जोडिनुहोस

बहुधार्मिक साझा तीर्थ मदारबाबा मेला सुरु

पाल्हीनन्दन (नवलपरासी) । बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गरेका छन् ।

मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मदारबाबा मेलाको बिहीबार राज्यमन्त्री ठकुरीले उद्घाटन गरेका हुन् । दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, पञ्जाब, दिल्लीलगायत प्रान्तबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

इस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिनसम्म तप गरेर सिद्धि प्राप्त गरेको स्थानका रुपमा दाउन्ने पहाडमाथि रहेको मदारबाबाको मजारलाई लिइने मदारबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्दिन अन्सारीले बताए । यही फागुन १७ गतेदेखि सुरु भएको मेलामा हिन्दू र मुसलमान दुवै समुदायका मानिसको आस्थाको केन्द्र रहेको उनले बताए ।

भक्तजनले आफ्ना यहाँ आएर समस्या समाधानका लागि भाकल गर्ने ९मन्नत माग्ने० चलन रहेको भन्दै अन्सारीले भाकल पूरा भएपछि मेलामा आएर मदारबाबाको समाधिमा च्यादर चढाउने प्रचलन रहेको जानकारी दिए । प्रत्येक वर्ष मदारबाबा मेलामा लाखौँको सङ्ख्यामा देश विदेशबाट भक्तजनको आउने भए पनि स्थानीय प्रशासन एवं राज्यले मेलालाई व्यवस्थापनमा कुनै चासो नदेखाएको उनको भनाइ छ ।

हिन्दू सम्प्रदायको पशुपतिनाथ, गडिमाई, जनकपुरको रामजानकीलगायत मन्दिरमा लाग्ने मेला, बुद्ध धर्मावलम्बीको लुम्बिनी, रामग्राम स्तूपा तथा मुस्लिम समुदायको मदारबाबा मेला पनि प्रख्यात रहेको अवस्थामा यसको प्रचारप्रसार र प्रवर्द्धनमा चासो नदिँदा ओझेलमा परेको संरक्षण संस्थाका अध्यक्ष अन्सारीले बताए । “प्रत्येक वर्ष यहाँ स्वतःस्पूर्तरुपमा मेला लाग्ने गर्दछ । मेलामा भेटीस्वरुप चढाइएको रकमले यसको व्यवस्थापन गर्ने गरेका छौँ”, उनले भने ।

पर्यटन मन्त्रालय, स्थानीय प्रशासनलगायत सरोकारवाला निकायले यसको संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा अन्सारीले जोड दिए । उनका अनुसार यस वर्ष व्यवस्थापन समितिले करिब १२ लाख पर्यटक यहाँ आउने अनुमान छ ।

भरतपुर हेल्थ हबको रूपमा विकास हुँदै गएको छः प्रधानमन्त्री

भरतपुर।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रूपमा विकास हुँदै गएको बताएका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।’

प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ

वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालिमका क्षेत्रमा विशिष्टीकृत योगदान पुर्‍याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु ।

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो ।

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरङ्ग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुवैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु ।

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ ।

मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त ‘स्वास्थ्य सम्बन्धी हक’लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, विपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । धन्यवाद ।

पर्यटकको प्रतीक्षामा करबाकेली

बेनी।अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् ।

पुन समुदायको कूलदेवता ‘करबाकेली बाबा’को अनुसन्धान गरेर विसं २०६६ देखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल मानिन्छ ।

गुर्जा, धवलागिरि, मानापाथी, बराह शिखर, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमाल यहाँबाट लहरै अवलोकन गर्न सकिन्छ । वरिपरि गुराँसे जङ्गलले घेरिएको करबाकेली क्षेत्र यतिबेला सुन्दर देखिएको छ । थरिथरिका गुराँसका फूल फुल्न थालेपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । असोजदेखि मङ्सिरसम्म धेरै पर्यटक आउने भए पनि फागुन–वैशाखको याम गुराँसे जंगल र हिमालसँग रमाउन पर्यटक आउने गरेको करबाकेली थान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए।

यस क्षेत्रको पर्यटन विकासका लागि ‘करबाकेली इको टे«क’ सञ्चालनमा रहेको छ । विसं २०७५ वैशाखदेखि पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै बेनीबजारलाई जोड्नेगरी सञ्चालनमा ल्याइएको यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । थानमा पूजा गर्न आउने भक्तजनसँगै भ्रमणमा आउने पर्यटक पनि बढ्दो क्रममा छन् । पदमार्गलाई प्रचारप्रसार गरी पर्यटन आगमन बढाउने स्थानीयको जमर्को रहेको छ ।

यस क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुविधाका लागि करबाकेली थान परिसरमै सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । समितिका सचिव गर्वुजाले भाडामा होटल सञ्चालन गर्दै आएको यस घरमा अहिले दैनिक ४० जनासम्मलाई बसोबासको प्रबन्ध मिलाउने क्षमता रहेको छ । “नौवटा स्तरीय कोठा छन्, धेरै पर्यटक आएमा समेत राख्न सक्ने थप व्यवस्था गरेका छौँ, अहिले थानको पूजामा आउनेहरू धेरै भए पनि पर्यटक होटलमा बास बस्न आउन थालेका छन, यसको प्रचारप्रसार भएमा पर्यटकको सङ्ख्या बढ्ने आशा गरेका छौँ”, उनले भने ।

करबाकेली थान, पाहुनाघर, पदमार्ग, प्रवेशद्वारसँगै पुन समुदायको संस्कृति, परम्परा र रहनसहन झल्कने सङ्ग्राहलय निर्माण भएको छ । करबाकेली बाबाले बसोबास गरेको मान्यता रहेको यस क्षेत्रमा कुवा, नौकुने ढुङ्गा, महभिरलगायतका करबाकेलीका अवशेष रहेका छन् । करबाकेली बाबाको अध्ययन अनुसन्धान गरेपछि कूलदेवताको थान बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण सुरु गरिएकामा अहिले यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित भएको करबाकेली थान संरक्षण समितिका संरक्षक चामबहादुर पुन बताउँछन्।

“पूर्वाधार बन्दै जाँदा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सफल भयौँ, पर्यटन सम्भावनालाई उजागर गर्न इको ट्रेक पनि बनायौँ, अब यसको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हाम्रो जमर्को छ”, पुनले भने। पर्यटकलाई कम्तीमा एक दिन काफलडाँडा र राम्चे क्षेत्रमा बसोबास गराउनेगरी पर्यटन पूर्वाधार निर्माणका लागि पहल थालिएको उनको भनाइ छ । करबाकेली थान, पाहुनाघर, सभाहल, पदमार्ग, कम्पाउण्ड घेराबार, सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणमा समुदायस्तरबाट अहिलेसम्म करिब रु तीन करोड संकलन गरेर परिचालन गरेको थान संरक्षण समितिले जनाएको छ ।

यहाँका अधिकांश पूर्वाधार बनाउन स्वदेश तथा विदेशमा रहेका मनकारीहरूले स्वतःस्फुर्तरूपमा आर्थिक सहयोग गरेर जुटाएका हुन् । करबाकेली थान र नौकुने ढुङ्गाको संरक्षणका लागि शेर भुवानी पुन स्मृति प्रतिष्ठानबाट ज्योतिमान र यामकुमार पुनबाट रु नौ लाख ९९ हजार ९९ राशिको अक्षयकोषसमेत स्थापना गरिएको छ ।

स्थानीयवासीबाट करिब २० रोपनी बढी जग्गा निःशुल्क प्राप्त गरेपछि निर्माण भएको करबाकेली थानमा करबाकेली बाबा, उनका दुई श्रीमती हिमला, फिमला र छोरा रामचन तथा कुलचनका मूर्ति राखिएका छन् । हरेक वर्षको जेठ र मङ्सिरको उजेली मंगलबार यहाँ ठूलो पुजा हुने गर्छ । अन्य समयमा समेत यहाँ नियमितरूपमा थानको दर्शनका लागि भक्तजन पुग्ने गर्छन् ।

करबाकेलीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन वडा, गाउँपालिका र प्रदेश सरकारले समेत सहकार्य गर्दै आएका छन् ।

सामुदायिक होटलमा किचन बनाउन पाँच लाख बजेट उपलब्ध गराइएको र सङ्ग्राहालय, पदमार्गलगायतका पूर्वाधार बनाउन सहकार्य भएको अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्वुजाले बताए। उनका अनुसार गत वर्ष करबाकेलीबाट मोहरेडाँडा जोड्ने पदमार्गमा प्रदेश सरकारमार्फत रु ३० लाख बजेट विनियोजन भएर आलडाँडा क्षेत्रसम्म पदमार्ग निर्माण भएको छ ।

यस वर्ष गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करबाकेली जाने पदमार्गअन्तर्गत थैसराबाट थपनासम्म पदमार्ग निर्माण भएको छ । यस वर्ष रु छ लाख पाँच हजार बजेटबाट पदमार्ग निर्माण हुने र यसलाई बाँसखर्क र बैँसरीतर्फ निरन्तर अगाडि बढाउने वडा कार्यालयको योजना रहेको छ ।

नेपाल आयल निगमः भारतमा बढे पनि नेपालमा इन्धनको मूल्य नबढ्ने

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ । योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ ।

सरकारले गुठी पीडित संघर्ष समितिसँग वार्ता गर्न समिति बनायो

रुपन्देही । सरकारले गुठी पीडित संघर्ष समितिसँग वार्ता गर्न समिति गठन गरेको छ। स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विगत केही दिनदेखि दाङको घोराहीमा आन्दोलन जारी राखेको छ।

आन्दोलनप्रति भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता गर्न समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वर्गद्वारी आश्रम प्यूठानको नाममा दर्ता श्रेस्ताकायम भइ दाङमा रहेको जग्गामा आश्रम र संघर्ष समितिबीचको समस्या समाधानको लागि ठोस पहल थालिएको जानकारी दिएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो।

टोलीको सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारी, भूमि सुधार तथा मालपोत कार्यालय दाङका प्रमुख, गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एकरएक जना प्रतिनिधि रहेका छन्।

समितिले समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानको लागि मन्त्रालयलाई कानुनसम्मत, व्यवहारिक र कार्यान्वयनयोग्य सुझावहरू प्रस्तुत गर्ने जनाइएको छ।

वार्तामा बसी छलफल एवं संवादबाट वर्तमान समस्याको समाधानको लागि अग्रसर हुन संघर्षरत पक्षलाई मन्त्रालयले आग्रह गरेको छ। कानुनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको छ।

एकातिर सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान मोहीपूर्जा बोकेर न्याय मागिरहेका छन्। द्वैध स्वामित्को अन्त्य गर्न आश्रमले समेत सरकारलाई अनुरोध गर्दै आएको छ।

स्वर्गद्वारी आश्रमको १ हजार ३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ। सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर टुक्रिँदै जाँदा ३ हजार ५ घरधुरी पुगेका छन्। जसमा १५ हजार बढी सदस्य आश्रित रहेको पाइएको छ।

सोमालियामा हैजा रोक्न थप कोष खोज्दै डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ लागेपछि सोमालियामा दुईहजार ९४३ हैजाका नयाँ बिरामी फेला परेका छन्। २६ जनाको मृत्यु भएको छ।

डब्लूएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापितका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ। यसले छिमेकी इथियोपियामा हैजाको प्रकोपबाट फैलिएको सोमालिल्याण्डको हर्गेसा र गालिबे जिल्लामा नयाँ हैजाको प्रकोप पुष्टि भएको पनि बताएको छ ।

यसैबीच डब्लुएचओले स्वास्थ्य साझेदारहरूसँग मिलेर प्रभावित जिल्लाहरूमा हैजा प्रतिक्रिया गतिविधिहरूको कार्यान्वयनलाई बढाएको बताएको छ।

डब्ल्युएचओका अनुसार सोमालियामा सन् २०२२ देखि पानीजन्य झाडापखाला र हैजाको प्रकोप बढेको छ जुन सन् २०१७ को खडेरीबाट बनादिर क्षेत्रमा समस्या बढ्दै गएपछि थप विकराल बन्दै गएको बताइएको छ ।

सन् २०२३ मा सोमालियामा १८ हाजर ३०४ जनाभन्दा बढी सङ्क्रमण देखिएको थियो। ४६ जनाको मृत्यु भएको थियो जसमा ५ वर्ष मुनिका १० हजारभन्दा बढी बालबालिकाहरू छन्।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) का अनुसार सन् २०२४ मा हैजाको प्रकोप डरलाग्दो रहने अनुमान छ । लामो खडेरी, बहु चक्रवात, भारी वर्षा र ठूलो बाढी जस्ता चरम मौसमी घटनाका कारण हैजाको प्रकोप फैलिएको हो।

आज २०८० साल फागुन १८ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी राम्रो छ । मन खुशी हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

वृषः दिन राम्रो छ । आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ । अरुलाई विश्वास गर्नु धोखा हुनेछ । श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्ममा मन जानेछ ।

मिथुनः दिन राम्रो छ । अचानक हुनसक्ने जोखिम टर्ने योग छ । परिवारको साथ मिल्नेछ । विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ ।

कर्कटः दिन सामान्य छ । तपाईंको राम्रो कामलाई लुकाएर एउटा नराम्रो कामको खोजी हुनसक्छ । आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ । परिवारबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ । परिवारमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ ।

कन्याः समय राम्रो छ । चन्द्रमा दाहिना छन् । हिम्मत गर्नुभयो भने लक्ष्यमा पुग्ने दिन छ । ठुलो लगानी गर्ने समय आएको छ । परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ ।

तुलाः दिन राम्रो छ । आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिलनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ । परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानकिो अवसर जुट्ने देखिन्छ । हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ ।

वृश्चिकः समय सामान्य राम्रो छ । शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन् । अचानक रोग बढ्ने जोखिम छ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ ।

धनुः दिन राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । परोपकार गर्नु राम्रो हुनेछ । लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः दिन सामान्य छ । हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ । परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ ।

कुम्भः दिन सामान्य छ । आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ । आज हरेक क्षेत्रमा विवाद हुनसक्छ । शिवको दर्शन गरेर कामको सुरुवात गर्नु रामे हुन्छ । परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

मीनः अचानक धन खर्च हुने योग छ । खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । मनमा उत्साह बढ्नेछ । सामाजिक क्षेत्रमो गरेको लगानीले खुशी दिनेछ ।

उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण

बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।

नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरूपमा पायक पर्नेगरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै गएपछि कृषिमा यान्त्रिकीकरणका बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उनले जानकारी दिए।

नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई रु ५८ हजारमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो ।अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताए।

पालिकाले कालिमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रूम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ ।

सेती बाँध खोलेर खोज्दा पनि भेटिएनन् मानबहादुर

माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की मानबहादुर लामा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दीपमा रहेको सेती सिंचाइ बाँध बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म खोलिएको थियो ।

‘बाँध खोलेर बहाव बढ्दा कहींकतै केही भेटिन्छ कि भन्ने थियो । तर, साँझसम्म खोजी गर्दा पनि केही भेटिएन’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘अहिलेलाई बाँध बन्द गरेका छौं । खोजी कार्य जारी नै छ ।’

दिनदिनै सेती बाँध खोल्न समस्या हुने र सम्भव पनि नभएकाले शुक्रबार भने बाँध नखोलिने प्रहरी निरीक्षक रानाले जानकारी दिए । ‘अब भोलि शुक्रबार स्थानीय र लोकल प्रहरीले खोजी कार्य जारी राख्नुहुन्छ’, उनले भने ।

तामाङ सम्पर्कविहीन भएको भोलिपल्ट फागुन १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि सेती बाँध खोलिएको थियो । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा १४ गते पोखरा १, कसेरीका गंगा तामाङ मृत फेला परेका थिए । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

बजेट सिलिङ थोरै राखेको भन्दै भौतिक पूर्वाधार सचिवको गुनासो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१ र ८२ मा आफूहरुलाई २०० अर्ब बजेट चाहिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले अर्थ मन्त्रालयले १२४ अर्बको सिलिङ तोकेको भन्दै असन्तुष्टि जनाए ।

आर्थिक वर्ष २०७९ र ८० मा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६५ अर्ब रुपैयाँ बजेट पाएको थियो । तर आर्थिक वर्ष ०८० र ८१ मा १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र पाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुत मार्गलाई धेरै पैसा चाहिने भएकाले आगामी आर्थिक वर्षमा कम्तीमा २ खर्ब रुपैयाँ आवश्यक पर्ने बताएका हुन् ।

‘सडक विभागलाई चाहिन्थ्यो १३०  अर्ब आर्मीलाई चाहिन्थ्यो ५० र अरु रेल, यातायात व्यवस्था, जल यसोउसो गर्दा हामीलाई करिब २०० चाहिनेमा आएको छ १२४’, उनले भने, ‘यहीँ भित्रबाट फेरि बाँड्ने हो । कसरी धान्ने भनेर एकदमै दबाबमा परिन्छ ।’

सचिव शर्माले बजेटको सिलिङ यत्ति नै हो भने आगामी आर्थिक वर्षमा कुनै नयाँ काम गर्न नसकिने बताए ।

‘यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु । अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ । कि दुईचार वर्ष पुराना काम सकाउ र नयाँमा जाऔं । कि बजेटको आकार बढाऔं’, उनले भने ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ; मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको दावी गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले आफू नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले मेरिटोक्रेसीका आधारमा निष्पक्ष ढंगले तीन जनाको नाम छनौट गरेर सिफारिस गरिएको बताएका हुन् ।

सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई छान्ने अधिकार कुलपतिलाई भएकाले कुलपति एवं प्रधानमन्त्री प्रचण्डले एक जनालाई उपकुलपतिमा नियुक्त गरेको उनको भनाइ छ । उनले कुलपतिले गरेको नियुक्तिको निर्णय कानुनसम्मत रहेको बताए । मन्त्री राईले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे ।

त्यसअघि बैठकमा समिति सदस्य विद्या भट्टराईले प्रधानमन्त्रीले मेरिटोक्रेसीका उपकुलपति नियुक्त गर्ने भनिएपनि हस्तक्षेप भएको जिकिर गरे । उनले सिफारिस समितिले सिफारिस गरेको व्यक्तिमध्ये पहिलो नंवरकोलाई छाडेर दोश्रोलाई उपकुलपति नियुक्त गर्नु मेरिटोक्रेसी विपरित भएको तर्क गरे । विश्वबिद्यालयको स्वायत्तामाथि हस्तक्षेप भएको र प्राज्ञिक मर्यादा कायम हुन नसकेको उनले बताए । समिति सभापति भानुभक्त जोशीले विश्वविद्यालयमा हुने उपकुलपति नियुक्तिलाई पारदर्शी र विवादसहित बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए ।

 

 

दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले खोप नलगाएको पुष्टि

नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा-रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा-रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो तथ्यांक २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ । यसमा शंकास्पद बिरामीको नमुना संकलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी भेटिएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो ।

दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए । प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौँ जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ । हाल देशभर दादुरा(रुबेलाको खोप अभियान सञ्चालन छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियानमा देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।