जोडिनुहोस

निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप

जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ । जसपा नेपालबाट अलग भएर अशोक राई नेतृत्वको जसपा गठन भइसकेको छ । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ । प्रदेश सभा तथा स्थानीय तहका प्रतिनिधिलाई जसपा नेपालमा रहने कि जसपामा जाने भनेर आयोगले सनाखतको समय दिएको छ । प्रदेश तथा जिल्लामा सनाखतको काम भइरहे पनि सुनसरी जिल्लाका निर्वाचन कार्यालयले आफ्नो पक्षमा प्रतिनिधिलाई फोन गरेर सनाखत गर्न दबाब दिएको जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले बताए । उनले भने, ‘सुनसरी जिल्लाका निर्वाचन कार्यालयबाट एक जना महिला कर्मचारीले देवानगञ्जका गाउँपालिका अध्यक्ष बेचन मेहतालाई फोन गरेर सनाखतका लागि कार्यालय आउन दबाब दिएकी छन्, यो कानुन र विधि विधान विपरीत हो । निर्वाचन आयोगले यसरी जनप्रतिनिधिलाई प्रभावित पार्न मिल्दैन ।’

सुनसरी देवानगञ्जका गाउँपालिका अध्यक्ष मेहताले निर्वाचन कार्यालयबाट आफूलाई मात्र होइन, जसपा नेपालका अन्य जनप्रतिनिधिलाई फोन गरेर सनाखतका लागि आउन भनेको बताए । उनले भने, ‘जसपा नेपालबाट चुनाव जितेका कारण हामी त्यहीँ बस्ने भएका छौँ । जसपा नेपालमै बस्ने भएका कारणले सनाखत गर्न जानु पर्दैन । तै पनि सनाखतकै लागि आउनुपर्छ भनि दबाब दिएको थियो ।’ त्यसरी फोन गरेर सनाखतका लागि आउन भनेपछि आफूले जसपा नेपालको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा सनाखतका लागि जानु पर्दैन भनेपछि आफूहरू नगएको उनले बताए ।

निर्वाचन कार्यालय सुनसरीका नायब सुब्बा कुमारी आचार्यले सनाखतका लागि कसैलाई फोन गरेर दाबाब नदिएको र यसरी दिन पनि नमिल्ने दाबी गरिन् । उनले भनिन्, ‘नयाँ पार्टीका लागि समय सीमा तोकिएको छ, त्यसमा सनाखत गर्न छुट्नु होला कि भनेर जानकारी गराएको मात्र हो, फोन गरेर कसैलाई दबाब दिएको होइन ।’ सनाखतका लागि आयोगबाट सूचना जारी भइसकेपछि सबैलाई जानकारी नहुनसक्ने भएकाले कोही छुट्छ कि भनेर जानकारीमात्र गराएको उनको भनाइ छ । उनले आफूहरूले कसैलाई दबाब दिन नमिल्ने बताइन् ।

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेविसङ्घको प्रदर्शन

सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।

नेविसङ्घका कार्यकर्ताले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् । हातमा पोस्टरसहित प्रदर्शनमा सहभागी भएकाहरूले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी पनि गरेका छन् । यसअघि हिजो कांग्रेस भातृ सङ्गठन महिला सङ्घले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो । नेपाली कांग्रेसले यस प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

सिङ्गापुरमा २० वर्ष शासन गरेका प्रधानमन्त्री ली आजदेखि पदबाट बिदा हुँदै

सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिँदै हुनुहुन्छ । सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन भूमिका खेलेका ७२ वर्षका लीले आज प्रधानन्त्री पद उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङ्लाई हस्तान्तरण गर्न लाग्नुभएको बीबीसीले जनाएको छ । लीको बिदाइलाई सिङ्गापुरमा एउटा लामो राजनीतिक युगको समापनका रूपमा समेत हेरिएको छ ।

सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र भएपछि अहिलेसम्म तीन जना प्रधानमन्त्री भएका छन् । आजदेखि चौथो प्रधानमन्त्री हुन लागेका छन् । सबै प्रधानमन्त्री सत्तारूढ पिपुल्स एक्सन पार्टी ९पीएपी० बाट रहेका छन् । पहिलो प्रधानमन्त्री लीका पिता लि क्वान यु हुनुहुन्थ्यो । शुरुमा लीलाई नातावादबाट आएको प्रधानमन्त्री भन्दै धेरैले टिप्पणी गर्ने गरे पनि पछिल्लो समयमा उहाँको कामले आरोपहरू छायामा परेका थिए ।

पछिल्लो २० वर्षमा सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० दोब्बर भएको छ । कोभिड–१९, विश्वव्यापी आर्थिकमन्दी लगायतको समयमा पनि देशलाई राम्रोसँग चलाउन सकेको जस लीलाई दिइएको छ । विदेश मामिलामा पनि लीले अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाउनुभएको थियो ।

