जोडिनुहोस

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।

७२ वर्षीय मोदी पछिल्लो समय उनी क्यान्सरसँग लडिरहेका थिए। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले ट्वीटर (एक्स)मा उनलाई श्रद्धाञ्जली दिएका छन्। केही दिन अगाडि मात्र मोदीले ट्वीटर गर्दै आफू क्यान्सरसँग ६ महिनादेखि लडिरहेकाले लोकसभा चुनावका लागि धेरै काम गर्न नसक्ने बताएका थिए।

सन् १९७१ बाट विद्यार्थी राजनीति हुँदै उनी भारतको राजनीतिमा प्रवेश गरेका थिए। २०१७ उनी बिहारको उपमुख्यमन्त्री बनेका थिए।

मन्त्रिपरिषदले पारित गर्‍याे नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्रिपरिषद बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको छ ।

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा तोकिएको छ ।

यसअघि वैशाख २३ गते उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो। यसअघि पनि पटक पटक उक्त मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ लाख ३८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँ थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।

कांग्रेस संसदीय दलको सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने छलफल भएको सांसद रामहरि खतिवडाले जानकारी दिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अवरोध नगर्ने तर अरु विषयमा प्रवेश गर्न नदिने बताए । जारी बैठकमा रास्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे सांसदहरुले मिश्रित धारणा राखेका छन् ।

शीर्ष नेताहरुले राष्ट्रपतिले गर्ने सम्बोधनमा अवरोध गर्न नहुने बताएका छन् भने युवा नेताहरुले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अवरोध जारी राख्नुपर्ने धारणा राखेका छन् । यसअघि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। संघीय संसदको संयुक्त बैठकमा आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना

काठमाडौँ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ बाट कार्यान्वयनमा जाने यो आवधिक योजनालाई गत माघ मसान्तभित्र ल्याइसक्ने गरी राष्ट्रिय योजना आयोगले कार्यसूची बनाएको भए पनि हालसम्म स्वीकृत हुने सकेको छैन । यद्यपि, सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटसँग तालमेल हुनेगरी आवधिक योजना तयार पार्नुपर्ने भएकाले अन्तिम स्वीकृतिका लागि केही समय लागेको आयोगले जनाएको छ ।

  नयाँ आवधिक योजनाको मस्यौदामा केही महत्वाकांक्षी लक्ष्य राखिएका छन् । आर्थिक वर्ष २०८५/८६ मा आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आय अमेरिकी डलर दुई हजार चार सय १३ पु-याउने लक्ष्य छ । चालु आवमा नेपालको प्रक्षेपित आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत र प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार चार सय ५६ रहेको छ ।

त्यसैगरी, अहिले निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या २० दशमलव तीन प्रतिशत रहेकामा पाँच वर्षभित्रमा १२ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ मा पाँच प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । नयाँ आवधिक योजनाको मस्यौदाअनुसार मानव विकास सुचकाङ्कमा अहिले नेपालको सूचकाङ्क शून्य दशमलव ६०१ रहेकोमा पाँच वर्षमा शून्य दशमलव ६५० पु-याउने, मानव सम्पत्ति सुचकाङ्क ७६ दशमलव तीनबाट ७८ पु-याउने र आर्थिक तथा वातावरणीय जोखिम सुचकाङ्क २९ दशमलव सातबाट २४ मा झार्ने लक्ष्य निर्धारण गरिएको छ ।

 नेपालीको औसत आयु अहिले ७१ दशमलव तीन वर्ष रहेकोमा पाँच वर्षभित्र ७३ वर्ष पु-याउने लक्ष्य राखिएको छ । आधा घण्टाको दूरीमा स्वास्थ्य संस्थाको पहुँच भएका परिवारको सङ्ख्या अहिले ७७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ मा ९० प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । त्यसैगरी साक्षरता दर हाल ७६ दशमलव दुई प्रतिशत रहेकोमा आवधिक योजना सकिँदासम्म ८५ प्रतिशत पु-याउने र बेरोजगारी दर ११ दशमलव चार प्रतिशतबाट पाँच प्रतिशतमा झार्ने लक्ष्य सरकारको छ ।

अहिले तीन हजार एक सय मेगावाट हाराहारी रहेको जलविद्युत् उत्पादनलाई पाँच वर्षभित्रमा ११ हजार सात सय ६९ मेगावाट पु-याउने लक्ष्य राखिएको छ । त्यसैगरी, इन्टरनेटको पहुँचमा अहिले ६९ दशमलव दुई प्रतिशत जनसङ्ख्या रहेकोमा आव २०८५/८६ सम्ममा ९० प्रतिशत पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा ६३ प्रतिशत परिवारको पहुँच रहेकोमा त्यसलाई बढाएर ८५ प्रतिशत पु-याउने लक्ष्य निर्धारण गरिएको छ ।

 विधिको शासन सूचकाङ्क शून्य दशमलव ५२ बाट शून्य दशमलव ८०, विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क ५२ बाट ६५ र भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क ३५ बाट ४३ पु-याउने लक्ष्य निर्धारण गरिएको छ । कुल विनियोजनमा खर्चको अनुपात ८० प्रतिशतबाट ९० प्रतिशत पु-याउने, कूल गार्हस्थ्य उत्पादनको अनुपातमा बेरुजु १० दशमलव नौ प्रतिशत रहेकोमा पाँच प्रतिशतमा झार्ने र विद्युतीय सरकार सूचकाङ्क (ई–गभर्नेन्स इन्डेक्स) शून्य दशमलव ५१२ रहेकोमा शून्य दशमलव ६०० पु-याउने लक्ष्य आवधिक योजनामा राखिएको छ ।

 क्षेत्रगत सूचक तयार पारेर लक्ष्य तोकिएको छ भने त्यसको प्राप्तिका लागि रुपान्तरणकारी रणनीति तथा प्रमुख हस्तक्षेपकारी कार्यक्रम आवधिक योजनामा राखिएको छ । आवधिक योजनाको मस्यौदामा आगामी पाँच वर्षभित्र मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार करिब रू तीस खर्बले वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिले आधारभूत मूल्यमा जिडिपीको आकार रु ५३ खर्ब ८१ अर्ब बराबर छ । १६औँ योजनाको अन्तसम्ममा रू ८० खर्ब देखि रू ८६ खर्बको हाराहारी पु-याउने लक्ष्य राखिएको छ । गत आवमा एक दशमलव ८६ प्रतिशत रहेको आर्थिक  वृद्धिदरलाई नयाँ आवधिक योजनाको अन्त्यसम्ममा औसत सातदेखि साढे आठ प्रतिशतसम्म कायम गर्ने लक्ष्य मस्यौदामा राखिएको छ ।

 योजना आयोगका अनुसार विभिन्न क्षेत्रगत रणनीतिसहितका हस्तक्षेपकारी कार्यक्रम राखेर आवधिक योजनाको मस्यौदा तयार पारिएको छ । मुख्य १४ वटा शीर्षकमा रुपान्तरणकारी रणनीति, प्रमुख हस्तक्षेपकारी कार्यक्रम र परिमाणात्मक लक्ष्यसहितको खाका आवधिक योजनामा छ । समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र तीव्रतर आर्थिक वृद्धि, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षालगायतका क्षेत्रगत रुपमा शीर्षकहरु राखिएका छन् । त्यस्तै, गुणस्तरीय पूर्वाधार एवं एकीकृत यातायात व्यवस्था प्रणाली, आधुनिक, दिगो र व्यवस्थित शहरीकरण तथा बस्ती विकास, लैङ्गिक सशक्तीकरण, सामाजिक समावेशीकरण र परिचालन, प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास, गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण शीर्षक परिच्छेद छुट्याइएका छन् । प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती पश्चातको सहजीकरण र दिगो विकास लक्ष्य र हरित अर्थतन्त्रलगायतका विषय आवधिक योजनामा राखिएका छन् ।

 हाल १७ दशमलव ८ प्रतिशत रहेको राजस्व र जिडिपीको अनुपात २४ प्रतिशतभन्दा माथि पु-याउने लक्ष्य तय गरिएको छ । जिडिपी अनुपातमा सङ्घीय खर्च हाल साढे २६ प्रतिशत बराबर रहेकोमा त्यसलाई ३२ प्रतिशत पुर्याउनेगरी लक्ष्य तय गर्न लागिएको छ । त्यस्तै, सार्वजनिक ऋण जिडिपीको ४५ प्रतिशतभन्दा माथि जान नदिनेगरी तय गरिएको छ । हाल २७ प्रतिशत रहेको जिडिपीमा व्यापार घाटाको अनुपात २४ प्रतिशतभन्दा घटाउने लक्ष्य राखिएको छ । कूल निर्यात जिडीपी अनुपातमा सात प्रतिशतभन्दा माथि पु-याउने लक्ष्य छ । जुन अनुपात हाल साढे तीन प्रतिशत छ । अहिले जिडिपी अनुपातमा कूल आयात ३४ दशमलव पाँच प्रतिशत रहेकोमा त्यसलाई ३१ प्रतिशतभन्दा तल पु-याउने गरी लक्ष्य निर्धारण गर्न लागिएको छ । विप्रेषण आय र कुल गार्हस्थ्य उत्पादन अनुपात २२ देखि २४ प्रतिशत हाराहारी राख्ने गरी लक्ष्य निर्धारण गर्न लागिएको छ ।

आन्तरिक उत्पादन र उत्पादकत्व बढाउन केही महत्वाकांक्षी लक्ष्य राखिएका छन् । आन्तरिक उत्पादन बढाउन १७ वटा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने, एक सय ४० वटा औद्योगिक ग्राम घोषणा गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को सङ्ख्या दुईबाट तीन पु-याउने लक्ष्य मस्यौदामा छ । त्यस्तै, हाल दुई हजार आठ सय हाराहारी रहेको विद्युत् उत्पादन जडित क्षमता ११ हजार आठ सय हाराहारी पु-याउने, प्रतिव्यक्ति विद्युत् खपत तीन सय ८० किलोवाट घण्टाबाट बढाएर सात सय किलोवाट घण्टा पु-याउनेलगायतका लक्ष्य आवधिक योजनाको मस्यौदामा छ ।

नयाँ आवधिक योजनाको अन्त्यसम्ममा वार्षिक रु ४१ अर्ब बराबरको बिजुली नियार्त गर्ने र समग्र व्यापार घाटा कम गर्न ऊर्जा क्षेत्रको योगदान करिब चार प्रतिशत पु-याउने लक्ष्य तय गरिएको छ । हाल १५ लाख ५५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेकोमा त्यसलाई १७ लाख २२ हजार हेक्टर पु-याउने लक्ष्य निर्धारण गर्न लागिएको छ । आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित जनसङ्ख्या हाल ९६ प्रतिशत रहेकोमा त्यसलाई ९९ प्रतिशत पु-याउने लक्ष्य नयाँ आवधिक योजनाको मस्यौदामा छ ।

त्यस्तै, वार्षिक १२ लाख हाराहारीमा रोजगारी सिर्जना गर्ने, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पु-याउने, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने लाभग्राहीको सङ्ख्या २० लाख पु-याउने र श्रम सम्झौता भएका गन्तव्य मुलुकको सङ्ख्या १५ वटा पु-याउने लक्ष्य नयाँ आवधिक योजनाको मस्यौदामा समावेश छ ।

मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा एक सय ५१ जना रहेकोमा त्यसलाई ८५ मा झार्ने लक्ष्य राखिएको छ । वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशत हाराहारी पु-याउने गरी लक्ष्य निर्धारण गर्न लागिएको छ । पाँच वर्ष र सोभन्दा माथिको साक्षारतादर शत प्रतिशत पु-याउने, शिक्षण सिकाईमा इन्टरनेटको पहुँच भएका शैक्षिक संस्था शतप्रतिशत पु-याउने, विद्युत् पहुँच शतप्रतिशत राख्ने लक्ष्यसहित मस्यौदा बनेको छ ।

 विसं. २०८० साउन तेस्रो हप्ता बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को अवधारणापत्र स्वीकृत गरेको थियो । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँ योजनाको अवधारणा तयार पारिएको छ । राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य सोह्रौँ योजनाको मस्यौदामा राखिएको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु पनि सोह्रौँ योजनाको उद्देश्यमा उल्लेख गरिएको छ ।

 नयाँ आवधिक योजनाले ‘विकासका काममा देखिएका संरचनात्मक अवरोधको पहिचान, सम्बोधन र निराकरण गर्दै संरचनात्मक रुपान्तरणमार्फत सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने’ रणनीति तय गरेको छ । “योजना कार्यान्वयन सम्बन्धमा सबै तह र पक्षका सरोकारवाला निकाय बीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउने, अध्ययन अनुसन्धान तथा तथ्यमा आधारित रहेर नीति निर्माण एवम् विकासका प्रयास गर्ने रणनीति लिइनेछ ।” स्वीकृत अवधारणापत्रमा भनिएको छ । त्यस्तै, नयाँ आवधिक योजनाको अवधारणापत्रमा संरचनात्मक रुपान्तरणका क्षेत्र तथा रणनीति तय गरिएका छन् ।

 “समग्र आर्थिक आधारको सबलीकरणका लागि प्राथमिक क्षेत्रको सबलीकरण, द्वितीय क्षेत्रको विकास तथा विस्तार र सेवा क्षेत्रको स्थायित्व कायम गरिनेछ”, अवधारणापत्रमा भनिएको छ, “राजस्वको आधार र दायरा विस्तार गरी अनुमानयोग्य वित्त प्रणालीको विकास गर्ने, वित्तीय स्रोतलाई उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरी समावेशी परिचालन र बाह्य क्षेत्रको स्थायित्व कायम गरिनेछ ।”

उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि उत्पादनका सबै किसिमका स्रोत र साधनको समयवद्ध, गुणस्तरीय एवम् लागत प्रभावि आपूर्ति प्रणालीको सुनिश्चितता गरिने नीति लिइएको छ । त्यस्तै, बजारको माग अनुरुपको ज्ञान, सीप, दक्षता र ऊर्जाशील श्रमशक्तिको उत्पादन र परिचालनमा जोड दिइएको छ । अनुसन्धान र विकासमा आधारित नविनतम प्रविधि तथा व्यवस्थापनका विधिको अवलम्बन गर्ने, मर्यादित, उत्पादनशील एवम् समावेशी रोजगारको अवसरको सिर्जना गर्ने विषय पनि संरचनात्मक रुपान्तरणको रणनीतिमा राखिएको छ ।

 निजी, सरकारी तथा गैरसरकारी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने नीति लिइने जनाइएको छ । उद्यमशीलताउन्मुख स्वरोजगारका लागि व्यवसायिक तालिमको उपलब्धतासँगै सुरुवाती पुँजी लगानीमा सहयोग गर्ने, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण, ज्ञान, सीप, प्रविधिको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने लगायतका विषय अवधारणापत्रमा राखिएका छन् । सीमान्तकृत वर्ग तथा समुदायको सशक्तिकरण र सकारात्मक विभेदमार्फत् समावेशी रोजगार प्रवद्र्धन गर्ने, आप्रवासी कामदारको नियमन गरी आन्तरिक श्रम बजारमा स्वदेशी श्रमिकलाई प्राथमिकता लिइने जनाइएको छ ।

मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना रणनीतिमा राखिएको छ । “सरकारका तीनवटै तहमा जनसाङख्यिक लाभको उपयोगमार्फत् सीपयुक्त र क्षमतावान श्रमशक्तिको उत्पादन गरी स्वदेशमै रोजगारी अवसर सिर्जना गरिनेछ”, अवधारणापत्रमा भनिएको छ, “वैदेशिक रोजगारका लागि सुरक्षित कार्यवितरणसहित उच्च प्रतिफलयुक्त आय भएका नयाँ गन्तव्य मुलुकहरुको पहिचान र श्रम सम्झौता गर्ने रणनीति बनाइएको छ ।

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्ण खोप घोषणा गरिएको हो ।

म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्ण खोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए। बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेईलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए। म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, एक सय १७ खोप केन्द्र, ६८ गाउँघर क्लिनिक रहेका छन् ।

बालबालिकालाई पूर्ण खोप लगाउनका लागि तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणा अघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको नलगाएको विषयमा अध्ययन गरेका थिए ।

यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी पहिलो जिल्ला बनेको जिसस म्याग्दीका प्रमुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सीताकुमारी सुन्दासले खोप कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री सुन्दासले बताए ।

एक जनालाई पूर्ण खोप प्रदान गर्न रु ४० हजार खर्च लाग्ने र म्याग्दी जिल्लाका सबै बालबालिकाको पूर्ण खोप सुनिश्चितताका लागि वार्षिक रु ७० लाख ८४ हजारभन्दा बढी रकम खर्च लाग्ने गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताए ।

काँग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल : नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद्को बैठकमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग छलफलका लागि काँग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्‍याइदिन आग्रह गरेका काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘प्रधानमन्त्रीजीले सत्ता गठबन्धनभित्र आफूले संसदीय समिति बनाउन प्रयास गरेको कुरा सुनाउनुभयो । र उहाँले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्‍याउन आग्रह गर्नुभएको छ,’ लेखकले भने, ‘यसपछि लगत्तै हामी संसदीय दलको बैठक बस्दैछौँ । त्यही बैठकबाट यसबारे निर्णयमा पुग्छौँ ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै काँग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । काँग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै अवरोध गरेको थियो ।

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, कांग्रेसले के गर्ला

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा पठाएको छ ।

बैठकमा उपस्थित हुन राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यलाई सचिवालयले यसअघि सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ । त्यस कार्यक्रममा सहभागी हुन संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी/व्यवसायी, समाजका लब्धप्रतिष्ठित व्यक्ति र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ ।

तर संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन्। दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ। आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन।

कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। विहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलको बैठक बसेर थप निर्णय गरिने सचेतक सुशिला थिङले जानकारी दिइन्।

धमलाका अनुसार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्राछुट्टै छलफल गरिने छ।

प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ।

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय चुनौतीपूर्ण छ। पैसाको सुख भए पनि इमान्दार साथीको अभाव हुनेछ। तपाईंको पक्षमा बोल्ने मान्छेको खाँचो हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक काम र पारिवारिक भेटघाटमा दिन बित्नेछ।

वृषः खर्च बढी हुने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। विदेशमा भन्दा स्वदेशमा लगानी गर्दा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन रमाइलो बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर लगानी गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कटः चन्द्रमा तपाईंकै राशिमा भएकाले तपाईंको सम्मान हुनेछ। सामाजिक क्षेत्रमा तपाईंले गरेको कामको प्रशंसा हुनेछ। व्यापार विवादित हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सुन्दरताका पछाडि लाग्दा साथी गुमाउनुपर्ने जोखिम देखिन्छ।

सिंहः राम्रो आम्दानी हुनेछ। जुन क्षेत्रमा लगानी गरे पनि फाइदा हुनेछ। निर्णय लिन नसक्दा परिवारमा खटपटी हुने देखिन्छ। व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। पैसाको घमण्डले परिवार बिग्रने जोखिम देखिन्छ।

कन्याः सुरक्षाको सुनिश्चितता भएकाले आज लगानी गर्न डराउनु पर्दैन। शिक्षामा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः आजको दिन रमाइलो गरेर बित्नेछ। परिवारसँगको रमाइलो अविस्मरणीय हुनेछ। रमाइलो गर्दा खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापारमा नाफा आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ भने वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

वृश्चिकः अधिकारका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम रहेकाले सचेत हुनुपर्ने देखिन्छ। आज ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीले खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा भने सफलता प्राप्त गर्न प्रतिक्षा गर्नुपर्नेछ। परिवारको माया पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः अचानक खर्च बढ्नेछ। जुनसुकै काम गर्दा पनि तीन पटक सोच्नु राम्रो हुन्छ। खर्चबाट बच्नका लागि गणेशको सम्झना गर्नु राम्रो हुनेछ। काम गर्नु अगाडि परिवारको सुझाव लिनु उत्तम हुन्छ।

कुम्भः धेरै रिस उठ्ने देखिन्छ। सोचेर नबोल्दा नराम्रो शब्द सार्वजनिक हुने जोखिम हुन्छ। गणेशको दर्शन गरेर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। जन्मुकण्डली हेरेर दिन शान्त पार्न सकिन्छ।

मीनः झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफ्ना सहकर्मीले कुरा काट्ने गर्छन्। सोचेर र मन शान्त राखेर व्यवहार गर्नु उचित हुनेछ। परिवारबाट हुने साथ र सहयोग राम्रो रहनेछ।

राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक

केन्द्रीय तथ्यांक कार्यालयले मुलुकको हिमाल, पहाड र तराईको वस्तुस्थितिमा आधारित भई तयार पारेको राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा २९ जिल्लाका छ हजार पाँच सय घर परिवारमा पुगी तयार पारिएको सो प्रतिवेदन प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडिपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डद्वारा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

कम्तीमा २५ वर्ष एकैस्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा प्रतिवेदन तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । सो अवसरमा प्रमुख तथ्यांक अधिकारी पोखरेलले देशको समग्र भूभाग समेट्नेगरी जलवायु परिवर्तन सम्बन्धी तयार गरिएको प्रतिवेदन नीति निर्माण तहमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

युएनडिपीका उपप्रमुख सेभिलार्डले सरकारी निकायसहित विकास साझेदार र गैरसरकारी संस्थालाई नीति निर्माण एवं कार्यक्रम तर्जुमा गर्न जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनले सहयोग पुर्‍याउने धारणा व्यक्त गरे । प्रतिवेदनमा खडेरी, बाढी, पहिरो, वन अतिक्रमण र डढेलो, भूक्षय, रासायनिक मल एवं विषादीको अधिक प्रयोगलगायतका कारण तापक्रम वृद्धि भई जलवायु परिवर्तनको असर देखिएको उल्लेख छ ।

१७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, सात करोड ६५ लाखको कारोबार

सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरूले अवलोकन गरेका छन् ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष-अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको जानकारी दिए । अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतीहरूका बीच पनि उपभोक्ताहरूको स्वदेशी उत्पादन प्रति अपार माया देखिएको बताए । प्रदर्शनीका सहभागीहरूको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उनले बताए । भुकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरू सताइएको भन्दै उनले साना उद्योगहरूको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्रान्डिङ’ गरेर विश्व बजारमा पुर्‍याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए। पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै अर्थसचिव मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताए ।

अर्थतन्त्रमा देखिएको असहजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर मात्रै सम्भव भएको उनको भनाई थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्न सकिने बारे छलफल भइरहेको उनले बताए ।

नेपाल मौरी पालक महासङ्घका अध्यक्ष सुवास चन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए ।