जोडिनुहोस

आधुनिक विकास र सुविधाको खोजीमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

म्याग्दी– गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभावले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन् ।

बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताए।

‘विकास भनेको यही मोटरबाटो हो, यो पनि आएको जम्मा दुई वर्ष भयो, सडक आए पनि अरु विकास गाउँमा आउँदैन, यो लेकमा कस्ले हालिदिन्छ र बजेट, यसअघि त सदरमुकाम जान पनि दिनभर पैदल हिँड्नुपर्ने बाध्यता थियो’, उनले भने।

गाउँमा कच्ची सडकको पहुँच पुगे पनि यो स्तरीय छैन । गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी रु एक हजार २०० भाडा लाग्छ । गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्लगायतको सुविधा भरपर्दो र गुणस्तरीय छैन् । भौगोलिकरुपमा विकटता रहेको र छरिएका गाउँ बस्तीको कारण रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ८ कुइनेमङ्गलेलाई ‘म्याग्दीको कर्णालीको उपमा दिने गरिन्छ । यस वडामा एक गाउँबाट अर्को गाउँमा जान दिनभरकै पैदल यात्रा गर्नुपर्छ । छरिएर रहेकै गाउँबस्तीका कारण यस वडाको अहिले पनि सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँमा भौतिक पूर्वाधारको क्षेत्रमा विकासका गतिविधि अघि बढे पनि बसाँइसराइ रोकिएको छैन । विकास गाउँ भित्रदै छ, तर कुइनेखानी गाउँ रित्तिने क्रम बढ्दै गएको छ । आधारभूत स्वास्थ्य सेवा लिनसमेत दिनभरको पैदलयात्रा गर्नुपर्ने बाध्यता स्थानीय तह कार्यान्वनयमा आएसँगै हटेको छ । गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ ।

अहिले गाउँ छाड्ने अधिकांश बालबालिकाको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउँछन् । मुख्यगरी गाउँमा शिक्षाको अवस्था कमजोर रहेको छ । वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय खाली हुँदै गएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर ५ कक्षासम्म मात्रै पठनपाठन गराउन थालिएको छ । स्तरीय शिक्षाका लागि बालबालिकालाई सहरी क्षेत्रमा लैजाने प्रचलन बढेसँगै गाउँको स्कुल खाली हुँदै गएको रघुगङ्गा गाउँपालिका(८ का वडासदस्य चबहादुर छन्त्यालले बताए।

विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिको तर्फबाट सदस्यसमेत रहेका छन्त्यालले अङ्ग्रेजी माध्यमको शिक्षा लिने लहडले आर्थिकरूपमा सक्षम भएका परिवारले सहरमा पठनपाठन गराउने प्रवृत्ति बढेको बताए ।

कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या शून्य रहेको छ । केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीय लघु जलविद्युतबाट विद्युत् सुविधा उपभोग गर्दै आएका स्थानीयले बाढी पहिरोको कारण निरन्तर झन्झट हैरानी बेहोर्नुपरेको छ । पुर्ख्यौली रुपमा खानी खन्ने सिलसिलामा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको थियो । तामा खानीको प्रख्यात ठाउँको रुपमा चिनिएको कुइनेखानीमा तत्कालीन समयमा तामाको प्रशोधन र बिक्रीका लागि विश्वकर्मा र थकाली जातिको समेत केही घरधुरीको बसोबास रहेको पाइन्छ ।

खानी खन्ने काम बन्द भएपछि यहाँका स्थानीयको पेसा परिवर्तन भएसँगै गाउँको बसोबास घट्दै गएको स्थानीय नरमान छन्त्यालले बताए। ‘खानी बन्द भएपछिको पुस्ता भारतीय सैनिकमा भर्ती हुने लहर चल्यो, उनीहरूको आर्थिक स्थितिमा सुधार भएपछि अधिकांश लाहुरेले गाउँबाट बेनी, पोखरा, बुटवल, दाङ, भैरहवालगायतका ठाउँमा बसाइ सारेका छन्, गाउँबाट सहरमा सर्नेक्रम अझै छ’, उनले भने। गाउँमा अहिले बूढापाका र महिला र विदेश जाने प्रयासमा रहेका केही युवा मात्रै छन् ।

स्वदेशमा रोजगारको अवसर नभएपछि युवायुवती विदेश पलायन हुने र आर्थिकरूपमा बलियो बन्न थालेपछि सहर झर्ने क्रमले गाउँमा वृद्धवृद्धा मात्रै रहने अवस्था आएको स्थानीय ७७ वर्षीय टीकाबहादुर विश्वकर्माले बताए ।

केही वर्षपछि यहाँका जनताले वनजङ्गल र झाडी भरिएको जग्गाको तिरो तिरेर मात्रै बस्नुपर्ने अवस्था आउने बिक बताउँछन्। कुइनेखानीबाट पुतलीडाँडा सिङ्कोस बगर हुँदै धौलागिरि आधार शिविर र झिरबारी, भालीचुली, च्यमलीबुकी, रुवाचौर हुँदै आइसफलतर्फको धौलागिरि आधार शिविर पुग्न सकिन्छ । रैथाने परम्परागत जनजीवन र संस्कृतिसँगै यहाँ रहेका पर्यटन सम्भावनाको उजागर गर्न सकेमा कुइनेखानीलाई पर्यटन विकासका माध्यमबाट विकसित, समृद्ध र आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी बताउँछन् ।

गर्मीमा नेपाल आउने भारतीय पर्यटक दोब्बरले बढ्ने अनुमान

काठमाडौं – भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवद्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ ।

जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटक नेपाल भित्राउन सङ्घले लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी ‘टूर अपरेटर’ र व्यवसायीको उपस्थिति रहेको सङ्घले जनाएको छ ।

टुर अपरेटरहरुलाई स्वागत गर्दै सङ्घका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै यो वर्षको ग्रीष्मऋतुमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तो दिए । उनले विवाह र बैठक, सम्मेलन, प्रदर्शनी‘माइस’ पर्यटनका लागि नेपाल उपयुक्त भएकाले भ्रमणमा आउन आग्रह गर्दै त्यसका लागि पर्याप्त संरचना पनि तयार रहेका जानकारी दिए । उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमणलाई स्मरणीय बनाइने बताए ।

भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डिया र ट्राभल ट्रेड एशोसिएशन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए।

साथै उनहरुले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । भारतीय पर्यटन व्यवसायीले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारलाई आआफ्नो क्षेत्रबाट सहजीकरणका लागि आग्रह गरे ।

लखनउमा भएको नेपाल प्रवद्र्धन कार्यक्रममा ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुतिसहित ‘ गर्मी से बेहाल चलो नेपाल’ अभियानबारे पनि जानकारी दिइएको थियो ।

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

फुङ्लिङ– गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन ।

ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ । आयोजनाको पुनःनिर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो ।

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा रु ७० करोड बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो ।

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनःनिर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए। पुनःनिर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए। आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए। उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ ।

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी(१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो । इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो ।

कन्स्ट्रक्सनको ट्रक स्थानीयको नियन्त्रणमा

काठमाडौ । मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका कर्मचारी, क्रसरका सामानसहितको ट्रक र दुई वटा भ्यान नियन्त्रणमा लिएका थिए ।

मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रशासनलाई जिम्मा लगाएका थिए । स्थानीयले क्रसरका सामानसहितको ट्रक, कर्मचारी र दुई वटा भ्यानलाई पथरी शनिश्चरे नगरपालिका वडा नं १० कार्यालय र सशस्त्र प्रहरीको कार्यालय अगाडि नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि दीपक थिङ तामाङले भोलि बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति गरेपछि कर्मचारी र दुईवटा भ्यान छोडिएको छ । ट्रक भने सशस्त्र प्रहरीको निगरानीमा रहेको छ ।

स्थानीयले बाटो चाँडो बन्नुपर्ने माग राख्दै बाटो नबनेसम्म सवारी साधन नछोड्न प्रशासनलाई दबाब दिएका छन् । यसअघि मङ्सिर १४ मा स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा ढाट लगाएर बन्द गरेका थिए । मनमोहन गन्धी मार्गको काम समयमै सम्पन्न नभएपछि स्थानीयले पटकपटक दबाब दिँदै आएका छन् ।

कान्छाराम कन्स्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र बाटो निर्माण गर्ने भन्दै भत्काएको थियो । हाल उक्त बाटो खाल्डाखुल्डीको समस्याले यात्रा गर्न कठिन रहेको छ । उता लामो समयदेखि स्थानीयले खाल्डाखुल्डीको समस्या मात्र हैन बर्खामा हिलो र गर्मीमा धुलोको समस्यासमेत भोग्नुपरेको छ ।

चार वर्ष बित्दासमेत बाटो नबनेपछि पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ८ का नवीन कार्की र ९ का वीरबहादुर राईले बाटो चाँडो नबने बाटो बन्द गर्ने ध्यानार्कषण पत्रसमेत सार्वजनिक गरेका थिए । मङ्सिर १४ मा पथरी शनिश्चरे वडा नं ४, ८ र ९ का वडाध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधि तामाङ, इलाका प्रहरी कार्यालय पथरी र स्थानीयले तीन घण्टा लामो छलफलपछि बाटो निर्माण काम सुरु गर्ने लिखित सम्झौतापछि बाटो खोलिएको थियो ।

विसं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नगरेपछि मङ्सिर १४ मा स्थानीयले बाटो अवरुद्घ गरेर सडक आन्दोलनमा उत्रिएका थिए । तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कान्छाराम कन्स्ट्रक्सनले कामको जिम्मा लिएको थियो । रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले सरकारले भुक्तानी नदिएका कारण निर्माण अघि बढ्न नसकेको बताउँदै आएको छ ।

लोकसेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने

कर्णाली– लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने आयोगले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि सुरु भएको लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा सो कुरा उल्लेख छ ।

लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले सङ्घीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पुर्‍याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोकसेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिए।

‘योग्यता, निष्पक्षता, स्वच्छताः लोकसेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित दुई दिनसम्म सञ्चालन भएको चौथो सम्मेलन बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो । उक्त सम्मेलनले पाँच बुँदे घोषणापत्र र १३ बुँदे निर्णय जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई सम्मान गर्दै भर्ना र छनोट आधार योग्यता नै हो भन्ने मान्यतालाई जोड दिँदै अगाडि बढिनेछ ।

लोकसेवा आयोगबाट पदपूर्ति गरिने विभिन्न सेवा, समुह, उपसमूह, श्रेणी वा तह र पद ९प्राविधिक र अप्राविधिक०का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने, आयोगबाट सम्पादन गरिने कार्यमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासको आदानप्रदान गर्ने निर्णय भएको उनले बताए।

उनका अनुसार आयोगको परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी खर्च मापदण्डमा एकरूपता कायम गर्ने र समयसापेक्ष बनाउँदै लैजाने, लोकसेवा आयोगबाट सङ्घीय कानुनबमोजिम अवलम्बन गरिएका सिद्धान्त तथा मापदण्डबमोजिम कार्यसम्पादनको सुनिश्चितताका लागि सूचक तयार गरी सोबमोजिम स्वमूल्याङ्कन एवं आवश्यकताअनुसार समकक्षी समीक्षा गर्नेजस्ता १३ निर्णय सम्मेलनले जारी गरेको छ ।

उक्त राष्ट्रिय सम्मेलनमा सङ्घीय लोकसेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्य माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस तथा कोशी प्रदेश लोकसेवा आयोगका पदाधिकारी तथा सदस्य र आयोगका सहसचिव, प्रदेश लोकसेवा आयोगका सचिव तथा कर्मचारीको सहभागिता रहेको थियो ।

‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा भरतपुरकी प्रमुख दाहाल सम्मानित

चितवन– भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो ।

प्रमुख दाहाललाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी भएको विशेष समारोहका बीच अवार्ड वितरण गरिएको जनाइएको छ ।

सो अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।

यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिए।

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो । नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ ।

प्रमुख दाहालले यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गरेकी थिइन् । प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसद्मा भेटघाट गरेकी थिइन् ।

त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले गरेको सम्मान कार्यक्रममा सहभागी भएका प्रमुख दाहालले देश विदेशबाट भरतपुर महागरपालिकाको काम सूक्ष्म ढङ्गले अध्ययन भएरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको बताएका थिए ।

प्रमुख दाहालले लन्डनस्थित नेपाली राजदूत ज्ञानेन्द्र आचार्यलाई पनि भरतपुर भ्रमणका लागि निमन्त्रणा दिइन् । राजदूत आचार्यले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताउनुभएको प्रमुख दाहालसँगै रहेका अर्जुन पाठकले जानकारी दिए। प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन् ।

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

काठमाडौं– किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल परिवार नियोजन सङ्घद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ । यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्दछ ।

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको बताएका छन् ।

११४औंअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ ।

मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता रहेको बताए।

 

एसपीको नेतृत्वमा पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन

काठमाडौं । महाशिवरात्रि मेलाका लागि पशुपति क्षेत्रमा चार हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर चार हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको हो ।

प्रहरीका अनुसार बिहीबार देखि नै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा पशुपति क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी परिचालित भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

गएराति १० बजेदेखि परिचालित सुरक्षाकर्मी फागुन २६ गते शनिबारसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेका छन् । आपतकालीन उद्धार टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि भारतकाे एल्कलाइन इलेक्ट्रोलाइजर अनावरण

नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इण्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ ।

कार्यक्रममा राज्यका मन्त्रीहरु सम्मिलित कार्यक्रममा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको हो । एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्याँसबाट हाइड्रोजन बनाउने गरिएको छ ।

तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ । यसले स्वच्छ वातावरणमा टेवा पुर्याउँछ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको छ । भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीनजो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो ।

गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । एमएसएमई मंत्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरणमन्त्री, हर्ष संघवी गृह मंत्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताउनुभएको थियो ।

गुजरातको सनान्दमा रहेको ग्रीन्जो इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पाद गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण ठान्नुभएको छ । अग्रवालले भन्नुभयो, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो ।’ हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालले विश्वास दिलाउनुभयो । नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उहाँको तर्क थियो ।

ग्रीनजो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदैछ । पर्यावरणमा योगदान पुर्याउँदे आएको ग्रीनजो इनर्जीले सस्तो सुलभ इलेक्ट्रोलाइजर मात्र होइन नेपालमा हाइड्रोजन उत्पानका लागि पनि इच्छा देखाएको छ ।

आज अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं – मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११४ वर्ष पुगेको छ।

यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मा्यता प्रदान गरिएको थियो।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो।

१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन। यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ।

पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो। त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए।

आजको मौसमः यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।