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको शीर्ष १० मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा आइपुगेका हुन् । उनी टी–२० अलराउन्डरको वरीयतामा एसोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा थिए ।

यस्तै टी–२० वरीयताको अलराउन्डरतर्फ कुशल मल्ल ३३ औँ र गुल्सन झा ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औँ स्थानमा छन् । यसैगरी करण केसी एक स्थान सुधार गर्दै ७४ औँ स्थानमा उक्लिएका छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् । यस्तै कप्तान रोहित तीन स्थान तल झर्दै ६१ औँ स्थानमा छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् । टी–२० वरीयताको बलिङतर्फ सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १७ औँ स्थानमा छ ।

गगनबारे केपी ओली; सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरण उचालेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको बताएका छन् । बुधबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख देवराज घिमिरेले भनेको नमानी कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको आरोप लगाए ।

‘सभामुखले फलानालाई बोल्न समय दिन्छु भन्दा बोल्न दिन नपाइने, यति अशिष्ट ढंगले तपाईंको निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने ?’, उनले कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै भने, ‘संसद्‍मा सभामुखसँग के भाषा हो त्यो नेपाली कांग्रेसको ?

गगनको नाम नलिएका ओलीले अगाडि थपे, ‘सभामुखसँग त्यस्तो भाषा गरेर संसद् चलाउन खोजेको हो कांग्रेसले ? बजेट अधिवेशनको सुरु हुँदा वैशाख २८ गते सभामुख घिमिरेले कांग्रेस महामन्त्री थापालाई बोल्न ३ मिनेट दिएका थिए । उक्त समय सकिएपछि सभामुखले २ मिनेट थपे । तर गगनले, ‘तपाईंको निगाहाको समय चाहिँदेन, मेरो हकको समय मागेको हो ।’ भनेका थिए ।

संसदीय दलको बैठकमा ओलीले अबको प्रतिनिधि सभा बैठकमा रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए ।
उनले रविले बोल्न नपाए कांग्रेसलाई रोकेर एमालेले बोल्ने बताउँदै कांग्रेसको उदण्डता हेरेर नबस्ने प्रष्ट पारे । ‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने रु बकवास बोलिरहने रु अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् । आज भएको भेटमा उनीहरुबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगारलगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

त्यसक्रममा राजदूत थेलेफले नेपाल र स्विडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्विडेन सधैँ तयार रहेको बताए । उनले मन्त्री लामिछानेलाई बधाइसहित सफल कार्यकालको शुभकामनासमेत दिएको सचिवालयले जनाएको छ । यस्तै, उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र साझा विषयमा थप सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा

एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । बुधबार बिहान पनि ओली र सभामुखले छलफल गरेका थिए । उनी संसदीय दलको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीकहाँ गएको एमाले नेताहरूको भनाइ छ ।नेपाली कांग्रेसले संसद्‌मा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । संसद् अवरोध खोल्न सत्ता पक्षका नेता ओली र प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरिरहेका छन् । आज पनि संसद् खोल्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ– दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख दोस्रो सातादेखि सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए।

उनका अनुसार बारम्बार ताकेता गरी कारबाही प्रक्रिया समेत अघि बढाएपछि निर्माण व्यवसायीले काम थालेको हो । यतिबेला नाली बनाउने, ‘बेस’ हाल्ने र कालोपत्रका लागि क्रसरलाई कच्चा पदार्थ खोज्ने काम भइहेको पूर्वाधार कार्यालयका प्रमुख सिग्देलले जानकारी दिए। सरकारले एक पालिका एक सडक पुर्‍याउने अभियान अन्तर्गत यो सडक निर्माण सुरु गरिएको हो । यसअघि ठेकेदारले आर्थिकलगायतका कारण देखाएर काम अलपत्र पारेको थियो ।

यसवर्ष तीन किलोमिटर सडक कालोपत्र हुने पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन किलोमिटर ‘स्ट्रक्चर’को काम भइसकेको छ । त्यस्तै, ग्राभेल, ग्याबिन वाल, मेसिनवालको काम सम्पन्न हुन बाँकी रहेको कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सकिएको छ । पाँच किलोमिटर नाला निर्माण भएको छ ।

सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण देखाउँदै निर्माण ढिलाइ भएपछि पुनः विसं २०७९ पुस सम्म म्याद थप गरिएको थियो । थपिएको म्याद भित्र पनि निर्माण सम्पन्न नभएपछि विसं २०८० असार २९ सम्म सम्पन्न गर्न दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः मङ्सिर २८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप भएको हो । उक्त अवधिमा पनि नसकिएको काम अहिले सुरु गरिएको कार्यालय प्रमुख सिग्देलले जानकारी दिए।

