा छ हजारभन्दा बढी विस्थापित

काठमाडौं– क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपतकालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको बताइएको छ । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली गर्ने आदेश प्रभावकारी छ । फोर्ट म्याकमुरेका धेरै छिमेकीलाई अग्नि नियन्त्रकहरूका लागि लागि बाटो बनाउन खाली गरिँदै गरेको बताइएको छ ।

उक्त विस्थापित क्षेत्रका सबै बासिन्दालाई अपराह्न ४ बजेसम्म छाड्न आदेश दिइएको थियो । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार मंगलबार देशभरि एक सय ३४ वटा आगलागी सक्रिय रूपमा बलिरहेको थिए । तीमध्ये ४३ वटा आगलागी नियन्त्रणबाहिर छन् ।

क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले जंगलमा आगलागीको ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो । क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी रेकर्ड गरिएको थियो ।

ती आगलागीबाट एक करोड ७२ लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो ।

सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुल दलले सहकारी पीडितको न्यायको लागि काठमाडौंमा वृहत र्‍याली निकालेको छ ।

साथै, सहकारीको ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेका आरोप स्पष्ट पार्न छानविन समिति बनाउनसमेत आग्रह गरेको छ । बुधबार र्यालीलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष विद्धान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र गृहमन्त्री एकै हुन् वा फरक हुन् रु छानविन समितिमार्फत जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

उनी भन्छन्, ‘रवि लामिछाने, गृहमन्त्री रवि लामिछाने र जीवी राईको पार्टनर रवि लामिछाने एउटै मान्छे हो वा फरक हो ।’ बिहान बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेको व्यक्तिहरूको विचल्ली बनाएर गृहमन्त्रीले सत्ताको आनन्दमा रमाएको अध्यक्ष गुरुङको आरोप छ ।

साथै, आजको र्याली सांकेतिक विरोध मात्रै भएको बताए । सहकारी पीडितले न्याय नपाए त्यसपछि उत्पन्न हुने परिणामको भागिदार स्वयम् नेपाल सरकार हुने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष गुरुङले नेपाल प्रहरी भित्र भैरहेको सरुवा-बढुवा प्रति पनि असन्तुष्टि जनाए । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले मनोबल गिर्ने कुरा बताए । छिट्टै छानविन समिति नबने तरुण दल अझ सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक घोषणासमेत गरेको छ ।

पाकिस्तानले सबै सरकारी उद्योग निजीकरण गर्ने

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सरकारी लगानीका सबै उद्योग तथा संस्थानहरू निजीकरण गर्ने भएको हो। यसमा नोक्सानमा रहेको पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थल समेत छ। मंगलबार पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सुरूमा नोक्सानमा रहेका कम्पनीहरू निजीकरणमा लैजाने बताएका छन्। एक दिनअघि मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग दीर्घकालीन विस्तारित ऋण सुविधाको मागमा छलफल गरेको पाकिस्तानले यस्तो निर्णय गरेको हो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नोक्सानमा रहेका संस्थाहरू निजीकरण सम्बन्धमा भएको बैठकमा प्रधानमन्त्री सरिफले यस्तो बताएका हुन्। त्यहाँको जिओ न्युज रिपोर्टले प्रधानमन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ुसरकारले रणनीतिक रूपमा लगानी गरेका बाहेक नाफामा रहेका वा नोक्सानमा रहेका सबै संस्थानहरू निजीकरण गर्नेछ।ु

सरकारले व्यवसाय गर्ने नभई व्यवसाय गर्ने वातावरण बनाउने भन्दै सरिफले सबै मन्त्रालयलाई यस दिशामा काम गर्न र निजीकरण समितिसँग सहकार्य गर्न निर्देशन दिएका छन्। निजीकरणको प्रक्रिया पारदर्शी बनाउनुपर्नेमा जोड दिएका प्रधानमन्त्री सरिफले पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थलको निजीकरणको क्रममा हुने बोलकबोल लगायतका सबै प्रक्रिया टेलिभिजनबाट प्रसारित गर्न समेत निर्देशन दिएका छन्। समाचार अनुसार यो विमानस्थल निजीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो विमानस्थल यसरी नोक्सानमा रहेको सरकारी संस्थाहरूमध्ये तेस्रो स्थानमा छ। हाल यो विमानस्थल मासिक ११ अर्ब ५० करोड पारू पाकिस्तानी रूपैयाँ नोक्सानमा छ।

विमानस्थलबाहेक अन्य संस्थानहरूको बोलकबोल लगायतका प्रक्रिया समेत टेलिभिजनबाट देखाइने बताइएको छ। निजीकरण सम्बन्धमा भएको बैठकमा सन् २०२४ देखि २०२९ सम्म गरिने निजीकरणको खाका समेत प्रस्तुत गरिएको द एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ। यसअघिको अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको कारण पाकिस्तानको आर्थिक अवस्थामा सामान्य सुधार आएको छ। गत मेमा ३८ प्रतिशतसम्म पुगेको मूल्य वृद्धि १७ प्रतिशतमा ओर्लिएको छ। अहिले पनि पाकिस्तान बजेटरी घाटासँग जुधिरहेको छ। पाकिस्तानले आयातमा प्रतिबन्ध लगाएर बाह्य क्षेत्र प्रभाव कम गर्ने प्रयास गरिरहेको छ।

सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्। स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने लगायतका विषयमा चैत १४ गते अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच सम्झौता भएको थियो। त्यसलाई एक महिनामा कार्यान्वयन गर्ने भनिएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै अपांगता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ।