जोडिनुहोस

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद बैठक अबरुद्ध गरे अध्यादेशबाट बजेट ल्याउने तयारी सरकारले गरेको छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै नेपाली कांग्रेसले सदन चल्न दिएको छैन । सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको कांग्रेसले त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन बसेको संसद्को बैठकसमेत अवरुद्ध गरेको थियो ।

संघीय संसद्का दुवै सदनको बैठक भोलि बस्दैछ । तर नेपाली कांग्रेसले भोलि पनि सदन चल्न नदिने चेतावनी दिइसकेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले मानेको छैन । समग्र सहकारीको छानबिन गर्न सरकार तयार देखिए पनि व्यक्ति केन्द्रीत छानबिन सम्भव नभएको निष्कर्ष सरकारको छ ।

नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछानेमाथि नै छानबिन गर्नुपर्ने भन्दै आएको छ । लामिछानेमाथि छानबिन नभएसम्म सरकारलाई अप्ठ्यारो पार्ने रणनीतिमा रहेको कांग्रेसले आफ्नो मागबाट पछि हट्ने अवस्थामा छैन । जबकी भोलिदेखि ९ गतेसम्म प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफल गर्ने क्यालेन्डर छ । जेठ ९ गते नै नीति तथा कार्यक्रम पारित गर्ने क्यालेन्डर संघीय संसद् सचिवालयले बनाएको छ ।

कांग्रेसको अवरोधका कारण नीति तथा कार्यक्रममाथिको छलफल नै गर्न नसक्ने अवस्था भए सरकारले संसद् अधिवेशन नै अन्त्य गर्ने र अध्यादेशबाट नयाँ बजेट ल्याउने तयारी गरेको हो । अझै सहमतिका लागि केही दिन कांग्रेससँग प्रयास गर्ने र त्यो प्रयास सफल नभए अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

सरकारलाई नीति तथा कार्यक्रममाथि सदनमा छलफल गराएर पारित भएपछि मात्रै जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्ने छ । १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । यो बाध्यता बुझन सरकारले कांग्रेसलाई पटकपटक आग्र गरिसकेको छ । कांग्रेसले नमानेको अवस्थामा अध्यादेशको विकल्प नहुने सत्तारुढ दलका नेताहरुको ठहर छ । दलहरुले सरकारलाई पनि त्यही सुझाव दिने गरेका छन् ।

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने

काठमाडौं– सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गरे।

राष्ट्रपति पौडेलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायतका पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने उल्लेख गरे । सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने जनाएको छ ।

त्यसैगरी सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाका रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलले संघीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने बताए। उनले एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने बताए ।

सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने

काठमाडौं– सरकारले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने बताएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने बताएका हुन् । यस्तै सीमा पार सुरक्षा व्यवस्था कडा बनाउने र राजस्व चुहावट रोक्ने पनि सरकारको योजना छ ।

यस कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।

पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने

काठमाडौं– सरकारले पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने बताए।

साथै आगामी वर्षको नीति तथा कार्यक्रमझैँ यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रमले निरन्तरता दिइएको छ । राष्ट्रपति पौडेलले सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गरे।

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङरडेमोन्सट्रेसन’ २०८० भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट सुरु गरिएको थियो । बीस हजार मात्रा खरिद गरेर ल्याइएकाले सात प्रदेशमा १–१ वटा अस्पतालबाट मात्र खोप दिइएको थियो ।

सरकारले कर प्रणालीमा सुधार गर्ने

काठमाडौं– सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने घोषणा गरेका हुन् ।उनले वित्तिय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउँदै लघुवित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।

त्यस्तै बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने सरकारले नीति लिएको छ ।

तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने, निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गरिने र आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने सरकारले नीति लिएको छ ।

२०८२ सम्म सडक मानवमुक्त बनाउने सरकारको घोषणा

काठमाडौं– सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे।

साथै, ज्येष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिकासम्बन्धी नीतिगत व्यवस्था गरिने, ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्धको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ज्येष्ठ नागरिकलाई स्थानीय तहमार्फत घरमा नै नियमित स्वास्थ्य परीक्षण एवम् औषधि उपलब्ध गराइने सरकारको नीति छ ।

सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन हुने

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन गर्ने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन गर्ने दाबी गरे ।उनले १० कक्षासम्म राम्रासँग चलेका विद्यालयमा ११, १२ पनि संचालन हुने बताए ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन गर्न पहल गर्ने मन्त्री भएपछि नै दाबी गरेकी थिइन ।

शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने नीति लिएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था गरेको बताए ।

उनले विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने पनि दाबी गरे ।

बुढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण सुरु गरिन लागेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१(८२ को सरकारको नीति तथा कार्यक्रममा बुढीगण्डकी जलविद्युत् आयोजना र नलगाड जलाशययुक्त आयोजनाको निर्माण अगाडि बढाउने उल्लेख छ ।

एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । मुआब्जा वितरणलगायतका काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको शीघ्र शिलान्यास गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउँदै आएका छन् ।

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने

काठमाडौं–सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम संचालन गर्ने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम संचालन गरिने बताए ।

यस्तै उनले महिलालाई आत्मनिर्भर बनाउन रोजगारीसँग जोड्नेसमेत बताए ।

काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी आउने

काठमाडौं– मेलम्चीबाट बाह्रै महिना काठमाडौंमा पानी आउने वातावरण तयार पार्ने सरकारले दाबी गरेको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँमा बाह्रै महिना नै मेलम्चीको पानी आउने व्यवस्था मिलाउने बताए ।

उनले अन्य क्षेत्रमा पनि खानेपानीको समस्या समाधान गर्न पहल हुने बताए ।

२०८२ असारसम्म प्रणालीमा ४,५०० मेगावाट विद्युत जडान लक्ष्य

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ सम्म राष्ट्रिय प्रणालीको कूल विद्युत जडित क्षमता ४,५०० मेगावाट पुर्‍याउने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कूल विद्युत जडित क्षमता ४ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पुर्‍याइने सरकारको लक्ष्य सार्वजनिक गरेका हुन्‌ ।

जलस्रोतको समग्र विकास र उपयोगका लागि राष्ट्रिय ऊर्जा नीति र जल तथा मौसम विज्ञान नीतिका साथै जलस्रोत ऊर्जा दक्षता तथा नविकरणीय ऊर्जा, सिँचाइ नदी तथा जलउत्पन्न विपद्‌ व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नदी बेसिन गुरुयोजनाअनुसार जलस्रोतको समुचित संरक्षण, सम्वर्द्धन तथा अधिकतम उपयोग गरिने र सौर्य ऊर्जाको समेत विद्युत खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ ।