जोडिनुहोस

अमेरिका लैजाने भन्दै २५ जना नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ

नेपालीहरूलाई अमेरिका पठाउने भन्दै केन्या पुर्‍याई बन्धक बनाउने गिरोहका मुख्य आरोपीसहित थप तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपी ओखलढुङ्गाका जगतबहादुर तामाङसहित तनहुँका विष्णुबहादुर बराली र तनहुँकै जङ्गबहादुर विकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । गिरोहका तीन जना गएको २७ गते नै पक्राउ परिसकेका छन् ।

उनीहरूले २५ जना नेपालीलाई अमेरिका पठाउने भनेर केन्या पुर्‍याएको अनुसन्धानबाट खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । १० जना नेपाली केही दिनअघि नेपाल आइसकेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । अरू १५ जना भने केन्यामै बन्धक रहेका प्रहरीले बताएको छ । उनीहरूले १५ जनाबाट सात करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तै वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएर फरार रहेका पोखराका विनोद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाट पक्राउ परेका श्रेष्ठलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, तापक्रम पनि बढ्ने

जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदो मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले धेरैजसो ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।

साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

यो हप्ता भित्र सरकार बिस्तार हुन्छ; मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यो हप्ता भित्रै सरकार बिस्तार हुने बताएका छन् । उनले आज मात्रै विश्वासको मत लिएका हुन् । विश्वासको मत लिइसकेपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।

विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् । उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको छ । कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित थिए । कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।

संसद्को अवरोध खोल्ने सभामुखको कोसिस, देउवा र गृहमन्त्रीसँग छलफल

काठमाडौँ– नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज छलफल गरेका छन् ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे। उनले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकाले सौहार्द्रपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरे।

सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए। उनले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने उल्लेख गरे। सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखे । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिए। यता कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ ।

सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरिसकेका छन् । उनले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ ।

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् ।

उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको छ । कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित थिए ।

कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ । तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

उक्त रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ ।

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं– अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

याचिकामा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको भारतीय मिडियाहरूले उल्लेख गरेका थिए । न्यायमूर्ति सञ्जीव खन्ना र न्यायमूर्ति दिपंकर दत्तले यस मामिलामा दिल्ली उच्च न्यायालयको निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने बताए । डिभिजन बेन्चले यस विषयमा कानुनी अधिकार नभएको बताएको थियो ।

सर्वोच्च अदालतले दिल्लीका लेफ्टिनेन्ट गभर्नरले चाहेमा यस मामिलामा हस्तक्षेप गर्न सक्छन् तर अदालतले यस मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । प्रवर्तन निर्देशनालय अर्थात ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

हाल निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको छ । तर केजरीवाललाई जुन २ मा फेरि जेल जानुपर्नेछ । पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि

काठमाडौं–सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ । आज नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा कायम भएको छ । आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक किनबेच भएको छ ।

आज नेप्सेमा ३२० कम्पनीको कारोबार हुँदा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले, फ्लोट इन्डेक्स १.७९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २ अंकले बढेको छ । १३ वटा उपसमूहमध्ये ४ समूहको शेयर मूल्य घटेको छ भने ९ समूहको शेयर मूल्य बढेको छ ।

आज तिन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलप्मेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुने भएको छ ।

आगामी जेठ २ गतेसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनेछ । महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा संगठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुनेछ । विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ । विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाइएको छ ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । बैठकस्थल सजाइएको छ भने देशभरबाट सहभागी हुने प्रतिनिधि आयोजकको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ । पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्ने बैठकको समाचार प्रचारप्रसारका लागि सूचना संकलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको छ ।

नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

चितवनमा प्रधानमन्त्रीले भने : अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिरोध अन्त्य भएर सदन खुल्ने विश्वास जनाएका छन् ।

पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले दलहरूबीच अनौपचारिक र औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । ‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,’ उनले भने, ‘आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।’

सत्ता समीकरणबारे हुने गरेको टिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।’

नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीले बताए। ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,’ उनले भने, ‘कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।’ सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको १४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारी दिए ।

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रद्वारा गठित स्वतन्त्र रणनीतिक समीक्षा टोलीको निष्कर्षका आधारमा इराकले युएनएएमआईलाई सन् २०२५ सम्म सहयोग मिसन समाप्त गर्नका लागि गरेको अनुरोध पर्याप्त समयरेखा हुने उल्लेख छ । विज्ञप्तिमा इराकी सरकारले इराकको अनुरोध र स्वतन्त्र रणनीतिक समीक्षा टोलीको सिफारिसको जवाफमा मे महिनाको अन्त्यसम्ममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको अपेक्षा गरिएको जनाएको छ ।

इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सन् २००३ मा स्थापना गरिएको युएनएएमआई विशेष राजनीतिक मिसन हो । समावेशी, राजनीतिक संवाद, राष्ट्रिय र सामुदायिक स्तरमा मेलमिलाप अगाडि बढाउनु, इराकको सरकार र जनतालाई सल्लाह, समर्थन र सहयोगको गर्नु यसको प्राथमिकता हो ।

यसले चुनावी प्रक्रियामा पनि सहयोग गर्ने, इराक र छिमेकीबीचको क्षेत्रीय संवादलाई सहज र मानव अधिकारको संरक्षण र न्यायिक र कानुनी सुधारको लागि प्रवर्द्धन गर्दै आएको छ ।

दिल्लीमा बसेर मानव तस्करी, तीन जना पक्राउ

काठमाडौं– दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर बिक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ। क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे। अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ।

यी तिनै जना नयाँदिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी गर्ने गर्थे। उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए। शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने। त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए।

‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने। अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ। तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे।

‘उनीहरूले पीडितहरू अमेरिका प्रवेकलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने। पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

कांग्रेसको बहिष्कारबीच मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर– मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

वैशाख २७ गते संविधानकाे धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत लिनका लागि अहिले बैठक बसिरहेको छ ।कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाकाे १ सांसदले मत दिँदै छन् । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई बैठकमा अनुपस्थित छन् । उनी पार्टी पोलिट्ब्युरो बैठकका लागि काठमाडौंमा छन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । तर कार्कीको पक्षमा ५७ मत देखिएको छ ।विश्वासको मतका लागि बसेको बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट हालिएकाले त्यसको किनारा नलागुन्जेल विश्वासको मत लिन नहुने पक्षमा कांग्रेस थियो । प्रतिपक्षी दलकाे प्रतिनिधित्व गर्दै प्रदेशसभामा राप्रपा उपस्थित छ ।

मुख्यमन्त्री कार्कीद्ये सर्वोच्चमा चलिरहेको मुद्दाबारे पनि बोले । उनले अदालतले दिने निर्णयलाई आफूले मानेर जाने बताए । संविधानवादमा विश्वास गर्ने भएकोले संविधानका प्रावधान र विधिशास्त्रलाई मान्ने उनको भनाइ छ ।‘सबै सांसदको आशा, भरोसा र टुट्न दिने छैन । प्रदेशबासीको शिर झुक्न दिने छैन,’ कार्कीले सम्बोधनका क्रममा भने ।