सडक निर्माणको ठेक्का कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले लिएको थियो । विसं २०७७ असार ३ गते भएको सम्झौताअनुसार प्रदेश सरकारको रु २६ करोड २९ लाख ६ हजार दुई सय २५ लागतमा सात दशमलव एक सय २१ किलोमिटर कालोपत्रको ठेक्का लागेको हो ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरदेखि दोर्दी गाउँपालिका-४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको ‘अस्फाल्ट’ कालोपत्र हुनेछ ।

सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान र चार सेन्टिमिटरको कालोपत्र हुनेछ । विशेष गरी यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

युक्रेन संकटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

काठमाडौं– युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन् ।

बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा उनले चीनले युक्रेन संकटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताए । चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन संकटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्तावेजमा संकेत गरिएका अवधारणा र सुझावहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उनले बताए।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि प्रस्ताव गरेको चार सिद्धान्त माथि उल्लिखित दस्तावेजमा बिल्कुल फिट भएको पुटिनले जोड दिए ।

१६ औँ योजना : ७.३ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य, उत्पादन र रोजगारीलाई प्राथमिकता

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्यसहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य राखेको जनाएको हो । त्यस्तै पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ ।

आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिइएको छ । त्यस्तै हाल २० दशमलव ३ प्रतिशत रहेको निरपेक्ष गरिवी १२ दशमलवमा सिमित गर्ने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । पञ्चवर्षीय योजनामा साक्षरता दर ८५ प्रतिशत, बेरोजगारी दल ५ प्रतिशत, विधुतमा र इन्टरनेटमा पहुँच पुगेको जनसंख्या शत प्रतिशत पुर्‍याउने लक्ष्य छ ।

उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरि आवधिक योजना तयार गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जानकारी दिए । उनले तीनै तहका सरकारको ध्यान पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचकमा परेको असरलाई न्यूनीकरण गर्न खोजिएको बताए ।

उनले मुलुकको वास्तविक समस्या समाधान गर्नेगरि योजना तयार गरिएको बताए। योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालय वा केन्द्रित निकायले आ-आफ्नो व्यवसायिक योजना तयार गरि कार्यान्वयन गर्ने आयोगले जनाएको छ । त्यस्तै योजना कार्यान्वयनका लागि आयोगले सहजीकरण गर्ने जनाएको छ ।

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

काठमाडौं– टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको जानकारी दिए।

नगरपालिकाले नयाँबसपार्क नजिक विष्णुमति करिडोरमा निर्माण गरिएका पसलसमेत हटाउन लागेको छ । नयाँबसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ ।

यसअघि टोखाले मनोरथ तीर्थदेखि ग्राण्डी अस्पतालसम्म विष्णुमति किनारामा निर्माण गरिएका संरचना हटाएर करिडोर खोल्ने काम गरिसकेको छ ।

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।

गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखाप्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ ।

डा शाहले भने, ‘विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको छ ।’ उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक किसानलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचना मागअनुसार विवरण संकलन गरी पोखरीको क्षमता हेरेर भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

म्याग्दे–४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताए ।

म्याग्दे–४ का भिमकुमारी रानालाई एक हजार आठ सय, कायस्थलाई पाँच हजार चार सय, टोपप्रसाद थापालाई एक हजार दुई सय, वडा नं १ का पूर्णिमा थापालाई दुई हजार चार सय, जगतबहादुर थापालाई दुई हजार चार सय, सन्तमान बोटेलाई एक हजार आठ सय, वडा नं ३ का बोलबहादुर आलेलाई तीन हजार, टुपबहादुर थापालाई तीन हजार, धनबहादुर थापालाई एक हजार दुई सय, वसुन्धरा बराई मगरलाई दुई हजार चार सय, वसन्ती सारु मगरलाई एक हजार दुई सय, भरतबहादुर उच्चै मगरलाई छ सय, नविन बराईलाई एक हजार आठ सय, बालचन्द्र शाहीलाई छ सय, वडा नं २ का लक्ष्मण थापालाई छ सय, विष्णुबहादुर नेपालीलाई एक हजार दुई सय, बेलबहादुर अधिकारीलाई एक हजार आठ सय माछाको भुरा वितरण गरिएको छ ।

वडा नं ५ का तालबहादुर आलेलाई तीन हजार छ सय, जगत थापालाई एक हजार आठ सय, मीनाकुमारी थापालाई पाँच हजार चार सय, बलिसिरा रानालाई छ सय, वडा नं ६ का श्रीबहादुर रानालाई छ हजार, शेरबहादुर गुरुङलाई तीन सय, वडा नं ७ का धु्रवराज वाग्लेलाई छ सय, ओमराज गोतामेलाई छ सय, अच्युतराज काफ्लेलाई एक हजार दुई सय, रमादेवी पौडेललाई एक हजार आठ सय भुरा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।