जोडिनुहोस

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् ।एसियाली विकास बैंक एडिबीको सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण भइरहेका क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ ।

आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सञ्जीव शाहले तीनवटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारि रहेका बताए। उनका अनुसार गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

उक्त प्रधोशन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्यसहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको छ ।५२ करोड ४८ लाखमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणपछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने स्थानीयको भनाइ छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिका–७ पटेलास्थित सामुदायिक वनको जग्गाप्राप्तिपछि हालै यहाँ प्रशोधन केन्द्र निर्माणको काम सुरू भएको इन्जिनियर शाहले जानकारी दिए।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्यसम्पन्न भइसकेको छ । यहाँ ३० करोड २५ लाखमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिनाभित्र कार्यसम्पन्न गर्ने सम्झौता रहेको इन्जिनियर शाहले बताए। एडिबीले सुदूरपश्चिमका चार सहरमा सडक पूर्वाधार स्तरोन्नतिसहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको छ ।

यहाँ धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजनासहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सकेन ।

यहाँको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले फोहरमैला व्यवस्थापन केन्द्र बने नगरको फोहर व्यवस्थापनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले प्रशोधन केन्द्रमा स्वास्थ्यजन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको समेत बताए ।

सांसद चौधरीको तर्क- विदेश पढ्न जाने विद्यार्थी बढे, नेपालको शिक्षा प्रणाली सुधारौँ

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकमाथिको संशोधनका बारेमा जानकारी गराउँदै स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी आकर्षित गर्ने गरी कानून बन्नुपर्नेमा जोड दिएका थिए ।

विधेयकमाथिको संशोधनकर्ता सांसद ठाकुरप्रसाद गैह्रेले औचित्य पुष्टि हुने गरी विधेयकमा रहेका व्यवस्थामाथि सहमति जुटाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयको सम्बन्धन र स्वकृतिका विषयमा विधेयकमाथि रहेको व्यवस्थामा आवश्यकता बमोजिम भन्ने व्यवस्था राखे ।

त्यस्तै संशोधनकर्ता सांसद तेजुलाल चौधरीले धेरै विश्वविद्यालयमा विद्यार्थीहरू नै नभएको अवस्थामा अव कस्तो र कति संख्यामा विश्वविद्यालय आवश्यक छ भन्ने सोच्न जरुरी भइसकेको बताए । उनले पछिल्लो समय धेरै विद्यार्थीहरू अध्ययनका लागि विदेश गइरहेको अवस्थामा नेपालको शिक्षामा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै सांसदहरूले बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको सूची हेरफेरका विषयमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

काठमाडौं– वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए ।

त्यस्तै डढेलोका घटनामा परी छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए । त्यस्तै यस अवधिमा चट्याङबाट आठ जना, उचाइमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको थियो । वन तथा भू-संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए। यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।

डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले जानकारी दिए।

कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ ।

दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटना, मृतकको संख्या तीन पुग्यो

दैलेख- गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।बिजुलीको पोल बोकेर गइरहेको ट्याक्टर कच्ची सडकमा भार थेग्न नसक्दा दुर्घटनामा परेको थियो ।

जिल्लाको बस्नेपाटीदेखि खर्च्यागैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ ढाँडस्थित जंगलमा दुर्घटना भएको हो ।दुल्लु नगरपालिका-६ खर्च्यागैराका ५५ वर्षका मान बहादुर रावतको दुर्घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।

घाइतेहरूमध्ये दुल्लु-६ बस्ने ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको सुर्तेमा उपचारका क्रममा मृत्यु भएको हो। दुल्लु –६ का ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ३१ वर्षीय ललित खड्का घाइते छन्।

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो । पार्टीबाट सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष यादवले आज राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

यता जसपा अध्यक्ष यादवले सर्वोच्च अदालतमा रिट दिएका छन् । उनले आफ्नो पार्टी जसपा नेपाल विभाजन भएपछि नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् ।आयोगले दल विभाजन सम्बन्धी कानून निष्क्रिय भएको बेला दल फुटाएर दर्ता गराएको उपेन्द्रको तर्क छ ।

उनको रिटमा नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको बताइएको छ ।

अनेरास्ववियु स्थापना दिवसको अवसरमा ‘विद्यार्थी महोत्सव’

काठमाडौं– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जेठ १ गतेदेखि काठमाडौंमा हुन लागेको विद्यार्थी महोत्सवको तयारी पुरा भएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गदै अनेरास्ववियुले संगठन स्थापनाको ६० वर्ष पुरा भएको अवसरमा आयोजना गर्न लागेको ‘विद्यार्थी महोत्सव-२०८१’ को तयारी पुरा भएको जनाएको हो ।

जेठ १ देखि ३ गतेसम्म हुने महोत्सव नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सबै भन्दा ठूलो कार्यक्रम भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए। महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र बिभिन्न सत्रहरुमा छलफल हुने उनले बताए। विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढि शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिव एक लाख विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको बडालले जानकारी दिए ।

सरकारी तथ्याङ्क अनुसार हरेक वर्ष एक लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । विदेशमा होइन, नेपालमा नै उत्कृष्ट गुणस्तरीय शिक्षा छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको अखिलले जनाएको छ ।

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो; बालेन शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन  शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रमको नतिजा रहेको प्रमुख शाहको भनाइ छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका कक्षा ९ र १० का ‘स्केचिङ एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिको अवलोकन गर्दै प्रमुख शाहले उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले ‘विद्यालयमा सीप सिकेका विद्यार्थीलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिने पनि बताए । उनले माटोका भाँडा बनाउने विद्यार्थीको सीपको प्रसङ्ग जोड्दै भने, “वडा नं ५ मा व्यावसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।” कामपा शिक्षा विभागले ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा विद्यार्थीले बनाएका चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब छ सय वटा मूर्ति राखिएका थिए । चित्रमा जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर र चराचुरुङ्गीका चित्र थिए ।

मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । बालबालिकाले घरमा खेलौनाका रूपमा प्रयोग गर्ने आकृतिमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी र खाना बनाउने भाँडा थिए ।कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीको सङ्ख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् ।

कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका थिए । उक्त विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिमका क्रममा विद्यार्थीले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा थिए । यसमा विश्व निकेतन, रत्नराज्य, ज्ञानोदय, तरुण, गीतामाता, कन्या मन्दिर, सहिद शुक्र, पद्मकन्या विद्याश्रम र कोटेश्वर सरस्वती मावि गरी नौ वटा विद्यालयका १९ समूहका विद्यार्थीले बनाएका कला समावेश थिए ।

भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ

भन्सार विभाग घेराउमा उत्रिएका प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपाका नेता तथा कार्यकर्तामाथि प्रहरी धरपकड भएको छ । त्रिपुरेश्वरस्थित विभागको घेराउमा उत्रिएका आजपाका कार्यकर्तामाथि सोमबार प्रहरीले धरपकड गरेको हो । सो क्रममा आजपाका एक दर्जन कार्यकर्ताहरू पक्राउ परेका छन् । आन्दोलनका क्रममा प्रहरी धरपकडमा केन्द्रीय सदस्यहरू चन्दा देवी साह र चन्द्रिका साह घाइते भएको सो पार्टीले जनाएको छ । यस्तै तिलक थापा मगर, चन्द्र भूषण साह, रञ्जु साह, आर्य पाण्डे, चन्द्रिका लाल साह, देव कुमारी साह, कनक सिंह, मीना देवी साह, बिरबल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साहलगायत पक्राउ परेको सो पार्टीले जनाएको छ । आजपाले विगत लामो समयदेखि भन्सार नियमावलीमा भएको गत प्रावधान खारेजीको माग गरेर आन्दोलन गर्दै आएको छ । आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेज नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।

 

 

तरुण दलको बैठकमा कुटाकुट

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो ।गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ । न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले मुद्रा संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो । आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि लेखेका थिए । सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको थियो । गुरुङ र न्यौपाने समूहबिच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको देखिन्छ । तरुण दलमा दुई वटा समूहमा रहेका गुरुङ र न्यौपाने भाउ पार्टीमा सभापति शेरबहादुर देउवा पक्षमा मानिन्छन् ।

अनलाइन सट्टेबाजीमा २ अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

अनलाइन सट्टेबाजी गराएको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका अनिल ढुंगाना पक्राउ परेका छन् ।ढुंगानाले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई–सेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंक खातामा अहिलेसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । यस्तै उनले दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा अहिलेसम्म एक अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

टी–२० विश्वकपका लागि यी ३ वटा देशले टोली घोषणा गर्न बाँकी

आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले जानकारी दिएको छ ।

टी–२० विश्वकपका लागि सबैभन्दा पहिला न्युजिल्यान्डले टोली घोषणा गरेको थियो । न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यस्तै नेपालले रोहितकुमार पौडेल, भारतले रोहित शर्मा, पूर्वविजेता इङ्ग्ल्यान्डले जोस बटलर, दक्षिण अफ्रिकाले एडन मार्करमको कप्तानीमा टोली घोषणा गरेको छ ।

यसैगरी अफगानिस्तानले राशिद खान, अस्ट्रेलियाले मिचेल मार्श, क्यानडाले साद बिन जफर, ओमानले अकिब इलियास, स्कटल्यान्डले रिची बेरिङटन, युगान्डाले ब्रेन मसाबा, अमेरिकाले मोनान्क पटेल र वेस्ट इन्डिजले रवमान पावेलको कप्तानीमा टोली घोषणा गरेको छ । यस्तै आयरल्यान्डले पल स्टर्लिङ, नामिबियाले गेरहार्ड इरास्मस, श्रीलङ्काले वानिन्दु हसरङ्गा र पपुवा न्यु गिनी ९पीएनजी० ले असाद भालाको कप्तानीमा टोली घोषणा गरेको छ ।

२० वटा देश सहभागी हुने प्रतियोगिताका लागि अब पाकिस्तान, बङ्ग्लादेश र नेदरल्यान्ड्सले टोली घोषणा गर्न बाँकी छ ।

टी–२० विश्वकपको समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह ‘सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् । यस्तै समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट, २ जेठमा सुनुवाइ हुने

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दिएका छन् । उनले आफ्नो पार्टी जसपा नेपाल विभाजन भएपछि नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

आयोगले दल विभाजन सम्बन्धी कानून निष्क्रिय भएको बेला दल फुटाएर दर्ता गराएको उपेन्द्रको तर्क छ ।उनको रिटमा नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको बताइएको छ ।

रिटमा भनिएको छ, ‘म निवेदक अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिमा कुल ४०६ सदस्य रही रहेको र विपक्षी आयोगले नै सो सङ्ख्यालाई मान्यता दिएको अवस्थासमेत रहिरहेको अवस्थामा ४०६ सदस्यको ४० प्रतिशतले हुन आउने सदस्य सङ्ख्या अर्थात् १६३ जना केन्द्रीय समितिको अनिवार्य संलग्नता हुनुपर्दछ । जुन नभएको कारणबाट पनि गैर कानुनी रहेको छ’,

सर्वोच्च अदालतमा यो मुद्दा २ जेठमा सुनुवाइ गर्ने बताइएको छ । यसबारे यादवले भने ‘मलाई न्याय मिलेन अदालत गएको छु । अब न्याय पाउँछु भन्ने लागेको छ ।’ उनले अदालतको फैसला मान्ने बताए ।