जोडिनुहोस

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन ; मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताए।

दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उनको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको भन्दै सरकार नागरिकको जीवनरक्षाका लागि गम्भीर भएर लागेको मन्त्री बस्नेतले बताए।

पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उनले जोड दिए। उनले डायलासिस गराइरहनुभन्दा जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए। चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उनले बताए ।

आम नागरिकले पनि जीवनशैली परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समय स्वास्थ्यमा ध्यान नदिँदा प्राणघातक रोगको सिकार बन्नुपरेको भन्दै उनले जीवनशैली बदल्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने भनाइ राखे । सरकारले आयुर्वेद क्षेत्रको विकास गर्न थालेको भन्दै गण्डकी प्रदेश आयुर्वेद औषधिका लागि उर्वर क्षेत्र रहेको उनको भनाई थियो ।

छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट शुरु गर्छौँ स् मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ । आज सल्लेरीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट शुरु गर्ने बताउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट शुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले योजना छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो ।

‘खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ’, उहाँले भन्नुभयो, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।’

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आउँदो मे २९ तारिखमा ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उहाँले जानकारी दिनुभयो ।

भारतीय जनता पार्टीको एक वर्षको आम्दानी २३ अर्ब ६१ करोड भारुभन्दा धेरै

भारतका मुख्य राजनीतिक दलहरुको आम्दानीमध्ये झण्डै ७७ प्रतिशत हिस्सा सत्ताधारी भारतीय जनता पार्टी भाजपाको मात्रै रहेको खुलेको छ । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म एडीआरको प्रतिवेदनमा छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२र२३ को आम्दानी सार्वजनिक गरेका छन् । गएको आर्थिक वर्षमा छ वटा दलले ३० अर्ब ७७ करोड भारु आम्दानी गरेकोमा भाजपाको मात्रै २३ अर्ब ६१ करोड भारु रहेको छ । एडीआरका अनुसार छ वटा राष्ट्रिय दलहरूको कुल आयको ७६ दशमलव सात प्रतिशत हिस्सा भाजपासँग छ ।

एनडीआरका अनुसार एकै वर्षमा भाजपाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२१ र २२ मा भाजपाको आम्दानी १९ अर्ब १७ करोड रहेकोमा २०२२ र २३ मा बढेर २३ अर्ब ६० करोड पुगेको छ । दोस्रो स्थानमा रहेको कांग्रेस आईले भने जम्मा चार अर्ब ५२ करोड भारु मात्रै आम्दानी घोषणा गरेको छ । मुख्य छ वटा दलको आम्दानीमा कांग्रेसको हिस्सा १४ दशमलव ७० प्रतिशत रहेको छ । त्यसैगरी आम आदमी पार्टीको आम्दानी ८५ करोड १७ लाख भारु रहेको छ । आम आदमीले पनि एक वर्षमा झण्डै दोब्बरले आम्दानी बढाएको हो ।

रूसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट

पश्चिमी सेनाको समूहको रूसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोनहरू नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रूसको तास समाचार एजेन्सीले सेनाको प्रेस केन्द्रका प्रमुख इभान बिगमालाई उद्धृत गर्दै जनाएको छ । पूर्वी युक्रेनस्थित कुप्यान्स्क खार्कोभ क्षेत्रमा रहेको सहर हो ।

युक्रेनमा १४५ जनाको ज्यान गएको बताउँदै रूसी हवाई आक्रमणमा व्यापक हतियारको प्रयोग गरिएको बिगमाले जनाएको छ । आक्रमण सम्बन्धमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

 

ठाउँठाउँमा दूध पोखेर र राजमार्ग बन्द गराएर किसानहरू आन्दोलनमा

दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काएका छन् । आज नवलपरासी, मकवानपुरलगायतका जिल्लाका किसानहरूले सडकमै दूध पोखेर विरोध गरेका हुन् ।

नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् । किसानहरूको प्रदर्शनका कारण केहीबेर राजमार्ग पनि बन्द भएको थियो । किसानहरूले मिल्क होलिडेु अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।

यस्तै उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरका दुग्ध किसानले पनि विरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम दिएका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको बताउनुभयो ।

यस्तै काभ्रेमा पनि किसानहरूले अरनिको राजमार्ग बन्द गरेर केहीबेर प्रदर्शन गरेका छन् । अन्यत्र दुध पोखे पनि काभ्रेमा भने किसानले बटुवालाई दूध खुवाएर विरोध गरेका छन् । दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी नपाएको भन्दै देशैभरका किसान आन्दोलनमा छन् ।

दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।

पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरूपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने उल्लेख छ । त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ ।

राष्ट्रियसभा बैठक ; बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह दिएका छन् ।

सभाको यही फागुन १४ गतेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सांसदहरूले बजेट कामकाजी हुनुपर्नेमा जोड दिँदै पारित गर्ने समयमा ह्वीप लगाएर बजेट पारित गर्ने र कार्यान्वयन गर्ने समयमा सुझाव पालना नगर्ने प्रवृत्ति सुधार गर्न आग्रह गरे।

यस्तै कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइनुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षा हुनुपर्ने, तीन तहका सेवा प्रवाहको जिम्मेवारी स्पष्ट हुनुपर्ने, नेपालको विद्युत् नेपालमै खपत बढाउने योजना ल्याउनुपर्ने, पुँजीगत खर्च र राजस्व संकलन बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।

सांसदहरू प्रकाश पन्थ, दिलकुमारी रावल पार्वती, डा खिमलाल देवकोटालगायतले सो छलफलमा भाग लिएका थिए । डा देवकोटाले बैठकमा सहभागी हुने भनी जानकारी गराइएका मन्त्रीहरू उपस्थित नभएकामा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गरे। सभापति राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन कार्यक्रमको प्रतिवेदन, २०८० पनि पेस गरे ।

नेदरल्याण्ड्ससँग नामिबिया पराजित

राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो । जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो ।

नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२(४२ रनको योगदान दिए । त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९-१९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले दुई विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक(एक विकेट लिए ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक एक सय ३५ रनको योगदान दिएका थिए । त्यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा सात चौका र पाँच छक्काको मद्दतले ७५ रन जोडे । तेजा निदामनुरुले १८ रन बनाए ।

दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले एक सय ९३ रनको साझेदारी गरेका थिए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए भने जान फ्रेइलिङ्कले र बेन सिकोन्गोले समान एक(एक विकेट लिए ।

योजितसँगै नेदरल्यान्ड्सले दोस्रो जित दर्ता गराएको छ । यसअघि भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपालले नामिबियासँग खेल्नेछ ।

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ मा सीमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता शेयर रू दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ११ करोड १३ लाख १० हजार तीन सय ४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार चार सय ५५, हिमालयन रिइन्स्योरेन्स रू आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट छ केड ५९ लाख ९१ हजार छ सय ९६ र शिवम् सिमेन्ट रू पाँच करोड २१ लाख १२ हजार आठ सय ७० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ८६, मानुषी लघुवित्त तीन दशमलव ९८, समाज लघुवित्त तीन दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ६२, मैलुङ हाइड्रोपावर आठ दशमलव शून्य एक, इन्ग्वा हाइड्रोपावर सात दशमलव ५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ५७ प्रतिशतले गुमाएका छन् ।

राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको फैसला विपक्षमा

बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उनले कानूनी संकटको सामना गर्नुपरेको छ ।

सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उनले कानूनी लडाइ सुरु गरेका थिए।

बेलायती समाचार संस्था पीएलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, ‘डिसेम्बरमा अदालतको सुनुवाइका क्रममा ह्यारीका वकिलले ह्यारीबारे गरेको निर्णयले राजकुमार ह्यारीप्रति पक्षपातपूर्ण व्यवहार गरेको तर्क गरेका थिए।

पीएका अनुसार जुलाई २०२० देखि आफ्नी पत्नी मेगनसँग क्यालिफोर्नियामा बस्दै आएका ह्यारीमाथि ‘सफल आक्रमण’ भएको तर यसले बेलायतको प्रतिष्ठामा पर्न सक्ने सम्भावित असरबारे पनि वकिलहरूले विचार गर्न नसकेको ह्यारीका कानूनी सहयोगीले बताएका छन् ।

