जोडिनुहोस

पार्टी फुटेपछि उपेन्द्रले केन्द्रीय कमिटी १५१ बाट २५१ पुर्‍याए, महासचिव र उपाध्यक्ष पनि थपे

काठमाडौं- गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले नयाँ दल खोलेपछि उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिलाई दोब्बर ठूलो बनाएका छन् ।

यसअघि भएको विधान महाविशेनमा निर्णय संशोधन गर्दै मंगलबार र बुधबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समित बैठकले केन्द्रीय समितिको संख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको हो । केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको हो ।

विधान संशोधन गर्ने निर्णय गरेको जसपाले पदाधिकारी संख्या पनि हेरफेर गरेको छ।जसअनुसार विधान अधिवेशनले १५१ सदस्यीय बनाएको केन्द्रीय समिति अब बढाएर २५१ सदस्यीय बनाउने निर्णय भएको हो । जसपाले विधान अधिवेशनका निर्णयमा संशोधन गर्दै यसअघि १ जना महासचिव हुने व्यवस्था हटाएर २ जना महासचिव रहने निर्णय गरेको छ ।

उता पहिले ३ जना उपाध्यक्ष रहेकोमा अब केन्द्रीय कार्यकारिणी समितिले ५ जना उपाध्यक्ष राख्ने निर्णय गरेको छ ।

बैठकले जेठ २८ र २९ गते हुने महाधिवेशनका लागि जेठ १० गतेभित्रमा महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने निर्णय पनि गरेको छ ।

अवैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं– सुनसरी जिल्लाको कोशी गाउँपालिका- ८ स्थित तीनकुने सीमा इलाकाबाट बैशाख २९ गते साँझ अवैध रुपमा ल्याइएको मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।

प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजांच गर्ने क्रममा १८ वटा बोरामा रहेको ९ सय ९० के.जी. मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० के.जी चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित

काठमाडौं – गत वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजनमा संलग्नलाई निष्कासन गरिएको छ ।

जसपा नेपालको मंगलबार र बुधबार ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवगठित जनता समाजवादी पार्टीका अध्यक्षसहित ३२ जनालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय लिएको हो ।

यादवको अध्यक्षतामा बसेको बैठकले अशोक राईसहितका नेताहरू जनकपुरमा हुन लागेको महाधिवेशनबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।  ‘उनीहरूले महाधिवेशनबाट भाग्न खोजेर पार्टी फुटाएका हु्न्’, जसपाका एक नेताले भने, ‘सातजना सांसदको अगुवाइमा ३२ जना नेताको हस्ताक्षरसहित नयाँ पार्टी खोलेकालाई कारबाहीको पत्र पठाइएको थियो । उक्त पत्रलाई केन्द्रीय कार्यकारिणती समितिले अनुमोदन गरेको छ। उनीहरू अब साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।’

जसपा नेपालले पार्टी फुटविरुद्ध भण्डाफोर अभियान पनि चलाउने भएको छ ।‘तोकिएको मितिमा महाधिवेश हुनेछ । जेठ २८ र २९ गते जनकपुरमै गर्ने निर्णय भइसकेको छ’, ती नेताले भने ‘त्यसकै तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरिएको छ । उनीहरूले विचार र सिद्धान्त नमिलेर पार्टी फुटाएको होइन । महाधिवेशनबाट भाग्न खोजेर पार्टी फुटाएको हो। पार्टी फुटविरुद्ध भण्डाफोर अभियान सुरु हुन्छ ।’

एमाले संसदीय बैठक जारी, संसद्को अवरोध र नीति कार्यक्रमबारे छलफल

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएको विषयमा छलफल चरिरहेको बताइएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बसिरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।उनका अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समितिको औचित्य नै नहुने एमालेको धारणा छ ।

उनले अबको बाटो र विकल्पका बारेमा छलफल भइरहेको बताए । यस्तै उनले सरकारले पेस गरेको नीति तथा कार्यक्रममा प्रभावकारी बनाउन पनि सांसदहरुले धारणा राखिरहेको बताए ।

उपेन्द्र यादवको रिटमाथि सुनुवाइ जारी

काठमाडौं– उपेन्द्र यादवले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष यादवले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाइ भइरहेको हो । उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन् । उनी अमेरिकामा रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर जनता समाजवादी पार्टी गठन गरेका थिए ।

जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ । प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।

त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले पहिले नै प्रश्न लिखित रूपमा संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

क्यान्सरको त्रास बढेपछि भारतीय मसलामा निगरानी, सरकार भन्छ–अनुसन्धानपछि प्रतिबन्धबारे सोचिने

काठमाडौं– भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ ।

खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने विषयमा केही नबोलेको तर आम उपभोक्ताको जनस्वास्थ्यसंग जोडिएकाले नमूना परीक्षण भइरहेको खाद्य गुणस्तर तथा नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । खवरहवसँग महर्जनले भने– इन्फोसानले भनेको उत्पादनहरूमा त प्रतिबन्ध नै लगाउने गरिएको छ । तर अरुको कुरामा भर नपरी हामी आफैंले अनुसन्धान गरेर मात्रै त्यो विषयमा निर्णय लिने गर्छौँ ।

यी दुई ब्राण्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्तामा चासो र चिन्ता बढेको हो । दुवै ब्राण्डका विभिन्न मसला नेपाली बजारमा लोकप्रिय छन् । तर नेपाली बजारमा धेरै स्वदेशमै उत्पादित मसलाहरू बिक्री भइरहेका प्रवक्ता महर्जनको दाबी छ । उनले भने, हाम्रो स्वदेशमै उत्पादित मसलाहरू धेरै छ । हङकङ र सिंगापुरको जस्तो अन्य देशको उत्पादन कमै मात्रामा रहेकाले त्यसको नमूना संकलनको काम भइरहेको छ रिपोर्ट आएपछि मात्रै के गर्ने भन्ने विषयमा निधो हुन्छ ।

नमूना संकलनको रिपोर्ट आएपछि इन्फोसानमा पठाउने र इन्फोसानको निर्णय अनुसार अघि बढ्ने उनले बताए । उता हङकङ र सिंगापुरले मसलामा अनुमतियोग्य स्तरभन्दा बढी कार्सिनोजेनिक कीटनाशक इथिलीन अक्साइड पत्ता लगाएपछि बिक्रीमा प्रतिबन्ध लगाएका थिए । बीबीसीका अनुसार परीक्षणका क्रममा करी पाउडर, साम्भर मसला तथा मिश्रित मसलामा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने एथिलिन अक्साइड पाइएको थियो। एथिलिन अक्साइडमा क्यान्सरको कारक तत्व कार्सिनोजेन हुने भएकाले मसला बिक्रीमा प्रतिबन्ध गरिएको हो।

हङकङको खाद्य सुरक्षा विभागका अनुसार खाद्य सामग्रीमा एथिलिन अक्साइड प्रयोग गरेको पाइएमा त्यस्ता कम्पनीलाई अधिकतम ५० हजार डलर जरिवाना र ६ महिनासम्म कैदको सजाय हुन्छ। सिंगापुरको खाद्य सुरक्षा विभागले पनि हङकङको सूचनाका आधारमा आफ्नो मुलुकमा एभरेष्ट र एमडीएचका मसला बिक्रीमा प्रतिबन्ध लगाएको छ।

एथिलिन अक्साइड रंगविहीन ज्वलनशील ग्यास हो। यसको प्रयोग कृषि, स्वास्थ्य तथा खाद्य प्रशोधन उद्योगमा कीटनाशकका रुपमा गरिन्छ। मसला उद्योगमा सुक्ष्मजीवले पुर्‍याउने असर र किराबाट मसलामा हुन सक्ने क्षति न्यूनीकरणका लागि यसको प्रयोग हुन्छ। विभिन्न स्वास्थ्य संगठनहरुले यसलाई कार्सिनोजेनको वर्गमा राखेका छन् । यो रसायनको खतरालाई मध्यनजर गर्दै धेरै मुलुकले यसको प्रयोगबारे कडा कानुनसमेत बनाएका छन् । भारतीय मसलाको गुणस्तरबारे यसअघि अमेरिकामा पनि प्रश्न उठेको थियो। सन २०२३ मा अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियामकले साम्भर तथा गरम मसला बजारबाट फिर्ता लान भनेको थियो। ती मसला प्रयोगशालामा परीक्षण गर्दा सालमोनेला पाइएको थियो।

यो ब्याक्टेरियाका कारण झाडापखाला, पेटको सिकायत, ज्वरो आउने र रिँगटा लाग्ने समस्या उपभोक्तामा देखिएको थियो।

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक-गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए। सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ । बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल गरेको थियो । विसं. २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले गरिरहेको छ । कम्पनीले रु एक अर्ब सात करोड भुक्तानी प्राप्त गरिसकेको छ ।

चालु आवमा पनि रु २५ करोड हाराहारी कम्पनीलाई भुक्तानी गरिएको उनले जानकारी दिए। सुरुको ठेक्का रकम एक अर्ब २३ करोड रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै रु २५ करोड आवश्यक पर्छ । यो सडक छ दशमलव ०८ किलोमिटर लामो छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बचाइन् । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन ।

चिनियाँ विद्युतीय कारमा अमेरिकाले बढायो चार गुणा कर

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् ।ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ ।

ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।विश्लेषकहरूले यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ । विद्युतीय सवारी साधनको महशुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्‍याइएको छ । सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ । त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको छ ।

जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने टिप्पणी गरेको छ ।

सन्दीपको मुद्दामा अघि बढ्यो बहस, अपरान्हसम्म आउन सक्छ फैसला

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ दोस्रो दिन पनि जारी छ ।

उच्च अदालत पाटनमा मंगलबार दिनभर भएको सुनुवाइका क्रममा बहस नसकिएपछि बुधबार पनि बहस अघि बढेको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष विपक्षका वकिलहरूले बहस गरिरहेका छन् ।

न्यायाधीशद्वयले बुधबार नै फैसला दिने तयारी गरेका छन्। त्यहीअनुसार उनीहरूले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएका छन् । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका छन् । यसअघी यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरे ।

उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाए । पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरे ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।

यो मुद्दामा गौशाला २६ ले पनि पुनरावेदन गरेकी छन् । यस्तोमा दुवैले आफ्नो पक्षबाट कुरा राखिरहेका छन् । सुनुवाइको अन्त्यमा जवाफी बहस टुंगिएसँगै फैसला आउन सक्नेछ । उच्च अदालत पाटनले बुधबार नै फैसला दिनज सक्नेछ । यदि उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।

यदि उच्चले पनि जिल्लाकै फैसला सदर गरिदिएमा सन्दीपका लागि अन्तिम अदालतको निर्णय कुर्ने विकल्प मात्रै रहनेछ ।

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलास पेसी तोकिएको छ । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका थिए ।

जसपा नेपालमा भएको विभाजनपछि यादवको पार्टीमा १२ मध्ये ५ जना मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीको माग गर्दै अदालत गएका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका थिए ।

गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।

नेविसंघको प्रदर्शन : गुड मर्निङ केपी बा, चिया खानु भो ?

काठमाडौं- सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी जुलुस निकालेको छ ।

नेविसंघ त्रिचन्द्र इकाईले बुधबार बिहान सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघले खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

कांग्रेसनिकट ती विद्यार्थीहरूले ओली र गृहमन्त्री लामिछानेविरूद्ध नारा पनि लगाए । उनीहरूले गिरीबन्धु टि-स्टेट प्रकरणमा ओलीलाई ‘चिया खानु’भो केपी बा’ भनेर व्यंग्यसमेत कसेका छन्।