जोडिनुहोस

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् ।

नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

गत महिना सफलतापूर्वक सम्पन्न लगानी सम्मेलनमा विश्वका ५० भन्दा बढी देशहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको बताए ।वैदेशिक लगानी भित्र्याउने नेपालको सत्प्रयासमा युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यी लक्ष्य पूरा गर्न विदेशी साझेदारहरूबाट पर्याप्त लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याए ।

सरकारले ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले यस सुरुआतसँगै नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गरे ।

वातावरणीय दिगोपन र आर्थिक रूपमा व्यावहारिक हुने हरित अर्थव्यवस्थालाई नेपाल सरकारले प्राथमिकता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नवीकरणीय ऊर्जा परियोजनाहरूको प्रवर्द्धन, दिगो कृषि अभ्यास र वातावरणीय लक्ष्य प्राप्तिमा निरन्तर काम गरिरहेको बताए ।

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु भएको जनाएको छ ।

युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले युक्रेन युद्धमा अहिलेसम्म १ हजार ९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो ।युनिसेफका अनुसार रुस–युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका छन् । युक्रेनका धेरै भागहरूमा अझै पनि आक्रमणहरू जारी छन्, जसले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ ।

युनिसेफका अनुसार युक्रेनका करिब ५० प्रतिशत किशोरकिशोरीहरूले सुत्न कठिनाइको सामना गरिरहेका छन् र प्रत्येक पाँचमध्ये एक बालबालिका मानसिक तनावबाट गुज्रिरहेको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ– ‘बालबालिकाले आफ्नो जीवन, सुरक्षा र भविष्य दाउमा लगाएर वयस्कहरूको लापरवाह निर्णयको मूल्य तिरिरहेका छन् । युक्रेनमा बालबालिकाको शिक्षामा पनि नराम्रो असर परेको छ र करिब ५० प्रतिशत बालबालिका निजी विद्यालयमा गएर पढ्न पाएका छैनन् । निजी विद्यालय नजाने बालबालिकाको संख्या १० लाखको हाराहारीमा छ ।’

युनिसेफको सहयोगमा युक्रेनी बालबालिकालाई अनलाइन माध्यमबाट शिक्षा दिने प्रयास भइरहेको छ । सन् २०२३ सम्म, संयुक्त राष्ट्र संघले १.३ मिलियन बालबालिकाको शिक्षालाई औपचारिक र अनौपचारिक रूपमा समर्थन गर्नेछ, र २.५ मिलियन बालबालिकाको हेरचाह र मानसिक स्वास्थ्य सुधार गर्नेछ ।

युनिसेफले वर्तमान अवस्थालाई ध्यानमा राख्दै युक्रेनमा बालबालिकाको संरक्षणका लागि जतिसक्दो चाँडो युद्धविराम लागू गर्नुपर्ने बताएको छ । यसबाट बालबालिका प्रभावित हुने भएकाले घनघोर जनसङ्ख्या, नागरिक प्रतिष्ठान र पूर्वाधारमा विस्फोटक हतियारको प्रयोग रोक्न आवश्यक छ ।युनिसेफले युक्रेनी बालबालिकालाई सबैभन्दा बढी शान्ति चाहिने बताएको छ । सन् २०२४ सम्म बालबालिका र तिनीहरूका परिवारहरूलाई सहयोग गर्न मानवीय र रिकभरी कार्यक्रमहरूको लागि २५० मिलियन डलर आवश्यक छ ।

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी मोहम्मद अम्राको एक ग्याङसँग सम्बन्ध रहेको खुलासा भएको छ। भाग्ने क्रममा उनले दुई जेल अधिकारीको ज्यान लिएका थिए भने धेरै जान घाइते भएका छन्।

‘द फुलाइ’ को नामले चिनिने अम्रा मंगलबार पेरिस नजिकको रियोन सहरमा अदालतबाट जेलतर्फ लैजाने क्रममा भागेका हुन्। बाटोमा एउटा कारले कैदी बोक्ने भ्यानलाई ठक्कर दिएपछि त्यहीँबाट बन्दुकधारीले फायर खोलेका थिए।

अधिकारीका अनुसार १० मे का दिन अपहरण र ज्यान लिएको अभियोगमा उनलाई गिरफ्तार गरिएको थियो। उनी त्यस जेलमा रहेका बढी निगरानी गरिने कैदीकै रूपमा थिए। उनको निगरानीका लागि ५ अधिकार तैनाथ थिए। तीन तहको स्कर्टिङसमेत उनलाई गरिएको थियो। तर उनले त्यो सबै सुरक्षा घेरालाई तोडेका हुन्। यो विषयमा अनुसन्धान भइरहेको बिबिसीको समाचारमा उल्लेख गरिएको छ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएका थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुहाटीमा सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।

त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिसकेको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।राजस्थान सन्जु सामसनको कप्तानीमा खेलिरहेको छ भने पञ्जाव किंग्सको नेतृत्व शिखर धवनले गरिरहेका छन् ।

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ गुडेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइते सबै सबै शैलुङ– ८ ढाँडे र कुने आसपासका भएको बताइएको छ । ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकाले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको अनुमान गरिएको छ ।

स्थानीयबासीले घाइतेको उद्धार गरी सदरमुकाम चरिकोट तर्फ पठाएको मेलुङ–१ का वडाध्यक्ष ईश्वर कोइरालाले जानकारी दिए ।

यी स्थानमा आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चीनको फेसन उद्योग आर्थिक मन्दीबाट प्रभावित

बेइजिङ– चीनमा आर्थिक मन्दी निरन्तर जारी रहँदा चिनियाँ फेसन उद्योग धरासायी बन्दै गएको छ। सन् २०१९ अघि चिनियाँ अर्थतन्त्रले सकारात्मक दिशा लिइरहेको थियो। तर, कोभिड–१९ को महामारीलाई लिएर चिनियाँ कम्युनिष्ट पार्टीले लागू गरेको कडा नाकाबन्दीका कारण चिनियाँ अर्थतन्त्रका सबै क्षेत्रलाई तहसनहस बनाएको छ । यसबाट प्रभावित क्षेत्रहरूमा घरजग्गा, निकासी, अटोमोबाइल, इलेक्ट्रोनिक्स र उत्पादन पर्छन्। चीनको पछिल्लो आर्थिक प्रतिवेदनले फेसन क्षेत्रलाई विशेष गरी नराम्ररी प्रभावित भएको संकेत गरेको छ।

कुनै समय, चीन विश्वको सबैभन्दा ठूलो लक्जरी बजार थियो, जसले विश्वव्यापी बिक्रीको आधा हिस्सा ओगटेको थियो। चिनियाँ बजार विश्वव्यापी फेसन उद्योगको लागि महत्त्वपूर्ण हिस्सा थियो ।

महामारीबाट चीन फेरी उही लयमा फर्कन सकेको छैन् । उपभोक्ता गर्ने खर्च तीव्र रूपमा घटेको छ, जसले बजारमा असहजता पैदा गरेको छ। कोभिड–१९ महामारी हुनु अघि, धनी चिनियाँ पर्यटकहरू प्रायः किनमेलको लागि युरोप भ्रमण गर्थे। यद्यपि, महामारीको समयमा लगाइएका कडा यात्रा प्रतिबन्धहरूले उनीहरूको विदेशी किनमेलको गतिलाई रोकेको छ। कोभिड–१९ रोकथामको लागि लागू गरिएको प्रतिबन्धले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई मन्दीमा डुबाएको छ । यसले उपभोक्ताको विश्वास गुमाएको छ र विलासिताको खरीदप्रतिको मानसिकतामा उल्लेखनीय परिवर्तन आएको छ।

चीनले बिस्तारै कोरोनाभाइरस महामारीबाट मुक्त हुँदै गर्दा, लक्जरी ब्रान्डहरूले आफ्ना उपभोक्ताहरूलाई पुनः आकर्षित गर्न ठोस प्रयासहरू गरिरहेका छन्। तर, अहिलेको आर्थिक परिदृश्यले अर्कै भएको छ । एक समयको धनी चिनियाँ उपभोक्ता अहिले आर्थिक संकटसँग जुधिरहेका छन् । महामारीले व्यापक रूपमा रोजगारी गुमाएको छ, र ग्राहकहरूको अभावका कारण धेरै व्यवसायहरू आफ्ना ढोका बन्द गर्न बाध्य भएका छन्। कुनै समय चहलपहल हुने चीनका महानगरहरुमा रहेका शपिङ मल्ल र सडक छेउका पसलहरू सुनसान जस्तै छन् । कुनै समय आफ्नो असाधारण खर्चका लागि चिनिने चिनियाँ उपभोक्ताहरू अहिले आफ्नो खर्चप्रति बढी विवेकशील र सतर्क भएका छन् ।

अप्रिलमा, गुच्चीको मूल कम्पनी केरिङले यसको स्टक मूल्यमा उल्लेखनीय गिरावट अनुभव गर्यो। यो तिनीहरूको पहिलो त्रैमासिक बिक्रीमा ११ प्रतिशत कमीको परिणाम हो, जुन तिनीहरूले चीनको चुनौतीपूर्ण बजार अवस्थालाई जिम्मेवार ठहराए।

गुच्चीले मात्र होइन अन्य ब्रान्डहरूले पनि चीनको घरेलु खर्चको प्रभाव अनुभव गरिरहेका छन् । केट ब्ल्यान्चेट र जेनिफर कोनेली जस्ता हलिउड सेलिब्रेटीहरूलाई समावेश गरेर आफ्ना उत्पादनहरू प्रवर्द्धन गर्ने लुइस भिटनको प्रयासहरूको बावजुद, रणनीतिले अपेक्षित परिणाहरू दिन सकेन। पश्चिमी फेसन ब्रान्डहरू, चीनको आर्थिक अवस्थाको पूर्ण रूपमा जानकार छन् । त्यसैले पनि उनीहरुले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् ।

समग्रमा, बजारको गतिले प्रभाव पारेको छ। बेन एण्ड कम्पनीले भविष्यवाणी अनुसार चिनियाँ लक्जरी बजारले यस वर्ष मात्र एक अंकको वृद्धि हुने आँकलन गरेको छ, जुन गत वर्षको १२ प्रतिशतको तुलनामा घटेको छ। जिङ डेलीका पत्रकार लिसा नानले भनेकी छन्, ‘आर्थिक मन्दीले चिनियाँ विलासी खरिदकर्ताहरूको विश्वासलाई हल्लाउँदैछ। उनले थपिन्, ‘उपभोक्ताहरू अब धेरै सतर्क र मूल्यमुखी भएका छन्, यहाँसम्म कि ह्यान्डब्यागहरू किन्नु अघि सेकेन्ड ह्यान्ड बजारमा मूल्य जाँच गर्ने गरेका छन् ।

महामारी पछि, उपभोक्ता प्राथमिकताहरूमा महत्त्वपूर्ण परिवर्तन भएको छ। चीनको आर्थिक मन्दीले त्यहाँका बासिन्दाहरूमा नकारात्मक प्रभाव पारेको छ, जसले धेरैलाई थप मितव्ययी जीवनशैली अपनाउन प्रेरित गरेको छ। ठूला ब्रान्डहरूको पछि लाग्ने प्रचलन घट्दै गएको देखिन्छ, मानिसहरूले आफ्नो खर्च गर्ने बानीमा बढी सावधानी अपनाएका छन्।

महामारीले चिनियाँ पर्यटकहरूको संख्यामा उल्लेखनीय गिरावट ल्यायो जसले सामान्यतया धेरै खर्च गर्ने, युरोपको विलासिताका सामान उद्योगलाई गम्भीर धक्का पुर्‍याएको छ । युरोमोनिटर इन्टरनेशनलका रोबर्ट्सका अनुसार लक्जरी बजारको भविष्य कठिन देखिन्छ। चिनियाँ बजार अहिले नाजुक अवस्थामा छ र विज्ञहरूले निकट भविष्यमा यसले पुर्नस्थापनाको कुनै संकेत नदेखेको अनुमान गरेका छन्। चीनमा युरोपेली ब्रान्डहरूले गरेको पर्याप्त लगानीको बाबजुद तिनीहरूले कुनै सकारात्मक नतिजा ल्याउने सम्भावना देखिँदैन।

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

वृषः विद्या क्षेत्रमा प्रगति हुनेछ। मुखमा सरस्वतीको वास भएकाले धेरैको भलो हुने कुरा मात्र बोल्नुहोला। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

मिथुनः शेयर कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। बाहिरी रमझमले दिन रमाइलो बन्नेछ। सामाजिक क्षेत्रमा भने बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिकमा खुट्टा तान्ने सक्रिय भएकाले विवेक प्रयोग गर्नुपर्नेछ।

कर्कटः मनमा अशान्ति बढ्नेछ। जुनसुकै काममा पनि झन्झट आइलाग्न सक्छ। साथीले शंकाले हेर्नेछन्। आफू सकारात्मक बनेर काम गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर होला। वैदेशिक लगानीबाट भने घाटा हुने देखिन्छ।

सिंहः बौद्धिक क्षेत्रको प्रयास सफल हुने योग छ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्राप्त भएको धन जोगाउनतर्फ लाग्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको लगानीले मनमा उत्साह थप्नेछ।

कन्याः पुराना साथी र आफन्तसँग भेट हुनेछ। नयाँनयाँ कामको थालनी गर्ने समय छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ। शान्त बसेमा परिवार भित्रको झगडा मिलाउन सक्नुहुनेछ।

तुलाः आफ्नो काम आफै गर्नु राम्रो हुनेछ। कुनै योजना बनेको भए गोप्यता कायम राख्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उपलब्धि नहुने देखिन्छ।

वृश्चिकः दैनिकी चुनौतीपूर्ण छ। खुट्टा तान्नेहरु सक्रिय हुनेछन्। तपाईंको अगाडि मिठो बोल्नेहरु असफल बनाउन सक्रिय छन्। समस्यालाई चिर्दै अगाडि बढे समाधानको बाटो खुल्नेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः स्वास्थयमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भने सोचे भन्दा विपरीत नतिजा प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। बोल्दा ख्याल नगरेमा आफ्नै बोलीले समस्या पार्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा घाटा होला।

कुम्भः तपाईंलाई शंकाको दृष्टिले हेर्ने धेरै छन्। जुनसुकै काम गर्दा पनि जोगिएर गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आज शनि शान्तिको पूजा गर्नु राम्रो हुनेछ।

मीनः खर्च बढ्ने योग छ। काममा अवरोध हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। अवरोध भइहाले शान्त भएर संघर्ष गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद बैठक अबरुद्ध गरे अध्यादेशबाट बजेट ल्याउने तयारी सरकारले गरेको छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै नेपाली कांग्रेसले सदन चल्न दिएको छैन । सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको कांग्रेसले त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन बसेको संसद्को बैठकसमेत अवरुद्ध गरेको थियो ।

संघीय संसद्का दुवै सदनको बैठक भोलि बस्दैछ । तर नेपाली कांग्रेसले भोलि पनि सदन चल्न नदिने चेतावनी दिइसकेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले मानेको छैन । समग्र सहकारीको छानबिन गर्न सरकार तयार देखिए पनि व्यक्ति केन्द्रीत छानबिन सम्भव नभएको निष्कर्ष सरकारको छ ।

नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछानेमाथि नै छानबिन गर्नुपर्ने भन्दै आएको छ । लामिछानेमाथि छानबिन नभएसम्म सरकारलाई अप्ठ्यारो पार्ने रणनीतिमा रहेको कांग्रेसले आफ्नो मागबाट पछि हट्ने अवस्थामा छैन । जबकी भोलिदेखि ९ गतेसम्म प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफल गर्ने क्यालेन्डर छ । जेठ ९ गते नै नीति तथा कार्यक्रम पारित गर्ने क्यालेन्डर संघीय संसद् सचिवालयले बनाएको छ ।

कांग्रेसको अवरोधका कारण नीति तथा कार्यक्रममाथिको छलफल नै गर्न नसक्ने अवस्था भए सरकारले संसद् अधिवेशन नै अन्त्य गर्ने र अध्यादेशबाट नयाँ बजेट ल्याउने तयारी गरेको हो । अझै सहमतिका लागि केही दिन कांग्रेससँग प्रयास गर्ने र त्यो प्रयास सफल नभए अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

सरकारलाई नीति तथा कार्यक्रममाथि सदनमा छलफल गराएर पारित भएपछि मात्रै जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्ने छ । १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । यो बाध्यता बुझन सरकारले कांग्रेसलाई पटकपटक आग्र गरिसकेको छ । कांग्रेसले नमानेको अवस्थामा अध्यादेशको विकल्प नहुने सत्तारुढ दलका नेताहरुको ठहर छ । दलहरुले सरकारलाई पनि त्यही सुझाव दिने गरेका छन् ।

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने

काठमाडौं– सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गरे।

राष्ट्रपति पौडेलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायतका पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने उल्लेख गरे । सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने जनाएको छ ।

त्यसैगरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाका रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले संघीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने बताए। उनले एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने बताए ।

सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने

काठमाडौं– सरकारले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने बताएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने बताएका हुन् । यस्तै सीमा पार सुरक्षा व्यवस्था कडा बनाउने र राजस्व चुहावट रोक्ने पनि सरकारको योजना छ ।

यस कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।