जोडिनुहोस

दाताको सहयोगबाटै चल्छ देवघाटको वृद्धाश्रम

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र ९वृद्धाश्रम० मा ३२ ज्येष्ठ नागरिक छन् । विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन् ।

केन्द्र दानवीरकै सहयोगमा निर्भर हुँदै आएको छ । सरकारद्वारा २०५२ सालमा स्थापित देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित उक्त केन्द्रमा सरकारले पर्याप्त बजेटको प्रबन्ध नगर्दा दाताहरूकै सहयोगमा निर्भर हुनुपरेको हो ।

सन्तान नभएका आश्रयहीन बुबाआमा आश्रममा रहेको आश्रमका व्यवस्थापक देवु अधिकारीले जानकारी दिए । उनले भने, ‘बजेटको समस्याका कारण आश्रम दाताको सहयोगले चलिरहेको छ, विभिन्न अवसरमा दाताहरूले सहयोग गर्दै आएका छन्।’

आश्रममा एउटै कोठामा आठदेखि नौजना राख्नुपर्ने बाध्यता रहेको उनले बताए। उनले भने, ‘गर्मी महिनामा कुनै बुबाआमालाई पङ्खा नभई नहुने, कसैलाई पङ्खा चाहिँदै नचाहिने जस्ता समस्याले वृद्धवृद्धालाई एउटै कोठामा राख्दा समस्या छ ।’

वृद्धाश्रममा पर्याप्त कोठाको अभाव हुँदा स्वस्थ्य र बिरामीलाई एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको छ। महिला र पुरुषहरूका लागि छुट्टाछुट्टै शौचालय नहुँदा वृद्धवृद्धाको नित्यकर्ममा समेत समस्या आउने गरेको अधिकारीको भनाइ छ।

वृद्धाश्रममा पर्याप्त आवास, शौचालय, मनोरञ्जनस्थल, स्नान कक्ष, सुविधाजनक भान्सा, विश्रामकक्षको उचित प्रबन्ध गर्न राज्यले ध्यान दिनुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष सदन बरालले बताए।

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

लस एन्जलस। अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।

नासा र स्पेसएक्सले मिशन प्रक्षेपण गर्न जुन २५ लाई लक्षित गर्दै छन् । त्यसको कोडनाम ‘जियोस्टेशनरी अपरेशनल इन्भारोन्मेन्टल स्याटालाइट यु’ रहेको छ ।

फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरमा रहेको लन्च कम्प्लेक्स ३९ए बाट स्पेसएक्स फाल्कन हेभी रकेटमा उपग्रह प्रक्षेपण हुनेछ ।

उपग्रहले उन्नत इमेजरी, वायुमण्डलीय मापन, बिजुलीको गतिविधिको वास्तविक समय म्यापिङ र नयाँ कम्प्याक्ट कोरोनोग्राफसहित सूर्यको वायुमण्डलको बाहिरी तहलाई कोरोनल पत्ता लगाउन र विशेषताहरू चित्रण गर्ने सहित, नजिकैको अन्तरिक्ष मौसम खतराहरू पत्ता लगाउनका लागि उपकरणहरूको एक सूट बोक्नेछ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रमको सन्दर्भमा भेट गरेको बुझिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

यसैविषयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छाल्फा समेत गरेका छन् ।

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोरका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गरेका छन् ।

करिडोरका १३ वटा पुल तथा तीन सय १६ किलोमिटर सडक खण्डमध्ये ५६ किलोमिटर क्षेत्रमा भइरहेको कामको जानकारी लिनुका साथै निर्माण व्यवसायीलाई काममा तीव्रता दिन मन्त्री बुढाले निर्देशन दिएका छन् । उनले निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारलाई निर्देशन दिएका हुन् ।

निर्माणाधीन तल्लुस्थित पुल लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको गुनासो बढिरहेकामा मन्त्री बुढाले मन्त्रालयका सचिव, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर छलफल गरेका छन् । डोल्पाको दुनैबाट उपल्लो डोल्पाको तिन्जे लासिक्यापसम्म सडक निर्माण गर्न ठेक्का लागे पनि काम सन्तोषजनक नभएको स्थानीयको गुनासो छ ।

सहकारी प्रकरणमा समिति नबनाई सरकार जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी दिंदै महामन्त्री गगन थापाले भने, ‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको हाम्रो निष्कर्ष छ ।’

