जोडिनुहोस

ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ट्रयाक खुलेको झण्डै ३६ वर्षपछि कालोपत्र भएको छ । विसं २०४५ मा ट्रयाक खुलेको १० किलोमिटर सडकखण्डमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर दीपक बस्नेतले जानकारी दिए ।

नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने सो सडकखण्ड कालोपत्रका लागि रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता भएको थियो । विसं २०७६ मा उक्त सडकखण्ड कालोपत्र गर्न कार्यालयले रौताह–पिके–गोरखा जेभीसँग सम्झौता गरेको उनले बताएका छन् ।

सम्झौताअनुसार दुई वर्षअघि नै उक्त सडकखण्ड कालोपत्रको काम भइसक्नुपर्ने भए पनि ढिलोगरी काम सम्पन्न भएको इञ्जिनियर बस्नेतले बताए । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले विनियोजन गरेको बजेटमार्फत सडक कालोपत्र गरिएको उनको भनाइ छ ।

बर्खाका बेला हिलाम्य र हिउँका बेला धुलाम्य हुने सडक कालोपत्र भएपछि स्थानीयलाई आवतजावतमा सजिलो भएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि पनि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको गोरखा–३ नारेश्वरका स्थानीय कुमार थापाले बताए। त्यस्तै स्थानीय कृषिउपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको स्थानीयले बताएका छन् ।

कांग्रेसले भन्यो : रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध हुन सक्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरिए राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध गर्ने संकेत गरेको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो संकेत गरेका हुन् । उनले  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भनेको भनिएको सहकारी प्रकरण छानबिनका लागि सत्ता पक्षले संसदीय छानबिन समिति गठन नगर्दासम्म संसद्मा अवरोध जारी रहने बताए ।

‘सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन हुनु पर्ने हाम्रो अडान यथावत छ। पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि यही विषयमा छलफल भयो,’ प्रवक्ता महतले भने, ‘संसदीय छानबिन समिति गठन नभए बाध्य भएर राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नबाट रोक्ने स्थिति आउन सक्छ ।’ कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने अडान कायमै राखेको छ।

‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने मागमा पार्टीको अडान कायमै छ,’ महतले भने, ‘सरकारले संसदीय छानबिन समिति गठन नगर्दासम्म संसदको अवरोध कायमै रहन्छ ।’

जनकपुरधाममा ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर– जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट रु १४ लाख ५३ हजार नगद बरामद गरिएको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।

कोशीमा कांग्रेस दलको बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बहिष्कार गर्ने

विराटनगर – नेपाली कांग्रेस संसदीय दल कोशी प्रदेशको बैठक शुरु भएको छ ।

दलको कार्यालयमा केन्द्रीय प्रतिनिधि मीन विश्वकर्माको उपस्थितमा बैठक शुरु भएको हो। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्ति गरेको विषयलाई लिएर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्थामा यो बैठकले रणनीति बनाउने छ ।

मुख्य मन्त्री हिक्मत कार्कीले सोमबार नै विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अहिलेसम्म प्रदेशसभा शुरु हुन सकेको छैन। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

जसमा माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्ती कार्कीलाई विश्वासको मत दिने निर्णय गरेका छन्। राप्रपा भने तटस्थ बस्ने निर्णय गरेको छ। कार्की संविधानको धारा १६८ उपधारा ५अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।

तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ ।

मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा कार्कीले विश्वासको मत लिन लागेको भन्दै नेपाली कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार तयारी गरेको छ ।

यस विषयमा निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको थियो । साढे ४ घण्टापछि बैठक शुरु भएको हो।

युक्रेनसँगको युद्धबीच पुटिनले सर्गेइलाई रक्षामन्त्रीबाट हटाए

काठमाडौं– युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् । राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा सोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्वपूर्ण भूमिका रहेको छ । रुसी सरकारी दस्तावेजबाट राष्ट्रपति पुटिनले सोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्वपूर्ण जिम्मेवारी लिन चाहेको खुलासा भएको छ ।

शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभव बिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोइगु पेशाले सिभिल इन्जिनियर हुन् । १९९० मा, शोइगु आपतकालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भए । राष्ट्रपति पुटिनले भर्खरै रुसमा भएको आम निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी पाँचौं पटक पद तथा गोपनीयताको शपथ लिएका छन् ।

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

झापा– झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् ।

यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियानअन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप औषधि खुवाइएको छ ।

बिर्तामोडमा सबैभन्दा धेरै एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् । सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ३२ हजार पाँच सय ४८ जनाले औषधि सेवन गरेका उनले जानकारी दिए । हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधि सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिर्तामोडले एक सय प्रतिशत, मेचीनगरमा ८१ दशमलव १२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५ दशमलव १३, शिवसताक्षीमा ८८ दशमलव २६, गौरीगञ्जमा ८६ दशमलव ५९, बाह्रदशीमा ८६ दशमलव ६२ तथा कचनकवलमा ८६ दशमलव ६३ प्रतिशतले औषधि सेवन गरेका छन् । यस्तै, अर्जुनधारामा ७४ दशमलव ४४ प्रतिशत, कमलमा ७१ दशमलव ३९, दमकमा ७२ दशमलव ९५, गौरादहमा ६६ दशमलव ९२, झापा गाउँपालिकामा ७६ दशमलव ६८, हल्दिबारीमा ७१ दशमलव ९७ र भद्रपुरमा ४५ दशमलव ७४ ले औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । ‘एक पटक खाऔँ, यो वर्ष अन्तिम बनाऔँ’ भन्ने नाराका साथ झापामा वैशाख १६ गतेदेखि ३० गतेसम्म १३औँ चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । कार्यालयले नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिएको थियो ।