अदालतले उक्त निर्णय न्यायोचित र प्रक्रियागत अन्यायरहित फैसला भएको जनाएको छ । यो झट्काका बावजुद राजकुमार ह्यारीका कानुनी प्रवक्ताले फैसलाबारे अपिल गर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।

अक्सर आफ्नी पत्नीको उपचार र आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाले सामना गर्नुपरेको चुनौतीहरूको बीचमा समानताहरू चित्रण गर्दै राजकुमार ह्यारीले आफ्नो परिवारको सुरक्षाको बारेमा आवाज उठाउँदै आएका छन् । यो मुद्दा बेलायतमा राजकुमार ह्यारीसँग सम्बन्धित धेरै मुद्दाहरूमध्ये एक हो ।

सन् २०२३ को मे महिनामा राजकुमार ह्यारीले बेलायतमा रहँदा आफ्नो प्रहरी सुरक्षाका लागि व्यक्तिगत रूपमा भुक्तानी गर्ने छुट्टै अधिकारको माग गर्दै गरेको निवेदनमा एउटा अर्को कानुनी झड्काको सामना गर्नुपरेको थियो । बेलायतको गृह मन्त्रालयले धनी व्यक्तिहरूलाई विशेष प्रहरी अधिकारीहरूबाट संरक्षणात्मक सुरक्षा खरिद गर्न अनुमति नदिने तर्क गरेको थियो ।

सोही वर्षको जनवरीमा राजकुमार ह्यारीले एसोसिएटेड न्यूजपेपर्स लिमिटेड ९एएनएल० विरुद्ध मानहानिको मुद्दा दायर गर्नुभएको थियो । सन् २०२२ को फेब्रुअरीमा बेलायती राजकुमार ह्यारीले बेलायत भ्रमणका क्रममा सुरक्षा व्यवस्थाका सम्बन्धमा गृह मन्त्रालयविरुद्ध दायर गरेको मुद्दासँग सम्बन्धित थियो ।

डिसेम्बर २०२३ मा लण्डनको उच्च अदालतले राजकुमार ह्यारीलाई प्रकाशक ‘मिरर ग्रुप न्यूजपेपर्स ९एमजीएन०’ द्वारा फोन ह्याकिङ र अन्य ‘गैरकानूनी सूचना संकलन’ को शिकार भएको फैसला सुनाएको थियो ।

रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्चमा रिट

रातु नदी उत्खननको विषयलाई लिएर राजनीति दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै बिहीबार दलहरूले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् ।

वातावरणमा प्रतिकुल असर पर्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको जस्ता प्रश्न उठाएर मुद्दा दायर गरिएको हो ।

नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतसहितका प्रतिनिधिहरूले १२ वटा कार्यालयहरूलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोत्तरी जिल्ला समन्वय समिति, महोत्तरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोत्तरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातदोबाटो ललितपुरलाई विपक्षी बनाइएको छ । उक्त रिटको यही फागुन २० गते नै पेशी तोकिएको निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ता पदम बहादुर श्रेष्ठले जानकारी दिए ।

भित्ते चित्र बनाउँदै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको कामपा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए।

स्वीकृत भएका नमूनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने प्रमुख शाक्यले भने। भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्यांकन गर्ने, भुक्तानी दिने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि कामपाले ५० लाख उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत र कार्यसम्पन्न भइसकेपछि ४० प्रतिशत प्रदान गरिने बताइएको छ ।

सम्पदा चिनारीका लागि क्यूआर कोड

कामपाले नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्यूआर कोड राखेको छ ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकुन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग थालेको हो, वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भनेर यस किसिमको व्यवस्था गरिएको हो ।’

क्यूआर कोडमा नेपाली, अङ्ग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियाली, स्पेनी, जापानी र अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ । वडा नं १ मा चारवटा प्राचीन ढुङ्गेधाराका साथै नागपोखरी, हिटीपोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण ९आधा विष्णु आधा शिव०, साइ केन्द्र, सोराहिटी, जमल विहार, लाल गणेशजस्ता सांस्कृतिक सम्पदा छन् ।