जोडिनुहोस

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक-गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए। सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ । बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल गरेको थियो । विसं. २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले गरिरहेको छ । कम्पनीले रु एक अर्ब सात करोड भुक्तानी प्राप्त गरिसकेको छ ।

चालु आवमा पनि रु २५ करोड हाराहारी कम्पनीलाई भुक्तानी गरिएको उनले जानकारी दिए। सुरुको ठेक्का रकम एक अर्ब २३ करोड रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै रु २५ करोड आवश्यक पर्छ । यो सडक छ दशमलव ०८ किलोमिटर लामो छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बचाइन् । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन ।

चिनियाँ विद्युतीय कारमा अमेरिकाले बढायो चार गुणा कर

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् ।ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ ।

ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ।विश्लेषकहरूले यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ । विद्युतीय सवारी साधनको महशुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्‍याइएको छ । सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ । त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको छ ।

जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने टिप्पणी गरेको छ ।

सन्दीपको मुद्दामा अघि बढ्यो बहस, अपरान्हसम्म आउन सक्छ फैसला

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ दोस्रो दिन पनि जारी छ ।

उच्च अदालत पाटनमा मंगलबार दिनभर भएको सुनुवाइका क्रममा बहस नसकिएपछि बुधबार पनि बहस अघि बढेको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष विपक्षका वकिलहरूले बहस गरिरहेका छन् ।

न्यायाधीशद्वयले बुधबार नै फैसला दिने तयारी गरेका छन्। त्यहीअनुसार उनीहरूले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएका छन् । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका छन् । यसअघी यो मुद्दामा सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमन श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गरे ।

उनीहरूले सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाए । पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरे ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।

यो मुद्दामा गौशाला २६ ले पनि पुनरावेदन गरेकी छन् । यस्तोमा दुवैले आफ्नो पक्षबाट कुरा राखिरहेका छन् । सुनुवाइको अन्त्यमा जवाफी बहस टुंगिएसँगै फैसला आउन सक्नेछ । उच्च अदालत पाटनले बुधबार नै फैसला दिनज सक्नेछ । यदि उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।

यदि उच्चले पनि जिल्लाकै फैसला सदर गरिदिएमा सन्दीपका लागि अन्तिम अदालतको निर्णय कुर्ने विकल्प मात्रै रहनेछ ।

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलास पेसी तोकिएको छ । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका थिए ।

जसपा नेपालमा भएको विभाजनपछि यादवको पार्टीमा १२ मध्ये ५ जना मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीको माग गर्दै अदालत गएका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका थिए ।

गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।

नेविसंघको प्रदर्शन : गुड मर्निङ केपी बा, चिया खानु भो ?

काठमाडौं- सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी जुलुस निकालेको छ ।

नेविसंघ त्रिचन्द्र इकाईले बुधबार बिहान सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघले खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

कांग्रेसनिकट ती विद्यार्थीहरूले ओली र गृहमन्त्री लामिछानेविरूद्ध नारा पनि लगाए । उनीहरूले गिरीबन्धु टि-स्टेट प्रकरणमा ओलीलाई ‘चिया खानु’भो केपी बा’ भनेर व्यंग्यसमेत कसेका छन्।

कचनकवलमा अतिविपन्न परिवारको स्वास्थ्य बीमा

झापा– झापाको कचनकवल गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालु आर्थिक वर्षमा पाँच सय परिवारको निःशुल्क बीमा गरिएको जानकारी दिए ।

गत वर्ष बीमा गरिएका एक हजार परिवारले नवीकरण गर्दा बीमा शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने उनले बताए । कचनकवलले अतिविपन्नसँगै पालिकाभित्रका गर्भवती महिलाको समेत निःशुल्क स्वास्थ्य बीमा गर्ने गरेको छ ।कचनकवल गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्तामार्फत पाँच करोड ९५ लाखभन्दा बढी खर्च हुने गरेको अध्यक्ष राजवंशीले बताए ।

गाउँपालिकामा चार हजार तीन सय चारजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । चालु आवको चौथो त्रैमासिकसम्ममा सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या चार हजार तीन सय चार पुगेको गाउँपालिकाले जनाएको छ ।

सरकारले प्रदान गर्ने आठवटा क्लस्टर’का एक हजार सात सय ४१ पुरुष र दुई हजार पाँच सय ७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् ।

नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

गत महिना सफलतापूर्वक सम्पन्न लगानी सम्मेलनमा विश्वका ५० भन्दा बढी देशहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको बताए ।वैदेशिक लगानी भित्र्याउने नेपालको सत्प्रयासमा युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यी लक्ष्य पूरा गर्न विदेशी साझेदारहरूबाट पर्याप्त लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याए ।

सरकारले ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले यस सुरुआतसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गरे ।

वातावरणीय दिगोपन र आर्थिक रूपमा व्यावहारिक हुने हरित अर्थव्यवस्थालाई नेपाल सरकारले प्राथमिकता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नवीकरणीय ऊर्जा परियोजनाहरूको प्रवर्द्धन, दिगो कृषि अभ्यास र वातावरणीय लक्ष्य प्राप्तिमा निरन्तर काम गरिरहेको बताए ।

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु भएको जनाएको छ ।

युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले युक्रेन युद्धमा अहिलेसम्म १ हजार ९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो ।युनिसेफका अनुसार रुस–युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका छन् । युक्रेनका धेरै भागहरूमा अझै पनि आक्रमणहरू जारी छन्, जसले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ ।

युनिसेफका अनुसार युक्रेनका करिब ५० प्रतिशत किशोरकिशोरीहरूले सुत्न कठिनाइको सामना गरिरहेका छन् र प्रत्येक पाँचमध्ये एक बालबालिका मानसिक तनावबाट गुज्रिरहेको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ– ‘बालबालिकाले आफ्नो जीवन, सुरक्षा र भविष्य दाउमा लगाएर वयस्कहरूको लापरवाह निर्णयको मूल्य तिरिरहेका छन् । युक्रेनमा बालबालिकाको शिक्षामा पनि नराम्रो असर परेको छ र करिब ५० प्रतिशत बालबालिका निजी विद्यालयमा गएर पढ्न पाएका छैनन् । निजी विद्यालय नजाने बालबालिकाको संख्या १० लाखको हाराहारीमा छ ।’

युनिसेफको सहयोगमा युक्रेनी बालबालिकालाई अनलाइन माध्यमबाट शिक्षा दिने प्रयास भइरहेको छ । सन् २०२३ सम्म, संयुक्त राष्ट्र संघले १.३ मिलियन बालबालिकाको शिक्षालाई औपचारिक र अनौपचारिक रूपमा समर्थन गर्नेछ, र २.५ मिलियन बालबालिकाको हेरचाह र मानसिक स्वास्थ्य सुधार गर्नेछ ।

युनिसेफले वर्तमान अवस्थालाई ध्यानमा राख्दै युक्रेनमा बालबालिकाको संरक्षणका लागि जतिसक्दो चाँडो युद्धविराम लागू गर्नुपर्ने बताएको छ । यसबाट बालबालिका प्रभावित हुने भएकाले घनघोर जनसङ्ख्या, नागरिक प्रतिष्ठान र पूर्वाधारमा विस्फोटक हतियारको प्रयोग रोक्न आवश्यक छ ।युनिसेफले युक्रेनी बालबालिकालाई सबैभन्दा बढी शान्ति चाहिने बताएको छ । सन् २०२४ सम्म बालबालिका र तिनीहरूका परिवारहरूलाई सहयोग गर्न मानवीय र रिकभरी कार्यक्रमहरूको लागि २५० मिलियन डलर आवश्यक छ ।

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी मोहम्मद अम्राको एक ग्याङसँग सम्बन्ध रहेको खुलासा भएको छ। भाग्ने क्रममा उनले दुई जेल अधिकारीको ज्यान लिएका थिए भने धेरै जान घाइते भएका छन्।

‘द फुलाइ’ को नामले चिनिने अम्रा मंगलबार पेरिस नजिकको रियोन सहरमा अदालतबाट जेलतर्फ लैजाने क्रममा भागेका हुन्। बाटोमा एउटा कारले कैदी बोक्ने भ्यानलाई ठक्कर दिएपछि त्यहीँबाट बन्दुकधारीले फायर खोलेका थिए।

अधिकारीका अनुसार १० मे का दिन अपहरण र ज्यान लिएको अभियोगमा उनलाई गिरफ्तार गरिएको थियो। उनी त्यस जेलमा रहेका बढी निगरानी गरिने कैदीकै रूपमा थिए। उनको निगरानीका लागि ५ अधिकार तैनाथ थिए। तीन तहको स्कर्टिङसमेत उनलाई गरिएको थियो। तर उनले त्यो सबै सुरक्षा घेरालाई तोडेका हुन्। यो विषयमा अनुसन्धान भइरहेको बिबिसीको समाचारमा उल्लेख गरिएको छ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएका थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुहाटीमा सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।

त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिसकेको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।राजस्थान सन्जु सामसनको कप्तानीमा खेलिरहेको छ भने पञ्जाव किंग्सको नेतृत्व शिखर धवनले गरिरहेका छन् ।

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ गुडेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइते सबै सबै शैलुङ– ८ ढाँडे र कुने आसपासका भएको बताइएको छ । ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकाले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको अनुमान गरिएको छ ।

स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाएको मेलुङ–१ का वडाध्यक्ष ईश्वर कोइरालाले जानकारी दिए ।