यसबारेमा थप छलफल गर्न र संसदीय छानबिन समिति गठनको मागलाई सशक्त रुपमा प्रस्तुत गर्न संसदीय दलको बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले बताए ।

उनका अनुसार पदाधिकारी बैठकले सोमबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको छ । उक्त बैठकबाट थप निर्णय हुने उनले बताए ।

उनले आफूहरूको माग पनि सम्बोधन होस् र संसद पनि चलोस भन्ने सदासहायता राख्दाराख्दै पनि सरकारले रबैया देखाएको आरोप लगाए ।

सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औंल्याए।

राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने महर बताउँछन्। ‘सरकार सहकारी पीडित जनताको पक्षमा देखिएन। आफ्नै क्याविनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषिलाई संरक्षण गर्ने नाइके जस्तो देखियो’, उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ।’

सहकारी ठगी जनतको जीवनसँग प्रत्येक्ष जोडिएको विषय भएको र ठगीएका जनता गाउँ–गाउँमा रहेकाले कांग्रेसको आन्दोलन पनि सडक हुँदै सदनसम्म केन्द्रित हुनुपर्ने महरको धारण छ ।

यस्तै नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसदलाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएको बताएका छन्। सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिंगो सरकार लाग्नु र संसदलाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको महरको भनाइ छ।

लोकतन्त्रमा लुटतन्त्र र ठगतन्त्र नचल्ने भएकाले लामिछानेलाई तत्काल राजीनामा दिएर मार्ग प्रसस्त महरको चेतावनी छ।

संसदमा लामिछानेलाई बोल्न नदिने विषय पनि उत्तम नभएको महरको धारणा छ। ‘कुनै लघुताभाष नभएका गैरजिम्मेवार गृहमन्त्रीका कुरा पनि सुनौं। जताततै ठग्न पल्किएका गृहमन्त्रीले सदनमा जति प्रस्टिकरण दिए पनि जनता पत्याउने अवस्थामा छैनन्। उनले जनतामाथि घात गर्दै पूर्ण विश्वास गुमाइसके,’ महरले भने।

यसका साथै सहकारी ठगीमा अभियोजनपत्र दर्ता भइसकेर किटान भएका गृहमन्त्री लामिछाने, जिवी राईलगायत देशभरका संकटग्रस्त सहकारीको छानविन गर्न सरकारले तत्काल छानविन समिति बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने महरले माग गरेका छन्। सहकारी ठगकै कारण मान्छे मर्ने अवस्था पुगिसकेको प्रसंग उल्लेख गर्दै नेता महरले भने, ‘सहकारी गठहरूकै कारण मुलुकको अर्थतन्त्र तहस नहसको अवस्थामा पुगेको छ। जनताको कराडौं रुपैयाँ डुबेको छ। जनता मर्न बाध्य छन्। यस्तो अवस्था सिर्जना गर्नेहरुको संरक्षणमा सरकार नै किन लागेको होला? भनेर अचम्म लागिरहेको छ।’

महरले सरकारमात्र नभएर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छानविन समिति बनाउन बाधा खडा गरिरहेको आरोप लगाएका छन्। ‘सहकारी ठगीको निश्पक्ष छानविन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानविन समिति बनाउन बाधा खडा गरिरहनु भएको छ,’ उनले भने।

संसदीय व्यवस्थाको पक्षपाती दल कांग्रेस भएकाले संसदीय कामकारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर बन्नु पर्ने महरको धारण छ। ‘सदनमा जुनसुकै मन्त्रीले पनि बोल्न पाउनुपर्छ। विश्व राजनीतिमा यो संसदीय व्यवस्थाको सुन्दर पक्ष पनि हो। संसदको ठूलो दल कांग्रेस भएकाले हाम्रो भावनालाई लत्याएर अगाडि बढ्ने सभामुखको चलखेल पनि कपटपूर्ण देखिन्छ। सभामुख तथष्ट हुनुपर्छ’, उनले भने। राजनीतिक बेइमानी गरेर सदनलाई अगाडि बढाउन खोजे त्यो कांग्रेसका लागि स्वीकार्य नहुने महरको चेतावनी छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन् ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आज बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

उनले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे । आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमबार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए ।

‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ,’ दाहालले भने ।

यता, प्रधानमन्त्री दाहालसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

पाथीभरामा केबलकारः अध्यक्ष ढकाल भन्छन् – अब छिट्टै निर्माण सुरु गछौँ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ ।

मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा ताप्लेजुङ र वरपरका विभिन्न संघसंस्थाले निर्माण तत्कालै थाल्न दबाब सिर्जना गर्न थालेका हुन् ।

केबलकार निर्माण सुरु गर्नुपर्ने मागगर्दै पछिल्लो समय जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरु जनमत निर्माण गर्न लागिपरेका छन् । साथै यहाँको नागरिक समाजले केबलकार निर्माणका लागि दबाब दिँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शनसमेत गरेको छ । निर्माणको काम चाँडै सुरु गर्न दबाब सिर्जना गर्दै नागरिक समाजका तर्फबाट पाँच सय एक सदस्यीय दबाब समूह पनि निर्माण गरिएको छ ।

उता स्थानीयहरुकै पहलमा पदम चेञ्जी मावो लिम्बु संयोजक र प्रकाश मादेन लिम्बु सहसंयोजक रहेको केबलकार निर्माण सहयोग समिति गठन गरी नागरिक समाजका तर्फबाट पनि निर्माणको काम चाँडै सुरु गर्न दबाब दिन थालिएको छ ।

केबलकार निर्माणपश्चात् जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादनले बजार पाइ जिल्लाको अर्थतन्त्र चलायमान हुने भएकाले यस बृहत् परियोजनालाई जिल्लामा स्वागत गर्नुपर्ने भन्दै यहाँका प्रायः सबै राजनीतिक दल तथा निजी क्षेत्रका सङ्घसंस्था आ–आफ्ना बैठक तथा विज्ञप्तिमार्फत आह्वान गरिरहेका छन् ।

ताप्लेजुङका निजी क्षेत्रका व्यावसायिक संघसंस्थाहरु नेपाल उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घ ताप्लेजुङले सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा केबलकार निर्माण गर्न सबैले सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

प्रेस विज्ञप्ति उल्लेख गरिएको छ, ‘विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान हुन थालेको हामीले प्रत्यक्षरुपमा अनुभूत गरेका छौँ, त्यसैले निर्माणको काम जतिसक्दो चाँडो अघि बढाउनुपर्छ ।’ अहिले पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब तीन लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । यहाँ केबलकार निर्माण गर्न सकिएमा यहाँ बर्सेनि १२ लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेको निजी क्षेत्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको बुझाइ छ ।

त्यसैगरी जिल्ला समन्वय समितिले पनि केबलकार निर्माण सहजीकरण समिति गठन गरी परियोजना सहजीकरण समिति गठन गरेको छ । सो समितिको पटक–पटक बसेको बैठकले केबलकार तत्काल निर्माण अगाडि बढाउन पनि माग गरिरहेको छ । साथै सो निर्णयको छायाँकपीसहित गत फागुन ४ गते जिल्ला समन्वय समिति ताप्लेजुङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र कोशी प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा दर्ता गराइसकेको छ ।

निजी तथा सरकारी लगानी भित्र्याई जिल्लालाई समृद्ध बनाउन सबै जिल्लावासी एक भएर लाग्न आश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी९एमाले० ताप्लेजुङले प्रेस विज्ञप्ति सार्वजनिक गरी विकासका परियोजनालाई निर्वाधरुपमा सञ्चालन गर्न तथा यसका लागि शान्तिसुरक्षा कायम गर्न समेत माग गरेको छ ।

यही वैशाख २५ गते नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्र ताप्लेजुङले पाथीभरामा केबलकार बन्नु उपयुक्त रहेको धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्रले पाथीभरामा केबलकार बन्ने विषयमा विवाद गर्नु नहुने बताइसकेको छ ।

निर्माणका क्रममा रहेको केबलकारले पाथीभरा मन्दिरलाई कुनै असर नपर्ने तथा तीर्थयात्रीलाई सहजता हुने भएकाले केबलकार निर्माणका लागि आफ्नो पार्टीको समर्थन रहेको माओवादी केन्द्र ताप्लेजुङका संंयोजक विष्णुकुमार लिम्बु र सचिव सागरमणि गौतमद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।

ताप्लेजुङमा केबलकार निर्माण हुनु जिल्लावासीको समृद्धि र यहाँको पहिचानसँग जोडिएको भन्दै पाथीभराको मुख्य पूजाधामबाट एक किलोमिटर तलै केबलकार निर्माण गर्दा कुनै समस्या नरहेको याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष पदम चेन्जी माबो र सचिव पेली माबोहाङले गत चैत १७ गते आफ्ना धारणा सावर्जनिक गर्नुभएको थियो ।

त्यस्तै स्थानीयको प्रत्यक्ष सहभागिता, रोजगारीमा प्राथमिकताका साथै स्थानीयवासीको शेयर लगानी जस्ता विषय सुनिश्चित गरेर केबलकार कम्पनीले निर्माण अगाडि बढाउनुपर्ने पनि याक्थुङ चुम्लुङ नेपाल झापाले जनाएको छ ।

गत चैत १६ गते पाँचथर उद्योग वाणिज्य सङ्घले केवलकार निर्माण पक्षमा ऐक्यबद्धता जनाएको छ । सो सङ्घले केबलकारजस्तो बृहत् आयोजनालाई स्थानीयले स्वागत गरेर जिल्लामा भित्र्याउनुपर्नेमा जोड दिएको छ ।

निर्माण सुरु भएपछि त्यसको १३ महिनाभित्रै परियोजना सम्पन्न गर्ने भन्दै निर्माण कम्पनीले प्रशासनिक तथा अन्य कामहरु सकेको भए पनि निर्माण प्रक्रियाबारे केही स्थानीयले विरोध गरेका कारण केबलकार परियोजना अघि बढ्न सकेको छैन ।
पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने आफूहरु निर्माणको सुरुआतको पर्खाइमा रहेको र अब छिट्टै सुरु हुने बताए ।

‘अहिले पाथीभरामा केबलकार निर्माण गर्न सहज वातावरण बन्दै गएको छ । स्थानीय जनताले पनि निकै लामो समय भयो, हामीलाई केबलकार सपनामात्र हुने भयो निर्माणको काम थालिहाल्नुपर्यो भनेर दबाब नै दिनुभएको छ, त्यसैले निर्माणको काम छिट्टै नै सुरु गर्नेछौ’, अध्यक्ष ढकालले भने, ‘हामीसँग अनुभव छ, हामीले विभिन्न ठाउँमा केबलकार सञ्चालन गरेका पनि छौँ, त्यसैले निर्माण सुरु गर्यौँ भने हामीले पहिले भनेजस्तै १३ महिनामै सम्पन्न गरिसक्नेछौँ ।’

स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकासलगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने भएकाले स्थानीयले उठाएका मागबारे बसेर समझदारी गर्न सकिने उनको भनाइ थियो ।

कम्पनीले स्थानीयलाई पनि शेयर प्राप्त दिने ढाँचामा यसको विकास गरिरहेको छ । यसबाट सिङ्गो प्रदेश सरकार, स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष लाभ हुने मोडलबाट केबलकार निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्न सकिनेछ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए ।

मुख्य स्टेसनबाट १० मिनेटमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिने कम्पनीले जनाएको छ । केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले बताए । सो केबलकारमा ४५ वटा गोन्डुला रहने कम्पनीले जनाएको छ । केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ ।

समितिका संयोजक लिङ्खिमले लिम्बु समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताउनुहुन्छ । तर निर्माण कम्पनीले भने स्थानीयसँग बसेर सबै विषयमा छलफल गरी सहमतिका साथ अघि बढ्न सकिने बताउँदै आएको छ ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ । केबलकार निर्माण गर्न करिब चार अर्बको लगानी लाग्ने कम्पनीले जनाएको छ । -रासस

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् ।

सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ ।

मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ ।

सर्लाहीमा आगलागीबाट १० महिनामा १६१ घर जले, करोडौंको क्षति

सर्लाही । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएका र एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठजना महिला र पाँचजना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुईवटा घाइते भएको बताए । उनले खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका बताए ।

गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परविारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए । २० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन् । स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ ।

नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताउँछन् । ‘‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने करा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न बारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ’, उनले भने ।

स्थानीय सामाजिक अगुवा रजनिकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरूरी रहेको बताए । ‘विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ । त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ’, उनको सुझाव छ ।

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

काठमाडौं । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिएका छन ।

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने निरौलाले जानकारी दिए ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्नुहुने जनाइएको छ ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको निरौलाले बताएका छन । मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् ।

त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमाबुबाले आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको उनले जानकारी दिए । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।

विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो ।

आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।