जिल्लामा औषधि सेवनका लागि ६ सय ६ स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।

योग र ध्यानमा जोड दिनु आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् ।

आज सुरु स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो, यो हाम्रो जीवनशैली पनि हो । यसमा जोड दिनु आवश्यक छ ।’ उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे । उनले रोगको उपचारसँगै रोगको रोकथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए।

उनले भने, ‘अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोकथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ ।’ उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए । उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिए ।

उपेन्द्रको राजीनामापछि अशोकले भने, ‘अब मधेसबाट पनि उहाँहरूलाई बिदा गर्छौँ’

काठमाडौं–गत फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा मिसिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दुई महिनमै केन्द्र सरकारबाट बिदा भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धन ढालेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेको आरोप लागेका उनले एकसाथ पार्टी विभाज र सत्ताबाट बहिर्गमनको पीडा खेप्नु परेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर नयाँ सत्ता समीकरणको खेलमा लागेको आरोपको खण्डनसमेत गर्न नपाई उनले पार्टी विभाजनको पीडा भोग्न बाध्य भए ।

अमेरिकामै रहेका बेला जसपा विभाजनको पीडा खेपेकाे उनले सोमबार संघीय सरकारबाट बिदा लिएका छन् । उता मधेसमा पनि उनी नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । जहाँबाट जसपाका सरोजकुमार यादवले सत्ताबाट हात धुने निश्चित भएको छ । उता एमालेका सरोज यादव मुख्यमन्त्रीका लागि तम्तयार भइसकेका छन् ।

यसबीचमा गत आइबार जसपा विभाजन गरेर नयाँ जसपा बनाएका अध्यक्ष अशोक राईले अब मधेसबाट पनि उपेन्द्र यादवलाई बिदा गरिने बताए । राईले जसपा नेपाललाई मधेस सरकारबाट पनि बिदा गर्नुको विकल्प नभएको बताएका छन् । यादवले केन्द्र सरकारबाट बिदा लिएपछि अध्यक्ष राईले अब मधेसमा पनि जसपा नेपालले तत्काल सरकार छाडेर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

उनले भने, ‘आफ्नै सरकारविरुद्ध षड्यन्त्र रचेपछि कहाँ हुन्छ र? अल्पमतमा परिसकेकाले मधेसबाट पनि उहाँहरूले बिदा लिनुपर्छ ।’राईले उपेन्द्र यादवले छाडेको स्वास्थ्य मन्त्रालय पनि आफूहरूको भागमा आउने दाबी गरेका छन् । उनले भने, ‘यसबारे हामी प्रधानमन्त्रीसँग छलफलमा छौँ ।’

उनले मधेस प्रदेशका ५ भन्दाबढी प्रदेश सदस्य आफू नेतृत्वको जसपामा खुल्ने दाबी गरे । ‘सनाखत भएको बेला साथीहरू आउनुहुन्छ’, राईले भने, ‘अहिले हल्ला नगरिएको मात्रै हो ।’

जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट

टोकियो– जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधिहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधिहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधिका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ ।

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

पार्टीबाट सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष यादवले आज राजीनामा दिएसँगै समर्थन फिर्ता लिन लागिएको प्रवक्त मनिष सुमनले जानकारी दिए ।

उनले भने, ‘हामी केन्द्र सरकारबाट बिदा भयौँ, केहीबेरमा समर्थन पनि फिर्ता लिन्छौँ ।’

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको हो । गत फागुन २१ गते बनेको केन्द्रीय सत्ता गठबन्धनमा फागुन २९ गते मिसिएको एकीकृत समाजवादीले कोशीमा पनि आफूलाई सत्ता पक्षमा उभ्याउने निर्णय गरेको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा थिए । तर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूको निर्देशनपछि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनी तयार भएका हुन् ।

दलका नेता राईले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसअघि कार्की सरकारलाई विश्वासको मत नदिने बताउँदै आएका थिए ।राईले सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले नमानेको भन्दै आफूले कार्की सरकारलाई नसघाउने बताइरहेका थिए । तर, आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई आग्रह गरेको बताइएको छ ।

एकीकृत समाजवादीसँगै कोशीमा जनता समाजवादीकी निर्मला लिम्बूले पनि विश्वासको मत दिने भएकी छन् । यसअघि गत वैशाख २७ गते कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले समर्थन गरेका थिए । त्यसपछि लिम्बू पनि कार्कीको पक्षमा उभिएकी थिइन् ।एकीकृत समाजवादीको निर्णयसँगै कार्की पक्षमा एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ५७ जना सांसद भएका छन् । यहाँ बहुमतका लागि ४७ सांसद भए पुग्छ ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिँदा बलियो बहुमत मिलेको छ । कोशी प्रदेशमा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।